ब्लगआइतबार, फाल्गुण १६, २०७२

पीडाको अतिरञ्जना: फिरफिरे

संजीव पोखरेल

कर्नाली ब्लूज मार्फत उम्दा लेखकको छवि बनाएका बुद्धिसागरको फिरफिरे अपेक्षा विपरीत अवसादले भरिएको औसत कृति बनेको छ ।

जीवन मसिनो सिन्कामा उनिएको आँपको पात जस्तै हो । हावाका झोंकाले यसलाई जोडजोडले रिगाउँछन् । कुनै निश्चित समयमा यो जीवनरूपी ‘फिरफिरे’ जमीनमा खस्छ र विलाउँछ । बाँकी रहन्छ त केवल सम्झना । बुद्धिसागरको नवप्रकाशित उपन्यास फिरफिरे को भाव यही हो ।

firfire-by-buddhi-sagar

पुस्तकः फिरफिरे, विधाः उपन्यास, लेखकः वुद्धिसागर, प्रकाशकः फाइनप्रिन्ट, पृष्ठः ५४४,  मूल्यः रु. ५४२

लेखक वसन्तको स्मृतिबाट शुरू हुने उपन्यास नेपालगञ्ज नजिकैको बाँसबारी गाउँका दुःखी, बेसहारा र अभागी गाउँलेको जीवनका पत्रहरू केलाउँदै ५३१औं पानामा पुगेर थकाइ मार्छ । श्रीमती आस्था र छोरी जुनालाई लिएर वसन्त आफू जन्मिएको बाँसबारी गाउँ पुग्छ, जहाँ अतीत ताजा भएर आउँछ ।

सर्वजीत मास्टरको छोरा पवनसँगको बाल्यकाल; आमा जशोदाको सङ्घर्षमय जीवन; छोराको मृत्युबाट विक्षिप्त चिलगाडीको वियोग, जुठी आमैमाथिको दुव्र्यवहार; एक्लो कोहिनुर झाँक्रीको दुःखद् कथा र अरूलाई खोला तार्दातार्दै जीवनको ऊर्जा गुमाएको पिच्कु माझीका असफल रहरहरू उपन्यासमा कोरिएका छन् ।

उपन्यासको मूल कथाक्रम पवनको वियोगान्त जीवन वरिपरि घुमेको छ । पवन जसले जीवनका कलिला रहर र उमङ्ग मात्र होइन, होशहवास नै गुमाउँछ, र गायब हुन्छ । कथामा सशक्त रूपमा उपस्थित छे, पवनकी बहिनी रमा (फुच्ची) जसले पाठकलाई वेलावेला भावुक बनाइरहन्छे । उपन्यासमा सँगसँगै बगेको छ पवन र वसन्त (बन्ते) को मित्रताको कथा । एउटा यस्तो मित्रता जुन दुई परिवारको असहज सम्बन्धबीच पनि प्रगाढ र अभिन्न बनेको छ ।

बुद्धिसागरको लेखाइमा पात्र र तिनका परिवेशलाई जीवन दिने अनौठो क्षमता छ, जुन यो उपन्यासमा पनि मज्जाले देखिन्छ । मजस्तै धेरै पाठक उपन्यासमा पात्रसँगै विचरण गर्न सक्छन् । जस्तो कि, मैले पनि उपन्यास पढ्दा सर्पले डसेर बेहोश चिलगाडीलाई कोहिनुर झाँक्रीले विष फ्यालेर जिउँदो बनाइदिन्छ कि भन्ने आश गरें । पवनको गुमेको होश फर्किदिए हुन्थ्यो भन्ने लागिरह्यो । गाउँ छोडेर काठमाडौं जाने वेला रमाका आँसुले निकै भावुक बनाए र हतारहतार पाना पल्टाएँ ।

चौथो पानाबाट रमाको टेलिफोनसँगै बग्न थालेका आँशु ५१८औं पानासम्म बगिरहन्छन् । सबै गाउँले मृत्यु, विछोड, गरीबी र असफलताले थलिएका छन् । घुइयाराम, सर्वजीत, जशोदा, जुठी आमै, गङ्गा सबैका घरमा वियोग वा विछोड छ । सबैका ‘आँखाका कुना’ हरक्षण रसाइरहन्छन् ।

बुद्धिसागरको पहिलो उपन्यास कर्नाली ब्लूज समकालीन साहित्यको जोडदार कृति हो । दोस्रो उपन्यासबाट अझ विशिष्ट स्वादको अपेक्षा राख्नु अस्वाभाविक पनि होइन । तर, यहाँनेर उनी चुकेका छन् ।

उपन्यासका अनुसार, बाँसबारीमा कसैको विवाह, ब्रतबन्ध हुँदैन । चाडबाड र नाचगान हुँदैन । मानौं बाँसबारी अथाह पीडा र वेदनाको पोखरी हो, जोकोही आँशु खसाल्न मात्र जन्मिन्छ । पीडाको यो अतिरञ्जनाले उपन्यासलाई भद्दा बनाएको छ ।

उपन्यासमै घोत्लिरहँदा १७ वर्षअघि त्रिविमा मानवशास्त्र अध्ययनका क्रममा मैले अमेरिकाको मिचिगन विश्वविद्यालयकी लोराको अनुसन्धान सहायक भई काम गरेका दिनहरू सम्झिएँ । विद्यावारिधिको अनुसन्धान गरिरहेकी लोराले नेपालीले ‘दुःख’ लाई कसरी बुझ्छन् र अभिव्यक्त गर्छन् भन्ने अध्ययन गर्न रेडियो कार्यक्रम ‘मेरो कथा मेरो गीत’ माध्यम बनाएकी थिइन् । उनी दुःखको अर्थ–राजनीति बुझ्न कार्यक्रममा श्रोताले पठाउने पत्र र उनीहरूको जीवन पछ्याउँथिन् ।

