व्यक्तित्वमंगलबार, आश्विन २, २०६९

शानको चिया–जिन्दगी

हिमालखबर

जअबिर राइ(कुर्मी)

जीवन जिउँने हरेकका आफ्नै तरिका हुन्छन्। कोही भौतिक सुखसयलको उत्कर्ष भेट्टाउँने मृगतृष्णा बोकेर निरन्तर कुदिरहन्छन्, कसैले चाहिँ आफ्नै सानो दुनियाभित्र आत्म–सन्तोषमार्फत् सांसारिक सुखकै अनुभूति गरिरहेका हुन्छन् । धार्मिक नगरी जनकपुरको चहलपहल–भीडभाडयुक्त ‘जनक–चोक’को यौटा कुनामा बिहानीको झ्सिमिसेदेखि अबेर रातिसम्म चियाका गिलाससँग साक्षात्कार गरिरहने जअबिर राइ(कुर्मी) त्यस्तै एउटा उदाहरण हुन् ।

प्लाष्टिकको पालमुनि घामपानी छेकिने गरी राखिएका चारवटा बेञ्च, केही थान दुध–चिया उमाल्ने भाँडा, अनि केही दर्जन काँचका गिलास । उमेरले आधा शताब्दी काटिसकेका जअबिरका गरिखाने सम्पत्ति भनेकै यति हुन् । २६ बर्षदेखि यही ‘फुटपाथ’मा चिया बेचेर पाँच जनाको परिवारलाई सुखी र खुसी राखेका जअबिर स्वयम् पनि ‘चिया जिन्दगी’मा मज्जाले रमाएका छन् । जतिखेर पनि हँसमुख देखिने चेहरा उनको आत्मसन्तुष्टि झ्ल्काउँने ऐना हो ।
बिहान चार बजे नै उनी जनक चोक पुगिसक्छन् र ११ बजेसम्म चिया बेच्छन् । मध्यान्हको धुपमा ‘व्यापार’ नचल्ने भएकाले दिउँसो केहीबेर चिया–दुकान बन्द गरेर आराम गर्छन् । दिउँसो तीनबजे फेरि दुकानमा पुग्छन् र राति नौबजे मात्रै फर्कन्छन् । कहिलेकाहीँ पर्व–उत्सब परेका बेला त रातभर दुकान खुल्लै रहन्छ । दैनिक कति चिया बिक्री हुन्छ, ठ्याक्कै हिसाब राख्दैनन् उनी । उनको दुकानमा रु.१० प्रतिगिलास पर्ने चिया पारखीहरुको भीडभाड हेर्दा पनि दैनिक ४००–५०० गिलास चिया बिक्री हुने लख सजिलै काट्न सकिन्छ । कहिलेकाहीँ छोराहरुले सघाउँछन् । २६ बर्षदेखि निरन्तर चलिरहेको यो दैनिकीले जअबिरमा एकरत्ति पनि थकानको आभाष भएको देखिन्न ।

चिया दुकानकै आम्दानीले जेठो छोरा बीबीएस र कान्छो कम्प्युटर इन्जिनियर पढ्दैछन् । स्थानीय मदर टेरेसा बोर्डिङ स्कूलबाट म्याट्रिक (एसएलसी) उतीर्ण छोरीको पोहोरमात्र लायकको केटा भेटिएपछि उनले भारतमा बिहे गरिदिए । हुनेवाला ज्वाईँले दाइजो केही चाहिन्न, बिहेमा अनावश्यक खर्च पनि गर्नुहुन्न भनेपछि उनको दिल खुस भयो, अनि आफ्नै इच्छाले सकेजति दाइजो दिए ।

चिया–दुकानको आम्दानीबाट जीवन मज्जाले चलेको छ । “परिवार बिछट्टै सुखी छ भन्दिन” जअबिर भन्छन्, “फजुल खर्च गर्दैनौं, चाहिएको बेला कञ्जुसी पनि गरिन्न । समस्या टरेको छ, चाहेको पुगेको छ । सबैभन्दा ठूलो कुरा सन्तोष रहेछ, जुन आज मसँगै छ जस्तो लाग्छ ।”

यो ठाउँमा दुकान चलाउने जबबिर दोस्रो पुस्ता हुन् । उनका बुबा बिस्नीको आम्दानीको स्रोत पनि यही चिया–दुकान थियो । जअबिर १२–१३ बर्षको उमेरमा स्कूल जाँदा नै नै यहाँ बाबुले चिया बेच्ने गरेको सम्झ्न्छन् । अहिले उनी दिवंगत भइसकेका पिताकै पदचिन्ह पछ्याइरहेका छन् भने दाजु मिस्त्री छन् ।

