रिपोर्टमंगलबार, आश्विन १, २०७०

१०० वर्षको विराटनगर, मणि खोज्दै

हिमालखबर

डम्बरकृष्ण श्रेष्ठ र कमल रिमाल

आकाशबाट हेर्दा: २७ भदौमा बुद्ध एयरबाट खिचिएको बिराटनगर

२००७ सालमा जहानियाँ राणाशासन विरुद्धको सफल जनक्रान्तिको सूत्रपात विराटनगरले गर्‍यो । देशमा औद्योगिक थालनी पनि विराटनगरबाटै भयो । यसरी नेपालमा राजनीतिक परिवर्तन र आर्थिक विकासको जग बसाल्ने विराटनगर आफैं भने राप–तापबिहीन भएको छ ।

मुलुकलाई ६ जना प्रधानमन्त्री दिने नगर हो– विराटनगर । पूर्व प्रधानमन्त्रीहरू बीपी कोइराला, मात्रिकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको राजनीति विराटनगरबाटै उठेको थियो । “कोइराला निवासमै तीन प्रधानमन्त्री जन्मिए”, गिरिजाप्रसादका सहपाठी रहेका स्वतन्त्रता सेनानी भीमराज नौलखा (८७) भन्छन्, “र पनि, विराटनगरले अधोगति बेहोर्नु पर्‍यो ।”

पंचायतकालमा शिक्षा तथा सञ्चार राज्यमन्त्री भएका राधाप्रसाद घिमिरे (८३) शासकहरुले यसलाई समस्या उत्पादन गर्ने शहर ठान्दा यहाँको उद्योग–व्यापार अन्यत्र सरेर विराटनगर ‘भाइब्रेन्ट सिटी’ बाट ‘डाइङ सिटी’ हुनपुगेको बताउँछन् । हरेक कुरालाई काठमाडौंकेन्द्रित बनाउँदै लैजाँदा विराटनगर जिम्लिएको बताउने समाजसेवी तोरेन्द्रमानसिंह प्रधान (८२) भन्छन्, “यहाँबाट धेरै जना माथि उठे, तर यो नगरलाई पछाडि छाड्दै ।”

चम्किलो इतिहास

शिखरनाथ भाष्यको यात्रा वर्णन अनुसार वि.सं. १९७१ मा बडाहाकीम जीतबहादुर खत्रीले आधुनिक विराटनगरको जग बसाएका थिए । कर्णेल खत्रीले त्यसवेला ‘मौरङ’ सदरमुकाम रंगेलीमा रहेको गोश्वारा, माल, अमिन, वनजाँच, हुलाक, अडिटर, जेल र अस्पताल बिराटनगर सारेका थिए । ‘विराटनगर’ नामाकरण भने १९७६ सालमा शिकार खेल्न मोरङ आएका केशरशमशेर राणाले गरेका थिए । त्यसवेलासम्म विराटनगरलाई ‘गोग्राहा’नै भनिन्थ्यो । त्यसयताको ९९ वर्षमा बिराटनगरले मुलुकमा ठूल्ठूला उतारचढाव ल्याएको छ ।

महाभारतकालीन राजा विराटको नामबाट यो नगरको नामकरण भएको हो । बिराट राजाको राजधानीको भग्नावशेष विराटनगर दक्षिणको भेडियारी गाउँमा फेला परेको थियो । कौरवहरूले लुटेका विराट राजाका गाई पाण्डवहरूले फिर्ता ल्याएको किम्वदन्ती अनुसार पहिला यो ठाउँलाई गोग्राहा भनिन्थ्यो । पाण्डवहरूले विराट राजाकै दरबारमा गुप्तबासको एक वर्ष बिताएको विश्वास गरिन्छ ।

बडाहाकीम खत्रीका उत्तराधिकारी कर्णेल शिवप्रताप शमशेर थापाले पनि विराटनगर निर्माणमा मनग्ये योगदान गरे । विराटनगरमा कृष्णप्रसाद कोइरालाले भारतीय मारवाडीहरू बोलाएर व्यापारिक वातावरण बनाएका थिए । १९९५ सालसम्म विराटनगरमा आदर्श विद्यालय भवन मात्र पक्की रहेको भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल (८०) सम्झ्न्छन् । पोखरेलका अनुसार मलेरिया नियन्त्रण भएपछि २०१९ सालतिरबाट विराटनगर क्षेत्रमा बस्न पूर्वी पहाडका मानिसहरूको ओइरो नै लागेको थियो ।

