रमझमआइतबार, आषाढ १५, २०७१
पलेंटीमा बाबु छोरी
पलेंटी दशौं वर्षमा पुग्दाको दोस्रो कार्यक्रम १४ असारमा बाबु–छोरी प्रकाश गुरुङ र रिमा गुरुङ होडा प्रस्तुत भए ।
‘मेरो रहर ब्यूँझिएर, तिम्रो छेउ आइ हाँसे
केहि रहर बिन्ती छ, तिमीले पनि सम्हाली राख्नु’
शिवशंकर थापाको शब्दलाई प्रकाशले सिंगारेपछि ओमविक्रम विष्टले गाएको यो गीत जति मिठो सुनिन्छ, यसैबाट काठमाडौको कालिकास्थानस्थित आरशालामा प्रारम्भ भएको पलेंटी पनि शुरुमै जम्न पुग्यो ।
“हरेक गीतसँग संगीतकारको आफ्नै सम्वन्ध हुन्छ,” प्रकाश पछिल्लो समय सम्झँदै थिए, “जबकि कतिपय गीत सबैले राम्रो गर्दागर्दै गायकको हातबाटै हत्या भइदिन्छ ।”
त्यसपछिको अर्को गीत पनि उतिबेलाको उत्तिकै चर्चित थियो , ‘धेरै नजिक हुनु पर्दैन, मान्छेलाई टाढाको घामले पनि पोल्न सक्छ’ । रेडियो नेपालमा कार्यरत छँदा अपरिचित गीतकार (कृष्ण जोशी)ले ल्याएर दिएको यो गीत पाएकै दिन संगीतबद्ध गरेको प्रकाशले बताए । यसलाई रिमाले गाएर सुनाएकी थिइन् ।
दीप श्रेष्ठले गाएको अर्को गीत ‘सबै आफ्नो’ सुनाएपछि रिमाले छिट्टै प्रस्तुत हुनलागेको आफ्नो अल्बमको राजेन्द्र थापा लिखित गीत पहिलोपटक गाएर सार्वजनिक गरिन, ‘आँखाको जोर घैंटोमा’ ।
“रगत र नशाबाटै संगीत बगेपछि कसैले कसैलाइ सिकाउनु पर्दैन,” आफ्नो सांगीतिक गुण छोरीमा सरेको बारे प्रष्ट पार्दै प्रकाशले भने, “मेरो बुवाले मलाइ कहिल्यै सिकाउनु भएन । तर, उहाँको सामिप्यमा जुन वातावरण मैले पाएँ त्यो नै मेरा निम्ति पर्याप्त थियो ।”
प्रकाश दार्जिलिङका प्रसिद्ध शास्त्रीय संगीतज्ञ हरिमान गुरुङका छोरा हुन् ।
यो जानकारीसँगै प्रकाशले लगातार चारवटा गीत सुनाए । त्यसमध्ये पहिलोपटक पलेंटीमै प्रस्तुत हुँदैगरेको कालीप्रसाद रिजालको ‘यस्तो पनि के जिन्दगी’ र विजय शिवाकोटीको ‘सक्तिन म नगाई’ पनि थियो । त्यस्तै रिमाको अर्को नयाँ गीत ‘हाँस्न पनि सिकी’ सुनाएर कार्यक्रमको मध्यान्तर भएको थियो ।
प्रकाश आफैले गाएका ‘बिन्ति छ है, ओंठमा अल्झिएको वचन देउ’ सुनाएर प्रारम्भ भएको दोस्रो खण्डमा अरुण थापाको स्वरमा रेकर्ड भएको ‘कुन बाटोको’ रिमाले प्रस्तुत गरिन् ।
केटाकेटीदेखिको साथी अरुण लामो समय हराएपछि अचानक फेला पर्दा यो गीत रेकर्डको संयोग जुरेको प्रकाशले सुनाए । उनका अनुसार मित्रताको चिनो स्वरुप त्यहि एउटा गीत गाएकोे केहि समयमै अरुणको निधन भएको थियो ।
“पहिले गाउने मान्छेहरु असाध्यै थोरै थिए । तर, गीतलाई बुझेर गाउने कोशिस गर्थे,” प्रकाशले बदलिँदो समयको तुलना गर्दै भने, “अहिले गाउनेहरु असाध्यै धेरै भए तर, धेरैले शब्द गाउनेभन्दा बढी मेहनतै गर्न चाहँदैनन् ।” यसले आधुनिक नेपाली संगीतमै गम्भीर अवस्था ल्याएको प्रकाशको दाबी छ ।
कार्यक्रममै उनले दार्जिलिङकै अर्को परिचित स्वर अरुणा लामासँगको सहकार्य बारे पनि सुनाए । उनको स्वरमा रेकर्ड गर्दागर्दै स्वास्थ्यका कारण बीचैमा रोक्नुपरेको एउटा गीतको ठम्याएजति शब्द उनले हार्मोनियम र तबलाकै भरमा गाएर सुनाए ।
त्यसपछिको क्रम उनका सर्वकालिक हिट गीतहरुको थियो ।
मनाङको हिमाली दृश्यमा फिल्मांकन गरिएको कुनै समय ‘झुमा’ सिनेमाको चर्चित गीत ‘बोल बोल पाखाहरु’ सुनाएपछि सुरुभएको हल भित्रको तातो माहोलले अन्तिमसम्मै निरन्तरता पायो ।
‘जोवन यसै बितिसक्यो मायालु’ कुनै समय ओमविक्रमको यो युगल गीतपछि फेरि अर्को उत्तिकै चर्चित युगल गीत ‘सुनचाँदी भन्दा महँगो यो ज्यानलाई’ पितापुत्रीले गाएर कार्यक्रमको अन्त्य भएको थियो ।
“जीवनमा पहिलोपटक बाबु छोरीलाई एउटै मञ्चमा गाएको देखेँ,” कार्यक्रम सकिएपछि प्रतिक्रिया दिँदै प्रकाश पत्नी रत्नतारा गुरुङले भनिन्, “यस्तो रमाइलो कहिल्यै लागेको थिएन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