बुद्धिसागर

बुद्धिसागर

“नेपाली आफूलाई दुःखी महसूस गर्न र अरूका अगाडि निरीह देखिन रुचाउँछन् जुन अनौठो र रोचक छ”, उनी वेलावेला मसँग भन्थिन् । त्योवेला लोराका कुरा मलाई उत्ति गहिरा लागेनन् । तर, समय बित्दै जाँदा भने उनको कुरा धेरै हदसम्म सही हो जस्तो लागिरहेको छ ।

दुःख होस्, नहोस् आफूलाई दुःखी देखाएर सहानुभूति खोज्ने प्रवृत्ति हाम्रो सन्दर्भमा गाढा छ । पीडित, विरही, निरस, उदासी, वैरागी, आँशु, रोदन, निष्ठुरी जस्ता उपनाम पनि यही मनोविज्ञानका उपज हुनसक्छन् । तर, अरूसामु दुःखी देखाउने प्रवृत्ति हाम्रो समाज र संस्कृतिका वास्तविक विशेषता होइनन् । नेपालका गाउँघरमा अभाव, दुःख र गरीबीका बीच पनि गहिरो आत्मसम्मान, आत्मविश्वास, सन्तुष्टि र खुशी विद्यमान छ ।

खुशीका रङ्ग शहरभन्दा गाउँमै खुलेका हुन्छन् । तर, फिरफिरे मा खुशीको छायाँसम्म देखिंदैन । दुःख देखाउने प्रवृत्तिबाट निस्केर पृथक् र सिर्जनात्मक शैली अपनाउन पनि फिरफिरे असफल छ ।

उपन्यासको अर्को कमजोर पक्ष पात्रहरूको चरित्र चित्रणमा पाइने अस्वाभाविकता हो । जुठी आमैका अभिव्यक्ति र उनले सुनाएका भनिएका कथाहरू अनाकर्षक र अस्वाभाविक लाग्छन् । भूल काकालाई ‘भन्छु म’ थेगोकै लागि जबर्जस्ती घुसाइएको भान हुन्छ । बसिर दादा र पवनबीचका संवाद र सामीप्यता ‘फिल्मी’ (सतही) लाग्छन् ।

पृथक् प्रवृत्तिका पात्रहरू (जस्तै, पिच्कु, भूल काका, बसिर दादा, जुठी आमै आदि) को शब्द चयनमा पनि लेखकले ध्यान पु¥याएका छैनन् । बसिर दादा र पिच्कुले बोलेका हिन्दी र भोजपुरी भाषा मिश्रित नेपाली लवजमा लेखकले आवश्यक मिहिनेत गरेका छैनन् । उपन्यासमा भनिए जस्तो स्कूलको मुखै नदेखेकी वृद्धा जुठी आमै पटकपटक ‘मनोबल’ भनिरहन्छिन् । उखानेका उखानहरू फिक्का र असान्दर्भिक छन् ।

पात्र र घटनाको संयोजन पनि असहज लाग्छ । कतिपय पात्र र घटना जबर्जस्ती घुसाइएको प्रतीत हुन्छ । जस्तै, प्रारम्भमा सशक्त रूपमा उपस्थित सर्वजीत मास्टरकी बहिनी बृन्दे (पवनकी फुपू) उपन्यासको अन्त्यसम्म देखा पर्दिनँ । छोरा हराएको पीडाबाहेक भूल काकासँग भन्ने केही छैन । बसिर दादाले उपन्यासमा केही मसला थपेका छन् तर उनको सान्दर्भिकता विरही प्रेमकथा र भतिज आशिफको मृत्युको पीडा थप्नमा मात्र सीमित देखिन्छ । समग्रतामा उपन्यास पात्र, प्रतीक र घटनाहरूको भीड जस्तो लाग्छ । लामो बनाउने लोभले कृति कमजोर बनेको छ ।

ग्रामीण परिवेशका सामान्य मानिसको कथा खोतल्ने युवा लेखकमा बुद्धिसागरले विशिष्ट स्थान बनाएका थिए र छन् । तर, झण्डैझण्डै कर्नाली ब्लूज जस्तै परिवेश र कथावस्तु चित्रित यो उपन्यासमा भने उनी कमजोर देखिए । ग्रामीण जीवनका रोचक आयाम र मानवीय संवेदना वर्णनमा सफल देखिए पनि कथावस्तु र प्रस्तुतिका आधारमा फिरफिरे औसत उपन्यासभन्दा माथि छैन ।

उपन्यासको पुछारमा धन्यवादका क्रममा लेखकले कर्नाली ब्लूज पछि अर्को उपन्यास लेख्न थालेको तर ६५ हजार शब्द पुगेपछि रोकेर फिरफिरे शुरू गरेको बताएका छन् । यो पढेपछि लाग्यो उनी कुनै नयाँ विषयवस्तुमा लेख्न खोजिरहेका छन् । ‘आफूलाई थाहा नभएको’ नयाँ विषयवस्तुमा लेख्ने लेखकको त्यो प्रयत्न पो बढी सिर्जनात्मक हुनसक्थ्यो कि !

आशा छ, बुद्धिसागरको अर्को उपन्यासमा घामका केही किरण अवश्य हुनेछन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...