थप समाचारशनिबार, कार्तिक २१, २०७२
विराटनगरबाट चल्ने बस सेवा ठप्प
इन्धनको अभाव भएको जनाउँदै विराटनगरबाट सञ्चालन हुँदै आएका बस सेवा ठप्प भएका छन् ।
तराई बन्द भए पनि सुरक्षा जोखिम मोलेर सञ्चालन हुँदै आएका लामो र छोटो दूरीका सबै बस सेवा २१ कात्तिकदेखि ठप्प भएका हुन् ।
विराटनगरबाट दैनिक सहज अवस्थामा छोटो दूरीका पाँच सय र लामो दूरीका एक सय जति बस सञ्चालन हुँदै आएका छन् ।
तीन महिनादेखि जारी बन्दमा जोखिम मोलेर भए पनि विराटनगरबाट काठमाडौं, भीमदत्तनगर, पोखरा, बुटवललगायत विभिन्न स्थानमा सञ्चालन हुँदै आएका करिब ५० बस इन्धन अभाव शुक्रबारदेखि बन्द भएको र आजदेखि छोटो दूरीका बस पनि ठप्प भएको पूर्व नेपाल यातायात सङ्घ विराटनगरका वरिष्ठ उपाध्यक्ष शिवकुमार कार्कीले जानकारी दिए ।
बन्दले छोटो दूरीका बस सञ्चालन हुन नसक्दा बाँच्न पाउने अधिकार हनन भएको भन्दै व्यवसायी र मजदुरले जोखिम मोलेरै भए पनि बिहीबारदेखि विराटनगरबाट उत्तर र पूर्वी क्षेत्रमा बस सेवा सञ्चालन गरेका थिए ।
जोखिम मोलेर बस कुदाउन थाले पनि इन्धन अभावले गर्दा बस सेवा बन्द गर्नुपरेको उपाध्यक्ष कार्कीले बताए ।
रासस