रमझमबिहीबार, बैशाख ३०, २०७३

गायक रामेशको यात्रा समेटिएको वृत्तचित्र

हिमालखबर

तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई

गायक रामेशको ५५ वर्ष लामो गायन तथा जीवन यात्रा समेटिएको डकुमेण्ट्री फिल्म ‘डढेलो भित्रका सतिसाल’ को छायाङ्कन पूरा भएको छ ।

सार्थक जनसंगीत प्रतिष्ठान नेपालका लागि हङकङ हिमायतीले निर्माण गरेको ९० मिनेटको उक्त वृत्तचित्र ‘राजनैतिक आन्दोलन र सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने जनसंगीतको पाटोको इतिहासलाई नयाँ पिंढीमा उजागर गर्ने उद्देश्यले तयार गरिएको’ निर्माण पक्षले जनाएको छ ।

रामेशलाई केन्द्रबिन्दुमा राखेर बनाइएको वृत्तचित्रमा रायन, मञ्जुल, जेबी टुहुरे, जीवन शर्मा, माइला लामा, अमृत गुरुङसम्म गरी करीब ४० जना (गीतकार, संगीतकार, लेखक, विश्लेषक, नेता) को अनुभव समेटिएको छ ।

पञ्चायतकालमा नेपाली साहित्य र संगीतलाई नयाँ दिशा दिने ‘राल्फा’ समूह र पार्टीहरू भूमिगत रहेको त्यो समयमा जनता जगाउन देश यात्रामा हिंडेका रामेश–मञ्जुल तथा संकल्प अभियानको पाटोलाई समेत वृत्तचित्रले समेटेको छ ।

गाउँ गाउँबाट उठ…, एक जुगमा एक दिन, एकचोटि आउँछ…, आऊ मिलाऊ हाम्रा हातहरू…, संघर्ष हो जीवन…, देश जनताको नाम हो…, रोक्ने को हो दूरदर्शी विचारका धारा…, सुनको बिहान…, मेरो प्यारो ओखलढुंगा…, गाई त बाँध्यौं ढुंग्रोमा मोही छैन…, क्वै त भने जहाजमा हरर… जस्ता सार्थक गीत गाउने जनताका गायक तथा संगीत सर्जक रामेशको संघर्ष, निष्ठा र जीवनको विविध पक्ष पनि वृत्तचित्रमा समेटिएको निर्देशक डम्बरकृष्ण श्रेष्ठले जानकारी दिए ।

‘बलिदान’ फिल्मका गायक–संगीतकार, पटकथा संवाद लेखक समेत रहेका ७२ वर्षीय रामेशका जनसंगीत, बालसंगीत तथा नारी जागरणका सयौं गीत जनमनमा छाएका छन् ।

श्रेष्ठका अनुसार रामेश जन्मे-हुर्केको, पढेको र जनसंगीत अभियानमा लागेका स्थानहरू पाल्पा, ओखलढुंगा, तेह्रथुम, धरान र काठमाडौंमा २८ दिन लगाएर छायांकन गरिएको वृत्तचित्रको प्रिमियर आगामी दशैं अगाडि हङकङमा गरिनेछ । त्यसपछि नेपालका प्रमुख शहर र डायस्पोरासँगै विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा प्रदर्शन गरिने योजना छ ।

वृत्तचित्रको निर्देशन फिल्मकर्मी प्रणय लिम्बू र पत्रकार अनुशील (डम्बरकृष्ण श्रेष्ठ) ले संयुक्त रूपमा गरेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>