बस्ती बाक्लिएसंगै कृष्णप्रसाद कोइरालाको सक्रियतामा १९९६ सालमा नेपालकै दोस्रो शिक्षालयको रुपमा आदर्श विद्यालय स्थापना भयो । त्यसअघिसम्म राजधानीमा मात्र दरबार हाईस्कूल थियो । नेपालमा राजधानी (फर्पिङ) पछि विद्युत्को आवश्यकता महसूस गर्ने पहिलो शहर पनि विराटनगर नै थियो । त्यो आवश्यकता पूर्र्तिका निम्ति अहिलेको वारङ्गी र सिंहदेवी गाविसबीचको चिसाङ्ग खोलामा विद्युत्गृह निर्माण गरिएको थियो– ‘मोरङ हाइड्रो इलेक्ट्रिक कम्पनी’को नामबाट, जसलाई २०२३ सालको बाढीले बगायो ।

२००९ सालमा त्रिभुवन स्मारक अस्पताल खुलेको विराटनगरमा त्यसलगत्तै रत्न राज्यलक्ष्मी मातृ सेवा सदन बन्यो । तीन दशकदेखि विराटनगरमा पत्रकारिता गरिरहेका मोहन भण्डारी १९९०–२०२० सालको समयलाई विराटनगरको स्वर्णिम काल मान्छन् । यो अवधिमा विराटनगरले राजनीतिक, शैक्षिक र औद्योगिक क्रान्ति गर्‍यो । १९९३ असारमा स्थापित विराटनगर जूट मीलमा २००४ सालमा शुरू भएको मजदूर आन्दोलनले २००७ साल ल्यायो ।

आदर्श हाइस्कुल: दरबार हाइस्कुलपछि विराटनगरमा स्थापना भएको दोस्रो हाईस्कुल

दरबार हाइस्कुलपछि विराटनगरमा स्थापना भएको देशकै दोस्रो आदर्श हाइस्कुल ।

२००० सालदेखि जोगवनी आउन थालेको इलाहावाद एक्सप्रेस रेल विराटनगरका लागि वरदान सावित भएको प्रा. पोखरेल बताउँछन् । राणाहरूले विराटनगरमा सिनेमा हल भने खोल्न दिएनन् । मात्रिकाप्रसाद प्रधानमन्त्री भएपछि विराटनगर सारिएको जोगवनीको हिमालय टाकिज अहिले पनि चालु छ । “त्यो हल जोगवनीमा हुँदा मात्रिका टिकट जाँचकी र तारिणी कोइराला थिए”, प्रा. पोखरेल सम्झ्न्छन् ।

मात्रिकाप्रसाद, गिरिजाप्रसाद, मनमोहन अधिकारी आदि नेताहरू जूट मीलमा काम गर्थे । उनीहरूले तलब वृद्धिलाई निहुँ बनाएर २००४ सालमा आन्दोलन नथालेको नेपालमा त्यती चाँडै ०७ साल नआउने बताउँछन्, नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्याय । विराटनगर जूट मील स्थापनामा पनि कृष्णप्रसादकै प्रमुख भूमिका थियो । उनकै प्रयासमा कलकत्ताका सेठ राधाकृष्ण चमरियाले भारु १६ लाखमा यो मील खोलेका थिए । त्यसवेला मोरङ क्षेत्रका जूट बिक्रीका लागि भारतको कुसमाकट्टा बजार पुर्‍याउनुपर्थ्यो । त्यो समस्या हटाउन कुसमाकट्टाका केही व्यापारीलाई दुई–दुई बिघा जग्गा निःशुल्क दिने गरी विराटनगर बोलाइयो ।

