ब्लगसोमबार, बैशाख २७, २०७३

सल्लीपिर: अक्षरको अभिव्यञ्जना

शंकर तिवारी

Nayanraj-Pandeyसुन्दै अनौठो लाग्ने सल्लीपिर नामक उपन्यास लिएर चर्चित आख्यानकार नयनराज पाण्डे फेरि झुल्किएका छन् । तराईको जनजीवन चित्रण गर्न ख्याति कमाएका उनले सल्लीपिर मा भने एउटा हिमाली बस्तीको कष्टकर जीवनगाथालाई कलात्मक शैलीमा उतारेका छन् ।

उपन्यासको सार यस्तो छ– पेमाका बाबुको किताबमोह उनकी आमाले बुझ्दिनन् । यही कारण उनीहरुको खटपट शुरु हुन्छ । समयक्रममा पेमाको छोरो फुर्वा पनि किताबप्रति सम्मोहित हुन्छ । पेमा उनको आमाले गरेको गल्तीबाट आफ्नो छोरालाई जोगाउन चाहन्छिन् ।

सजिलै पाठ्यपुस्तक नपुग्ने विकट हिमाली बस्तीमा छोराको ज्ञानको तलतल मेट्न पेमा राजधानी काठमाडौं पुग्छिन् । किताब लिएर फर्कंदा उनले अनेक सास्ती भोग्नुपर्छ । अधिकांश शेर्पा हिमाल चढ्नेका भरिया या चौंरी गोठाला हुन्छन् । पेमा छोराको नियति बदल्न र उसलाई लामा बनाउन चाहन्छिन् । तर, पुस्तक बोकेको चौंरी अगाडि लगाएर हिंडिरहेकी उनलाई हिउँले आफ्नो बनाउँछ ।

नयनराज सधैं समाजका सीमान्तकृत ‘सबाल्टर्न’ पात्रहरुलाई केन्द्रमा राखेर लेख्छन् । आजीविकाका लागि तिनले गर्ने दुःखको वरिपरि उपन्यासको हृदय घुमिरहन्छ । यसपालि उनी हिमाली पात्र र खुम्बुको सेछेनलगायतका हिमाली गाउँ पुग्छन् ।

उपन्यासको विशेषता मुख्य पात्र नारी (पेमा) हुनु हो । बालखैमा सुनेको एउटा तिलस्मी कथा जस्तै जीवनको अन्त्यसम्म अविश्रान्त संघर्ष गर्नु पेमाको सफलता हो । बाबु छिरिङले पेमालाई हमेशा कथा सुनाउँथ्यो तर ती कथाहरुमा दुःख मात्र हुन्थे । छिरिङ भन्थ्यो– के गर्नु छोरी, मसित रमाइला कथा छैनन् । हाम्रो जीवन पनि कहाँ रमाइलो छ र ? जीवन सुन्दर भए पो कथा पनि सुन्दर हुन्छ । छिरिङले किताब पढेको उसकी श्रीमती ग्याल्मोलाई पटक्कै मन पर्दैन ।

छिरिङ निदाएको मौका पारेर ग्याल्मोले सबै किताबमा आगो लगाइदिन्छे । प्रतिक्रियाविहीन छिरिङले भोलिपल्ट घर छाड्छ र पेमाले गहभरि आँसु लिएर बाबुको विदाइका दृश्य हेर्छे । यही बिन्दुबाट पेमाको संघर्ष शुरु हुन्छ ।

पेमाकी आमा ग्याल्मो विदेशी आरोही पिटरसँग प्रेममा पर्छिन् र छोरीलाई माइतीमै छाडेर अमेरिकातिर लाग्छिन् । हजुरबुबा, हजुरआमाले केही समय हुर्काएपछि पेमाको बिहे दावासँग गराइदिन्छन् । हिमाली दुःखले नवविवाहिता जोडीलाई पनि छोड्दैन । उपन्यास भन्छ– यो शहर होइन, खुम्बु हो । यहाँ माया पाउन याम पर्खिनुपर्छ ।

book cover new

कृति: सल्लीपिर,  लेखकः नयनराज पाण्डे, प्रकाशकः फाइनप्रिन्ट बुक्स,  पृष्ठः २२९+१०,  मूल्यः रु.३४८

चौंरीका लागि खर्क खोज्दै बसाइँ सर्नु, सीमापारि तिब्बतको खर्क पुग्नु हिमाली जीवन हिस्सा हुन् । कुशल चित्रकार झैं नयनले पनि चौंरीखर्कका कथा दुरुस्त उतारेका छन् । काठमाडौं/केन्द्रको लापरबाहीले कतिपय नेपाली बस्ती तिब्बततिर परेका कुराले पाठकको मन कटक्क खान्छ ।

