थप समाचारबुधबार, कार्तिक १८, २०७२

माेर्चाका लागि रक्सौलमा सञ्चालित ‘मेस’ बन्द

हिमालखबर

नाकामा धर्ना दिने मोर्चाका नेता-कार्यकर्ताहरुका लागि सीमा पार भारतको रक्सोलमा खाजा-खानाको ब्यवस्था हुने गरेको छ । फाइल तस्वीर: अली असगर

नाकामा धर्ना दिने मोर्चाका नेता-कार्यकर्ताहरुका लागि सीमा पार भारतको रक्सोलमा खाजा-खानाको ब्यवस्था हुँदै आएकोमा १६ कात्तिक साँझदेखि बन्द भएको छ ।

वीरगञ्जमा १६ कात्तिकमा भएको हिंसात्मक प्रदर्शनमा भारतीय नागरिकको मृत्यु भएपछि सीमामा धर्ना बसेका मधेशी मोर्चाका नेता–कार्यकर्तामाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । उनीहरुका लागि भारत, रक्सौलमा सञ्चालित ‘मेस’ समेत बन्द भएको छ ।

आन्दोलनमा सहभागी रक्सौलका युवा वीरगञ्जमा प्रहरीको गोलीबाट मारिएपछि आक्रोशित भारतीयले धर्ना स्थालमा आएर गाली गलौज र कुटपिट समेत गरेका छन् ।

भारतीय नागरिक मारिनुमा मोर्चाकै दोष रहेको भन्दै १६ र १७ कात्तिक साँझ दशगजामा रहेको मितेरी पुलमा धर्नामा बसेका मोर्चाका नेता कार्यकर्ता माथि रक्सौलबासीले आक्रमण गरेका थिए ।

साँझ ५ बजे तिर लाठी र भाटा बोकेर रक्सौलबाट आएका भारतीयहरुले धर्नामा बसेका सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय निजामुद्दिन समानी र देवेन्द्र मिश्रलाइ पनि कुटपीट गरे  ।

कुटपीट हुन थालेपछि नेता मिश्र धर्ना स्थलबाट भागेर नेपाल प्रहरीको शरणमा आएका थिए ।

आक्रोशित भारतीयहरुले धर्नाकारीका करिब १० वटा जति मोटरसाइकलमा समेत तोडफोड गरेका थिए ।

१७ कात्तिक साँझ पनि धर्ना बसेका आन्दोलनकारीमाथि भारतीय नागरिकले आक्रमण गरेपछि मोर्चाका अधिकांश नेताले वीरगञ्जस्थित मितेरी पुलको धर्नास्थल छाडेर भागेका थिए भने स्थानीय नेताहरु राति धर्नामा सहभागी भएनन् । हिजो राति मोर्चाका ७०–८० जना कार्यकर्ता मात्रै धर्ना स्थलमा थिए ।

आन्दोलनकारीका लागि भारतको रक्सौलमा खानाको व्यवस्थासमेत हुँदै आएकोमा १६ कात्तिकको घटनापछि बन्द भएको छ ।

रक्सौलका व्यवसायी महेश अग्रवालले आन्दोलनकारीका लागि निशुल्क ‘मेस’ सञ्चालन गर्दै आएका थिए । स्थानीयको दबाबमा अग्रवालले मेस बन्द गरेका हुन् ।

‘अाक्रोश स्वभाविक हो’

नेपालका आन्दोलनकारीलाई सहयोग गर्ने अग्रवाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चुनाव प्रचारका लागि बिहार आएका बेला भेटेर दिल्ली आउन निमन्त्रण समेत दिएको समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित भएको थियो ।

१८ कात्तिक विहान बाराको सिमरामा सञ्चारकर्मीसँग कुरा गर्दै सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सीमामा धर्ना दिइरहेका आन्दोलनकारीमाथि रक्सौलबासीले गरेको आक्रमणलाई सामान्य आक्रोश भने ।

उनले भने, “आन्दोलनका क्रममा भारतीय नागरिकको मृत्यु भएपछि रक्सौलबासीले आक्रोश पोख्नु स्वभाविक हो ।”

उनले रक्सौलबासीले आक्रोश पोखेपनि धर्ना जारी रहेको र नाकामा आफूहरुलाई कुनै समस्या नभएको दाबी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>