विराटनगर जूट मीलपछि मोरङ कटन मील, मोरङ सुगर मील, जुद्ध म्याच फ्याक्ट्री, रघुपति जूट मील खुले । त्यो वेलाका उद्योगमध्ये अहिले रघुपति र विराटनगर जूट मील मात्र चालु छ । विराटनगर जूट मील पनि लगातार चार वर्ष बन्द भएर एक महीनाअघि मात्र सुचारु भएको हो । नेपालको निकासी व्यापारको सुरुआत यही मीलले गरेको थियो । विराटनगरले जूटका तयारी वस्तु तेस्रो मुलुकमा निर्यात गरेर लक्जरी सामान भित्र्याउँथ्यो । विराटनगरका व्यापारीहरूले २००८ सालमा मोरङ मर्चेन्ट एसोसिएसन (मोरङ व्यापार संघको पूर्व रूप) स्थापना गरे । अस्पताल, मठ, मन्दिर, विद्यालय आदि निर्माणमा यो संस्थाको ठूलो योगदान रह्यो । बीपी कोइराला प्रधानमन्त्री भएको समयमा विराटनगर आसपासका क्षेत्रमा अरु उद्योग खुले । रामलाल गोल्छाले त्यही समयमा स्टील उद्योग खोल्ने लाइसेन्स पाएका थिए ।

देशकै पहिलो उद्योग विराटनगर जुट मीलमा काम गर्दै मजदुर ।

अधोगतिको कारण

राणा र पंचायती शासकहरू विराटनगरको क्रान्तिकारी छविप्रति जहिल्यै पूर्वाग्रही रहे । पञ्चायत छिप्पिंदै जाँदा विराटनगर सिथिल हुँदै गएको प्रा. पोखरेल बताउँछन् । मोरङ व्यापार संघका पूर्व अध्यक्ष सुरेशकुमार शर्मा (७०) राणा र पञ्चहरूको शंकालु नजरकै कारण २०४० सालपछि काठमाडौं आर्थिक रूपमा विराटनगरबाट टाढिंदै गएको बताउँछन् ।

देशकै उत्पादनको करीब ७० प्रतिशत बजार ओगट्ने काठमाडौं टाढिएपछि आर्थिक राजधानीको हैसियत बनाएको विराटनगर मूर्झउन थाल्यो । यही शहरको कारोबारबाट मुलुकको औद्योगिक घराना बनेका गोल्छा, दुगड जस्ता समूहले व्यापारलाई राजधानीकेन्द्रित बनाउँदै लगे भने अरू उद्योगीहरू पनि वीरगञ्ज, हेटौंडा, सिमरा, भैरहवा, बुटवलतिर सर्न थाले । शर्मा भन्छन्, “अब काठमाडौं–निजगढ फाष्ट ट्रयाक बनेपछि विराटनगरले राजधानीमा व्यापार गर्ने दिन आउनेछ ।”

दुगड ग्रुपका प्रबन्धक लक्ष्मण नेवटिया विराटनगरलाई राज्यले राजनीतिक दलको अखडा भनेर लामो समय बेवास्ता गर्दाको परिणामस्वरुप मनमा गहिरो माया भए पनि क्रमशः यो शहर छाड्नुपर्ने अवस्था सिर्जना भएको बताउँछन् । गोल्छा अर्गनाइजेशनका अगुवा लोकमान्य गोल्छा परिवारका तीन भाइ सहित मुख्य उद्योग विराटनगरमै रहेको बताए ।

मोरङ व्यापार संघका अध्यक्ष अविनाश बोहरा राज्यको बेवास्तामा परेको ठाउँको कारोबार अन्त सर्नुलाई स्वभाविक मान्छन् । उद्योगी मोती दुगडले भने बन्द, हड्ताल र चक्काजाम राजनीतिको प्रवृत्ति बन्दा भयावह समस्या आएको बताए । पूर्व मन्त्री राधाप्रसाद अधिकारी अरूण तेस्रो परियोजना मात्रै आइदिएको भए पनि विराटनगर थेगिने थियो भन्छन् (हे. टिप्पणी) ।

नेपालमा प्रजातान्त्रिक आन्दोलनको शुरुवात भएको विराटनगरमा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ।

विराटनगरको आर्थिक सामर्थ्य बढाउने ठूला परियोजनाहरु त कार्यान्वयन भएनन्, भएनन् नगरले आत्मविश्वास पनि गुमाउँदै गएको देखिन्छ । नयाँ बसपार्क बनाउन जर्मन विकास ब्याङ्कले दिने रु.१८ करोड अनुदानको प्रस्ताव एक वर्षदेखि अलपत्र छ । उपमहानगरले अनुदानको ७५ प्रतिशत रकम बसपार्कसँगै बन्ने व्यावसायिक भवनमा खर्च गर्न चाहेपछि ब्याङ्कले प्रस्ताव सच्याउन भनेको छ । फोहोर व्यवस्थापनको लागि फिनल्याण्ड सरकारले दिने भनेको रु.६० करोडको योजना त फिर्ता नै भएको छ ।

