रमझमबुधबार, आषाढ ३२, २०७१

युवाको कथा ‘नागबेली’

हिमालखबर

गाउँ र शहरका चार तन्नेरीमध्ये एउटा तेक्वान्दो खेलाडी बन्न चाहन्छ, अर्को गायनमा करिअर बनाउन भौंतारिरहेको छ। अरु दुईमध्ये एक जना नेपाली सेनामा भर्ना भएर देशको सेवा गर्न चाहन्छ भने अर्को वैदेशिक रोजगारीबाट परिवारको भविष्य सुनिश्चित गर्ने दौडधुपमा छ।

कलाकार यशराज गराच, हर्षिका श्रेष्ठ, सम्भव श्रेष्ठ र विक्की मल्ल।

सपनाको खोजीमा भौंतारिरहेका यस्ता बेरोजगार युवाहरुको कथा भन्ने नेपाली फिल्म ‘नागबेली’ हेर्दा दर्शकलाई आफ्नै गाउँघर, शहर र छरछिमेकका तन्नेरी र आफैंलाई हेरे जस्तो अनुभव हुन्छ। फिल्म समीक्षक दीपेन्द्र लामाको लेखन र नृत्य निर्देशकका रुपमा ख्याति कमाएका गोविन्द राईको निर्देशनमा बनेको यो फिल्म नेपाली समाजको यथार्थ पस्कँदै दर्शकलाई २ घन्टा १५ मिनेट मनोरञ्जन दिन सफल छ। २७ असारमा रिलिज भएको ‘नागबेली’ ले दर्शकलाई सूत्रबद्ध हिन्दी फिल्मको नक्कलमा बनाइएका अन्य नेपाली फिल्मले भन्दा निकै फरक गरी घुमाउँछ। फिल्ममा युवा आकांक्षामा तगारो बनेको राजनीति, घुसखोरी र यसको आडमा मौलाएको अपराधलाई समेत चित्रण गरिएको छ।

अरुको फिल्ममा कडा समीक्षा गर्ने लेखक लामाको काम सराहनीय नै छ। उनले फिल्ममा खेलकुद, राजनीति र सामाजिक क्षेत्रका स–साना विषयलाई पनि मिहिनढंगले पस्केका छन्। गोविन्द राई यथार्थपरकसँगै व्यावसायिक फिल्म बनाउन सफल छन्। यद्यपि, स–साना भूमिकामा कलाकारको सही छनोट गर्न नसक्दा ‘डाइलग डेलिभरी’ बढ्तै कृत्रिम भएको छ।

फिल्ममा गायक बन्न चाहने दयाहाङ राई, सैनिक हुन चाहने विक्की मल्ल, विदेशिन चाहने यशराज गराच र सफल खेलाडी बन्ने कोशिशमा देखिने सम्भव श्रेष्ठले राम्रो काम गरेका छन्। ‘लभर गर्ल’ को भूमिकामा नायिका हर्षिका श्रेष्ठ जमेकी छन् भने अर्की नायिका सुरभी जैन गीतकारको रुपमा देखिएकी छिन्। नीर शाह, लुनिभा तुलाधर, रुपा राना, अशोक फुँयाल आ–आफ्नो भूमिकामा जमेका छन्। रोमियन लिम्बूले निर्माण गरेको ‘नागबेली’ को संगीतले युवा जमातको मन छुने देखिन्छ। रोशन श्रेष्ठको द्वन्द्व जमेको छ भने रामशरण उप्रेतीको छायाङ्कन तथा विपिन मल्ल र सुरज श्रेष्ठको सम्पादनले अझ धेरै गर्न सकिन्थ्यो भन्ने पारेको छ।

यो फिल्म हेरेपछि दलाललाई १०/१५ लाख बुझाएर विदेश जान ठिक्क परेका युवक–युवतीलाई एक पटक सोच्न बाध्य पार्नेछ। फिल्मको सबैभन्दा राम्रो पक्ष भनेको यसले देश छाडेर विदेशमा दुःख गर्न जाने युवालाई सकारात्मक सन्देश दिंदै भविष्यप्रति आशावादी बन्न प्रेरित गरेको छ।

अनुशील

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>