व्यक्तित्वसोमबार, आषाढ ११, २०६९

गुडबाई जापान !

डम्बरकृष्ण श्रेष्ठ

देश छाडेर रोजगारीका लागि विदेशिने, जायजेथा र कुम्लोकुटुरो कसेर क्यानडा, अष्ट्रेलिया, बेलायत, अमेरिका पलायन हुने धेरै छन् । ‘यो देशमा केही हुँदैन’ भनेर हिँड्न खुट्टो उचालिरहेका पनि त्यत्तिकै भेटिन्छन् । तर, देशमै केही गरेर आत्मसन्तुष्टिको जीवन बिताउन विदेश छाडेर आउनेहरू पनि छन् । तिनैमध्ये एक हुन्— रमेश कार्की ।

३७ वर्षका रमेश कार्की देशमा रोजगारी सिर्जना गरेर युवाहरूलाई विदेशिनबाट रोक्न चाहन्छन् । जापानमा काम गर्दागर्दै रु.३ करोडको लगानीमा पोखरा–६, लेकसाइडमा २० कोठाको पाँचतले मीडिल पाथ नामक होटल खोलेका उनले सुशील बटाजुसँग मिलेर काठमाडौंको ठमेल र पोखराका दुईवटा तारे होटलमा ‘काठमाडांै स्पा’ चलाएका छन् । आफ्नो व्यवसायमा ५० जनालाई रोजगारी दिएका उनी स्पा स्कूल खोल्ने र सक्षम जनशक्ति उत्पादन गर्ने योजना पनि गरिरहेका छन् ।
स्याङ्जाको नुवाकोट, पौवाई गौंडेबाट १६ वर्षको उमेरमा पोखरा पढ्न आएका रमेशका आँखाभरि सपना थिए । तीन दाजुभाइ र तीन दिदीबहिनी भएका परिवारको जेठो छोरा उनी आफूमा बढी जिम्मेवारी भएको ठान्थे । उनी भन्छन्, “सानैदेखि बरु कितली समातेर चिया बेच्छु, तर केही गर्छु भन्ने अठोट थियो ।” पृथ्वीनारायण क्याम्पसमा डिप्लोमा पढ्दापढ्दै होटल स्तुपामा काम गर्नथालेका उनी राम्रो कमाइ गर्न जापान पुगे । त्यहाँ कमाएको पैसाले नेपालमै व्यवसाय गर्ने सपना साँचेर गएका उनी तीन वर्ष होटल–रेस्टुरेण्टमा काम गरी कमाएको रु.१० लाख बोकेर २०६० सालमा नेपाल फर्किए ।

यति पैसाले नेपालमा गरिखाने बाटो खुल्ला भन्ने लागेको थियो, तर कपिलवस्तुको जगदीशपुर तालमा माछापालनमा गरेको लगानी बालुवामा पानी जस्तै भयो । सशस्त्र समूहलाई चन्दा दिँदा–दिँदा माछाको व्यापार उँभो नलागेकोले फेरि जापान फर्किए । त्यहाँ नेपाली विद्यार्थीलाई जापानी भाषा सिकाउने काम गर्दागर्दै मोटर पार्टस्को प्रोग्रामिङ पढे र टोयोटा कम्पनीमा काम गर्न थाले । रु.२ लाख ५० हजार बराबर तलब र ‘ओभर टाइम’ले चार वर्षमा सोचेभन्दा बढी कमाएका रमेश सुनाउँछन्, “कुनै बेला ३६ घण्टासम्म नसुती लगातार काम गरेको छु ।”

अब त आफ्नै देशमा केही होला नि भन्ने लागेर एक वर्षअघि श्रीमती माया र आठ वर्षे छोरा रोशनसँगै जापानलाई गुडबाई गर्दै नेपाल फर्किंदा उनलाई चिन्नेहरू ‘त्यस्तो काम र कमाइ छाडेर किन फर्केको ?’ भनेर अचम्ममा परेका थिए रे । तर, उनी भन्छन्, “उता जति कमाए पनि, काम गरे पनि आफ्नोपन हुँदैनथ्यो; जहिल्यै विदेशीबाट डोमिनेट हुनुपथ्र्यो । यहाँ आत्मसन्तुष्टि छ ।”

श्रीमती माया र छोरा रोशनसँगै रमेश कार्की ।

शुरुमा बन्द, हड्ताल, चक्काजाम र सरकारी कागजातका काममा बेहोर्नु परेको झ्मेलाले निराश बनाए पनि अहिले उनमा निकै आशा जागेको छ । आफूले शुरु गरेको व्यवसायबाट जापानकै हाराहारी कमाइ गर्न थालिसकेका रमेश भन्छन्, “जापानीहरू जस्तै लगन र इमानदारीसाथ काम गरे नेपाल पनि एक दिन जापान बन्छ ।” उनी आफू जस्तै मिहिनेतसाथ काम गर्ने चार जना मान्छे उत्पादन गर्न सके तिनले थप ४०० लाई रोजगार दिनेमा विश्वस्त छन् ।

मासिक रु.१०–१५ हजारका लागि डेढ–दुई लाख ऋण काढेर खाडी र मलेशिया जानेहरूलाई नेपालमै काम गर्न सुझव छ, रमेश कार्कीको । “मासिक रु.१५ हजारभन्दा बढी त मेरो स्पामा काम गर्नेले नै कमाउँछन्”, उनी भन्छन्, “प्लम्बर, पेण्टर, इलेक्ट्रिसियन, हजाम आदि बनेर यहाँ भारतीयहरूले लाखौं कमाइरहेका छन् । आफ्नो काम आफैं गर्न नलजाउने हो भने नेपालीहरू आफू पनि बन्छन् र देश पनि बन्छ ।” होटलमा कामदारहरूसँगै दिनरात खट्ने र रिसेप्सनदेखि किचनसम्मको काम गर्ने रमेश भन्छन्, “मैले यतिका वर्ष अर्काको कामलाई त आफ्नै ठानेर गरँे भने अब आफ्नो काम किन नगर्ने ? काममा कोही मालिक र नोकर हुँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...