४२ किलोमिटर चक्रपथ बनाउने नेपाल सरकारको योजना पनि परिणाममुखी छैन । योजना लागू भएको १५ वर्षमा कुल ३९ किलोमिटर बाटो खोलेर २८ किमिमा ग्राभेलसम्म गरिएको छ । भारतीय लगानीको संयुक्त भन्सार जाँच चौकी निर्माण पनि नेपालतर्फ जग्गा अधिग्रहण हुन नसक्दा त्यसै रोकिएको छ । संयुक्त जाँच चौकी बनाएर विराटनगरसँग जोडिएको कटहरी गाविससम्म मालबाहक रेल ल्याउने योजना थियो । बर्खे ढल व्यवस्थापन गर्न एशियाली विकास ब्याङ्क, नेपाल सरकार र उपमहानगरको रु.३ अर्ब २५ करोडको योजनामा ठेकेदार छनोट हुनै सकेको छैन । यी यस्ता आयोजनाहरू हुन्, जसले विराटनगरको आत्मबल र सामथ्र्य बढाउने थिए ।

अपार सम्भावना

कांग्रेस नेता आमोदप्रसाद उपाध्याय अहिलेको स्थिति उत्साहप्रद नभए पनि विराटनगरसंग देशकै मुहार फेर्ने ल्याकत रहेको बताउँछन् । पूर्वाधारको हिसाबले विराटनगर तयार अवस्थामा रहेको बताउने उनी भारत–चीन जोड्ने जोगवनी–किमाथांका सडक, अरुण तेस्रो परियोजना, भूटान–बंगलादेश व्यापार विस्तार, पूर्वाञ्चल एकीकृत पर्यटन विकास, रेल्वे लाइन विस्तार जस्ता परियोजनाहरूले मूर्तरूप लिंदा विराटनगरले आर्थिक चमत्कार गर्ने विश्वास व्यक्त गर्छन् ।

बिराटनगर बजार

अहिलेको अवस्था चाहिं कस्तो भने, विराटनगरले कोलकाताबाट वीरगञ्जभन्दा २२५ किमी नजिक हुनुको फाइदा पनि लिन पाएको छैन । कोलकाता–वीरगञ्ज दूरी ७७७ किलोमिटर छ भने विराटनगर–कोलकाता ५५२ किमी । मोरङ व्यापार संघका अध्यक्ष बोहरा विराटनगरका उद्योगीहरूले काठमाडौं–निजगढ फास्ट ट्रयाकको पर्खाइमा रहेको बताउँछन् । संघका पूर्व अध्यक्ष सुरेशकुमार शर्माले फास्ट ट्रयाक बनेपछि विराटनगरले स्थानीय उत्पादनसँगै कोलकाताको सामान पनि सस्तोमा राजधानी पु¥याउने बताए । भारत–चीन राजमार्ग र सुक्खा बन्दरगाहको योजनाले पनि विराटनगरको सम्भावनालाई उज्वल बनाएको बताउँदै शर्मा भन्छन्, “त्यसकारण निराश छैनौं ।”

पत्रकार भण्डारी भारत–चीन व्यापारमार्गको रूपमा किमाथांका–जोगवनी सडक बन्दा चीनको ल्हासा सिन्धुपाल्चोकको तातोपानीबाट भन्दा संखुवासभाको किमाथाङ्काबाट नजिक हुने भएकाले पूर्वाञ्चल चम्कने बताउँछन् । यो सम्भावना हेरेर भण्डारी र विराटनगर भन्सारका पूर्व प्रमुख श्याम दाहालको सक्रियतामा पूर्वाञ्चलको विकास एजेण्डाबारे छलफल आयोजना भएको थियो, जसबाट १३ बुँदे घोषणापत्र बनाएको छ (हे. भण्डारीको लेख) ।

पंचायतकालीन मन्त्री राधाप्रसाद घिमिरे बिराटनगरका उद्योगी–व्यावसायीहरू जोगवनी–किमाथांका सडकप्रति धेरै आशावादी भएको बताउँछन् । यसमा नेपाल सरकारले उचित गृहकार्यका साथ पहल नगरेको उनको भनाई छ । यो प्रस्तावित व्यापारिक मार्ग नेपालको भन्दा बढी भारत र चीनको आवश्यकता भएको बताउने घिमिरे नेपाल सरकारले अरुण तेस्रो परियोजनामा पनि भारतको सतलज कम्पनीलाई घचघच्याउन नसकेको ठान्छन् । “अरुण, तमर लगायतका आयोजनाहरूको सुस्तताले विराटनगरको गतिलाई ढिलो बनाइरहेको छ”, घिमिरे भन्छन् ।

