समाचारशुक्रबार, बैशाख ३, २०७३
जनकपुरमा रामनवमीको रौनक
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज रामनवमी पर्वको रौनक छाएको छ ।
प्रत्येक वर्ष मर्यादा पुरुषोत्तम रामको जन्म दिनको स्मरणमा जनकपुरमा धूमधामका साथ रामनवमी मनाउने गरिन्छ ।
चैत्रशुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा राम, जानकी, जनक मन्दिर लगायतमा आज बिहानैदेखि पूजाअर्चना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
त्रेता युगमा आजकै दिन अयोध्यामा रामको जन्मभएको पौराणिक ग्रन्थमा उल्लेख छ । आजको दिन देशभरि रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नान ध्यान गरी व्रत बसेर गीता पाठ, ‘अध्यात्म रामायण’, ‘बाल्मीकि रामायण’ र ‘तुलसीकृत–रामायण’वाचन गर्नाका साथै रामको पूजाआराधना गरी रातभरि भजनकिर्तन र जाग्राम बस्ने परम्परा छ ।
यो पर्व चैते नवरात्रिको बीचमै परेको हुनाले आजको दिन रामका साथै आदि शक्ति नवदुर्गा देवीको पनि पूजा गरिन्छ ।
नवमी पर्वको अवसरमा जनकपुरमा आयोजित मेलामा सहभागी हुन नेपाल तथा भारतबाट हजारौँको सङ्ख्यामा श्रद्धालु आएका छन् ।
यस्तै नरसिंह युवा क्लबले रामानन्दचोकमा दुर्गा पूजा एवम् मेला आयोजन गरेको छ । रासस