दावा आरोहीको भरिया बनेपछि पेमाको जीवनमा उज्यालो धर्सा देखा पर्छ, तर त्यसको आयु छोटो हुन्छ । सगरमाथा आरोहणका क्रममा दावाको मृत्यु र क्षतिपूर्ति लिन राजधानी आउने आग्रहसहितको सरकारी चिठी सेछेन त पुग्छ तर चिठी पढ्न सक्ने गाउँमा कोही हुँदैन । पेमाको छोरो फुर्वाले लामा गुरुलाई चिठी पढ्न लगाउँछ । बुबाको मृत्युको खबर आमालाई सुनाउँदाको वर्णन हृदयविदारक छ । एउटा बालकले आफ्नो बाबुको मृत्युको खबर कुन आँट र धैर्यले आमालाई सुनायो होला । यस्तैमा हो लेखकको परख जाँचिने, जसमा उपन्यासकार खरो उत्रिएका छन् ।

फुर्वालाई कथा सुन्ने रहर हुन्छ । घरमा पाहुना आएकी लडाकूले सुनाएको कथाको पात्र नामग्याल र छिमीले सुनाएको कथाको पात्र डुनले फुर्वालाई साँच्चिकै मोहनी लगाउँछन् । फुर्वाले एक दिन आफैंसँग प्रश्न गर्छ– ‘के मैले कुनै कथा सुन्न पाउँदिन ? के कहिल्यै पनि अक्षर चिन्न पाउँदिन ? के कागजका अक्षर मेरा लागि सधैं वाणीहीन चौंरी झैं हुनेछन् ? के नामग्याल र डुनसित कुनै अर्को कथामा मेरो भेट हुने छैन ? के मैले कहिल्यै पनि आफैंले किताब पढ्न पाउने छैन ? त्यसो त दावाले फुर्वा जन्मनेवित्तिकै भनेको हुन्छ– ‘चढ्दैन यसले चोमोलोङ्मा । बन्दैन कसैको भरिया । त्यस्तो दुःखी काम गर्दैन यसले । यसलाई त गुम्बामा लामा पढ्न पठाउँछु म ।’

किताबलाई भूत मान्ने आफ्नी आमा झैं अक्षरप्रति सन्देह भएकी पेमालाई एक दिन आभास हुन्छ– ‘मन्त्र बन्ने अक्षरहरुले कहिल्यै पनि मान्छेलाई दुःख दिंदैनन् । कथा भन्ने अक्षरहरुले कहिल्यै पनि तर्साउँदैनन् मान्छेलाई ।’ अनि मात्र पेमाले बाबु छिरिङ ज्ञानी भएको महसूस गर्छे ।

बुबा छिरिङले सुनाएको दुःखपूर्ण कथाका अनेक पन्ना र तह पेमाले आफ्नै जीवनमा भोग्छे । शायद छिरिङले पेमालाई जीवनका दुःखसँग अभ्यस्त बनाउनकै लागि यी कथाहरु सुनाएको थियो । बौद्ध दर्शनबाट प्रभावित भए पनि गीताको दर्शनसँग पनि मिल्ने पेमा अन्तिम वाक्य बोल्छे– ‘हे साङगे, … मैले मेरो यात्रा पूरा गर्न सकिनँ । फुर्वाले किताब पढेको हेरुँला भन्ने रहर थियो … मैले मेरो रहर पूरा गर्न सकिनँ । … मैले हिम्मत हारेकी थिइनँ । मैले यी किताब गाउँसम्म पु¥याउने हरेक प्रयास गरेकी थिएँ ।’

अघिल्लो उपन्यास ‘घामकिरी’ मा ‘म्याजिकल रियालिज्म’ को प्रयोग गरेका नयनराजले यही सिद्धान्तको सहाराले किताब बोकेको चौंरी गाउँसम्म पुर्‍याएका छन् । यस्ता प्रयोगले उपन्यास ‘मोनोटोनस’ हुनबाट जोगिएको मात्र छैन, नयाँ स्वाद पनि थपिएको छ ।

टिम्बुरबोटे काण्ड, जनमतसंग्रहदेखि २०४६ पछिका चुनाव, माओवादी सशस्त्र युद्धले गाउँ र पेमाको जीवनमा पारेको प्रत्यक्ष परोक्ष प्रभाव पाठकले सजिलै महसूस गर्न सक्छन् । दुःख, अक्षर र किताबबारे नयनराजले उपन्यासभरि यति धेरै मार्मिक उद्गार व्यक्त गरेका छन् कि तिनको संकलन मात्रले सानो पुस्तक नै तयार हुन्छ । कालो अक्षरलाई भूत सम्झेकैले शेर्पाहरु पछिपरेको उपन्यासकारको ठहर छ ।

राजनीतिका कारण देशमा ‘पहाड भर्सेज मधेश’ मानसिकता विकसित भइरहेको बेला लेखकका रुपमा नयनराजले मानिस जहाँ भए पनि सीमान्तकृतको दुःख समान भएको अनुभूत गराउन सफल भएका छन् । नयनको लेखनीमा विशिष्ट क्षमता भएकैले यो सम्भव भएको हो । सामाजिक सहिष्णुताका लागि एउटा लेखकले अपील गर्ने अर्को सम्यक् शैली नहोला ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...