छिन्नभिन्न कोइराला परिवार

तारिणीप्रसाद, विश्वेश्वरप्रसाद, आमा दिव्या, केशवप्रसाद र गिरिजाप्रसाद ।

विराटनगर निर्माणमा कृष्णप्रसाद कोइरालाको अतुलनीय देन रह्यो । जहानियाँ राणाशासन हटाउने क्रान्तिको नेतृत्व उनकै छोराहरूले गरे । उनका पाँचमध्ये तीन छोरा प्रधानमन्त्री भए । कान्छा गिरिजाप्रसादको निधनपछि भने कोइराला परिवार छिन्नभिन्न भएको छ । नाति पुस्तामा बेमेल छ । उनीहरू आ–आफ्नो अंश बेच्दै विराटनगरबाट टाढिएका छन् । स्वतन्त्रता सेनानी भीमराज नौलखा भन्छन्, “संस्थापक परिवारको यस्तो अवस्थाले विराटनगरको जीवनधारामा राम्रो असर गर्ने कुरै भएन ।”

बीपीका जेठा छोरा प्रकाश त कांग्रेसलाई समेत

पिताजी कृष्णप्रसाद कोइराला

त्यागेर राजावादी नै हुनपुगे । भारतीय फिल्म उद्योगमा चर्चित प्रकाशपुत्री मनिषा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनलाई सघाउने अभियानमा विराटनगर आउँदा एक पटक पनि कोइराला निवास गइनन् । २०६६ चैतमा कान्छा काका गिरिजाप्रसादको निधन हुनुभन्दा एक साताअघि आ–आफ्नो अंशमा परेको (जनही आठ कट्ठा ६ धुर) जग्गा बेच्न बिराटनगर आएका प्रकाश, श्रीहर्ष र डा. शशांक पनि कोइराला निवास नआई होटलबाटै काठमाडौं फर्किएका थिए ।

बीपीकी छोरी चेतना अमेरिकामा बस्छिन् । काठमाडौं बस्ने तारिणीका छोरा ज्योतिले चाहिं विराटनगरको अंश आधा मात्र बेचेका छन् । तारिणीकी छोरी कल्पनाको निधन भइसकेको छ । केशवपत्नी नोनाले कोइराला

सुनसान कोइराला निवास

परिवारलाई धेरै हदसम्म बाँधेर राखेको मानिन्छ, तर उनीसँग कान्छा देवर गिरिजाप्रसादकी एक्ली सन्तान सुजाताको मिल्ती थिएन । सुजाता र शेखर पनि मिल्दैनन् ।

कृष्णप्रसादका जेठा छोरा मात्रिकाप्रसाद जेठी श्रीमतीतर्फका भएकाले कोइराला निवास नजिकै घर बनाएर पहिल्यै अलग्गिएका थिए । मात्रिकाका पा“च छोरामध्ये जेठा विमल, कान्छा सञ्जय तथा छोरीहरू सविता र कविता परलोक भइसकेका छन् । बा“की तीनमध्ये माईला पूर्व राजदूत कमल नेकपा एमालेमा आवद्ध छन् । उनी र काईला विजय काठमाडौंमा बस्छन् भने साईला डा. अजयले विराटनगरको मूलघर सम्हालेका छन् । साहिंला केशवका जेठा छोरा निरञ्जन भारत र कान्छा डा. शेखर काठमाडौंमा बस्छन् ।

————————————————————————————————————————————————-

सम्भावनाको ढोका खोल्न १३ बुँदा

विराटनगरको गौरवगाथालाई इतिहासमा सीमित नपार्दा अर्थात बर्तमान बनाउँदा समग्र मुलुकलाई फाइदा छ ।