कुस्ती खेलाडी बिस्नीका कान्छा छोरा जअबिर तेक्वान्दोका ‘ब्ल्याकबेल्ट’ समेत हुन् । ७ कक्षा उतीर्ण गरेपछि उनी भागेर इण्डियातिर लागे । दिल्लीमा बेस्सरी दुःख पाएपछि घर फर्केर भविष्य बनाउन जनकपुर चुरोट कारखानादेखि ‘भिडियो फिल्म हल’मा समेत जागिर गरे । तर कतै पनि उनलाई सन्तोष मिलेन । आखिर बाबुले चलाएको चिया पसल नै यस्तो ठाउँ रहेछ, जसले उनलाई बाँच्ने आधारदेखि आत्मसन्तोष सबथोक दिएको छ ।

सँगै खेले–पढेका साथी कोही यूरोप–अमेरिकामा छन्, कोही काठमाडौंमा जागिर र व्यवसाय गर्छन् । कहिलेकाहीँ भेट र फोनमा कुरा हुँदा उनीहरु ‘त्यस्तो ठाउँमा के गरेर बसेको, यतै आइज’ भन्छन् । तर त्यस्तो तर्कनाले उनलाई फिटिक्कै छुँदैन, बरु आफ्नो काम र जिन्दगी हेरेर सन्तुष्टि मिल्छ । “म मेरै घरमा छु, जहानबच्चासँगै बसेको छु, यहीँ बसेर सुखले परिवार पाल्न सकेको छु” उनी भन्छन्, “परिवारलाई गुडबाइ गरेर त्यस्तो हाइफाइमा म कसरी बस्न सकुँला ? आखिर यो पनि त कामै हो, मलाई यसमै आनन्द छ ।” अहिले पनि उनी ड्राइभर, सुरक्षागार्ड भएर सरकारी नोकरी गर्न नसक्ने होइनन् । तर, त्यतापट्टि उनको आशक्ति नै छैन । भन्छन्, “अब त चिया पसल र मेरो जिन्दगी एकापसमा जोडिइसके, यसबाट अलग हुँदा जिन्दगी नै अपुरो हुन्छ झ्ैं लाग्छ ।”

चिया पकाएर बेच्दैमा फुर्सद नहुने जअबिर राजनीतिबारे पनि उत्तिकै घोत्लिँदा रहेछन् । भदौको एक बिहान चिया–दुकानमा हिमालसँग भलाकुसारी गरिरहँदा उनले राजनीति र नेताप्रति एकदमै सम्मान देखाएपनि आजका नेता र तिनको व्यवहारप्रति तीब्र घृणाभाव प्रकट गरे । तराइ–मधेशमा केन्द्रित मधेशवादी पार्टीका नेताहरुबाट समेत वाक्कदिक्क बनिसकेका जअबिर भन्दैथिए, “३० बर्ष न्यायाधीश भएको उपराष्ट्रपति जस्तो मान्छेले मलाई नेपाली आउदैन, हिन्दीमा सपथ लिन्छु भन्नुजस्तो गैरजिम्मेवारपन के होला ?” उनकै शब्दमा, नेताहरुले देशमा लुटमात्रै बढाए, एकले अर्कालाई प्यार दिने, प्रेमपूर्ण व्यवहार गर्ने काम हुँदै भएन ।

राजनीतिका नाममा उनले ठूलो बैचैनी सहनुपरेको छ । २४ दिनको मधेश आन्दोलन, १९ दिने ०६२÷६३ को जनआन्दोलन जस्ता आन्दोलन–हड्तालले उनको दुकानमा ताल्चा लगाउँछन् । बन्द–हड्ताल हुँदा चिया दुकान खुल्दैन, दुकान नखुले माम मिल्दैन । “बन्द–हड्ताल भयो र चिया बेच्न पाइएन भने मेरो जीवन पनि बन्द हुन्छ” उनी भन्छन्, “बन्दका नाममा गरीबलाई भोकभोकै मार्ने काम सँधैलाई बन्द हुनुपर्यो ।”

कुनैबेला पेट पाल्न भारी बोक्ने भरियाको काम पनि गरेका जअबिर गाडी आएपछि सामान बोक्ने काम पाइने र त्यसबाटै छाक टर्ने भएकाले बस–स्ट्याण्डमा गाडी कतिखेर आउला भनेर कुरिरहन्थे । “आज मलाई पेट भर्ने समस्या छैन” उनी भन्छन्, “कानून कहिले बन्ला, फेरी संविधान कहिले आउला, सुशासन कहिले होला र हामी यति समृद्ध देशका नागरिक भनेर गर्व गर्न पाइएला भन्ने चिन्ता लागिरहन्छ ।”

– रामेश्वर बोहरा, जनकपुरमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...