रमझमशुक्रबार, साउन २, २०७१
गाएर समाजसेवा
अमेरिकाको न्युयोर्कमा बस्ने गायक गम्बुको धेरै समय न्युयोर्क बाहिरै बित्छ। उनी अमेरिकाको चारचौरास गरिरहेका हुन्छन्। अन्य देशका नेपाली समुदायबीच पनि पुगिरहन्छन्। यसरी कन्सर्टमा व्यस्त हुने उनको उद्देश्य टुहुरा बालबालिकाको भविष्यसँग जोडिएको छ। “कन्सर्टको शतप्रतिशत आम्दानी नेपाल पठाउँछु, बालबालिकाका लागि”, न्युयोर्कमा गाडी चलाउने मूल पेशा भएका गम्बु भन्छन्।
दुई वर्षअघि न्युयोर्कमा दुई पटक एकल कन्सर्ट गर्दा भएको आम्दानीमा श्रीमती र आफ्नो तर्फबाट पनि थप गरेर रु.१० लाखको कोष बनाई गायक शेर्पाले गत पुसबाट काठमाडौं, मनोहरामा ६ जना अनाथ बालबालिकालाई होस्टेलमा राखेर पढाउन थालेका छन्।
अहिले उनीहरूको मासिक खर्च रु.७० हजार नाघेको उनले बताए। ७५ जिल्लाका कम्तीमा एक जना असहाय बालबालिकालाई पढाउने उद्देश्य लिएका गम्बो भन्छन्, “उनीहरूलाई मानिसको आधारभूत आवश्यकता– गाँस, बास, कपास र शिक्षा दिन चाहन्छु।”
६ वटा अल्बम निकालिसकेका गम्बुले यो उद्देश्यमा श्रीमती र साथीभाइबाट राम्रो साथ पाएको बताए। उनका आफ्नै एक छोरा र एक छोरी छन्। टुहुरो हुनुको पीडा भोगेकाले आफू यो काममा अग्रसर भएको बताउने उनले २५असारमा आफ्नो गाउँ ओखलढुंगाको खिजीफलाँटेमा पनि कन्सर्ट गरे।
तीन वर्षअघि सगरमाथा आधारशिविरमा भएको स्टप द ग्लोबल वार्मिङ र सेभ द हिमालयज् कन्सर्टमा सहभागी भएका गम्बु २२ साउनमा काठमाडौंको प्रज्ञा भवनमा एकल कन्सर्ट गर्ने योजनामा छन्। “त्यो पनि बालबालिकाको पालनपोषण र शिक्षादीक्षाकै लागि हो।”
ङिमा पाख्रिन, न्युयोर्क अमेरिका
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