मोहन भण्डारी

२०६७ सालको दशैंताका राजधानीबाट आउनुभएका शैलेन्द्र पोखरेललाई विराटनगरमा समय बिताउन गाह्रो भएछ । मसँगको भेटमा उहाँले ‘विराटनगरमा त दुई घन्टा मन वहलाउने ठाउँ पनि रहेनछ, यस्तो ठाउँको भविष्य हुँदैन’ भन्नुभयो । जीवनका प्रारम्भिक काल विराटनगरमै बिताउनुभएका मेरा एक जना अग्रजले यसो भन्दा जीवनको अन्तिम श्वास यहीं फेर्ने सोचेर बसेको म जस्ताको मन चसक्क हुने नै भयो ।

पिताजी कृष्णप्रसाद कोइराला, उहाँका होनहार सुपुत्रहरू बीपी, गिरिजाप्रसाद, मात्रिकाप्रसाद, तारिणीप्रसाद मात्र हैन, मनमोहन अधिकारी लगायतका हस्तीहरूको जन्म र कर्मथलो हो विराटनगर । उहाँहरूको समयमा ‘आज विराटनगरले जे सोच्छ भोलि नेपालमा त्यो हुन्छ’ भनिन्थ्यो । तर, आज ती दिन छैनन् । बिकासको गति धिमा हुँदा विराटनगरलाई हेर्ने दृष्टिकोण नकारात्मक बनेको छ । विराटनगरमै बसिरहेकाहरू समेत ‘हामी पछि प¥यौं’ भन्ने हीन भावनाबाट ग्रस्त हुन थालेका छन् । यस्तो अवस्थामा आएको पोखरेलज्युको भनाइले मलाई नराम्ररी झ्स्काएकोले दौडेर विराटनगर भन्सारका प्रमुख रहिसक्नुभएका श्याम दाहालकहाँ पुगें । यहीं जन्मिएका, यहींबाट उच्च शिक्षा हासिल गरेका, यहीं सरकारी हाकीम बनेका र सेवानिवृत्त भएपछि पनि विराटनगर नछाडेका दाहालले मेरो मनको कुरा नबुझने कुरै थिएन । हामी सकेको केही गर्नै पर्छ भन्ने टुंगोमा पुग्यौं ।

हामीबीचमा भएको मतो मोरङ व्यापार संघका तत्कालीन महासचिव (अहिले अध्यक्ष) अविनाश बोहरा, उद्योग संगठनका तत्कालीन कार्यसमिति सचिव श्याम पौडेल, मोरङ जिविसका स्थानीय विकास अधिकारी पशुपति पोखरेल, विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी आदिलाई सुनाउँदा उत्साहजनक प्रतिक्रिया पाइयो । विराटनगरको विकासमा सबै राजनीतिक दल र यहाँ जन्मिएर राजधानी या अन्यत्र प्रतिष्ठित भएका व्यक्तित्वहरूको पनि साझ धारणा बनोस् भन्ने हाम्रो चाहना थियो । नभन्दै, हामी विराटनगरको भविष्यलाई लिएर ५ वैशाख २०६७ मा बृहत् गोष्ठी आयोजना गर्न सफल भयौं ।

गोष्ठीले पूर्वी नेपालकै समृद्धिको ढोका खोल्ने पूर्वाधार निर्माणका १३ बुँदा बनायो । पूर्वको प्रमुख व्यापारिक केन्द्र भएकाले विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउँदा समृद्धि हासिल हुने कुरामा विवाद छैन । घोषणापत्रले कार्यान्वयनमा जोड दिएको जोगवनी–किमाथांका सडकले भारत–चीन व्यापार विस्तारबाट लाभान्वित हुने त छँदैछ, पूर्वी नेपालको औद्योगिक र कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँछ । घोषणा पत्रले भेडियारीस्थित सीमा क्षेत्रमा बन्न लागेको नेपाल–भारत एकीकृत भन्सारलाई पनि महत्व दिएको छ ।

चक्रपथ, बाईपास रोड, सप्तकोशीमा पुल, विमानस्थलको स्तरोन्नति, विद्युत् आपूर्तिमा सुधार, पर्यटन विकास गुरुयोजना आदि प्रस्तावित योजनाहरूले विराटनगरको मुहार फेर्नेछ । १०० वर्ष पुरानो जगमा उभिएको यो नगरमा फर्कने आर्थिक क्रान्ति भनेको निःसन्देह रूपमा समग्र मुलुकको समृद्धि हो । विराटनगरको विकासमा आएको शिथिलतालाई गतिशीलतामा बदल्दा समग्र मुलुकमा अवसरका ढोका खुल्नेछन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>