थप समाचारशुक्रबार, माघ ५, २०६९
मुलुकका विभिन्न भागमा वर्षा, हिमाली क्षेत्रमा हिमपात
४ माघ रातिदेखि परेको वर्षा रोकिएको छैन भने वर्षासँगै चिसो हावा पनि चलिरहेको छ । सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात परेपछि जनजीवन थप कष्टकर बनेको छ । बैतडीसहित सुदूरपश्चिमका दार्चुला, डडेल्धुरा, बझाङ्ग, डोटीलगायतका जिल्लाहरुमा गएरातिदेखिनै लगातार बर्षा भइरहेको छ । यसैबीच कैलालीमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।
त्यसैगरी ५ माघ विहानैदेखि बाँके दाङ्लगायत मध्यपश्चिमका क्षेत्रहरुमा पनि वर्षा भइरहेको छ । बर्षाले गर्दा अत्यधिक चिसो बढेको र पशु चौपायाहरु पनि चिसोबाट प्रभावित भएका छन् ।
त्यस्तै वर्षाका कारण धौलागिरीका विभिन्न भागमा हिमपात भएको छ । म्याग्दी, बाग्लुङ र मुस्ताङका उपल्लो भेगमा हिमपात भएको हो । हिमाली जिल्ला मुस्ताङको १६ वटै गाविसहरुमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका असई भरत थापाले जानकारी दिए । उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, छोन्हुप, चराङ सुर्खाङ, घमिलगायतका ठाउँहरुमा करिब दुई फिट भन्दा बढि हिमपात भएको छ ।
हिमपातको कारण राउन्ड अन्नपुर्णको भ्रमणमा आएका पर्यटकहरु दृश्यावलोकनबाट वञ्चित भएको इलाका प्रहरी चौकी घोरेपानीका इन्चार्ज प्रहरी नायब निरिक्षक धन वहादुर थापाले जानकारी दिए । त्यस्तै बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा अविरल वर्षासँगै हिमपात भएको छ । हिमपातपछि बागलुङका पश्चिमी गाविस र ढोरपाटन क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
मुगुमा पनि हिमपात भइरहेकाले हवाइ सेवा बन्द भएको छ भने गाडीहरु पनि बन्द भएको छ । चिसोका कारण बजार, पसल बन्द छन् भने सरकारी कार्यालयमा पनि कामकाज ठप्प जस्तै भएको रेडियो मुगुले जनाएको छ ।
बाजुरा जिल्लाका हिमाली भेगमा पनि भारी हिमपात भएको छ । हिमपात नरोकिंदा चिसोका कारण जिल्लाको दैनिक जनजीवन नराम्ररी प्रभावित बनेको छ । अत्याधिक चिसोका कारण घर बाहिर निस्कन समेत समस्या भएको स्थानीयबासिन्दाले बताएका छन् । मंसिरको अन्तिम साता हिमाली भेगमा मात्र सामान्य हिमपात भएपनि यसपटक भने जिल्ला सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा पनि भारी हिमपात भएको छ । हिमपात र बर्षा नरोकिएपछि जिल्लाका विभिन्न गाविसमा रहेका स्थानीय बजारहरु आंशिक रुपमा खुल्ला गरिएका छन् भने हिमाली भेगका विद्यालयहरु बन्द रहेका छन् । चिसोका कारण जिल्ला बासीलाई गार्ई भैसीलाई पानी समेत खुवाउन समस्या भएको छ ।
हिमपातका कारण गाउँतिर झरेका हरिण, मृग, डाँफे, घोरल, चितुवा आदीको सिकार गर्नेक्रम बढ्दो मात्रामा रहेको स्थानीयले बताएका छन् ।