रमझमबुधबार, साउन ७, २०७१
नेपाली पहिचानमा अमेरिकाकी आना
अमेरिकाको हवाई राज्यको युनिभर्सिटी अफ हवाईमा एशियन पर्फमिङ आर्टको उप–प्राध्यापक हुन्, आना स्टिर।
विसकन्सीनको लरेन्स युनिभर्सिटीबाट संगीत र धार्मिक अध्ययनमा स्नातक, न्युयोर्कको कोलम्बिया युनिभर्सिटीबाट संगीत मानवशास्त्रमा एमए तथा एमफिल उनले पीएचडीको लागि नेपाली लोकसंगीत छानिन्।
‘स्टडी अब्रोड प्रोग्राम’ अन्तर्गत सन् २००० मा नेपाल आउँदा आनालाई लोकदोहोरीले मन्त्रमुग्ध पारेको थियो।
नेपालका कुनाकन्दरा डुलेर संगीत मानवशास्त्रमा लोकदोहोरी विषयमा कोलम्बिया युनिभर्सिटीबाट पीएचडी गरेकी उनी भन्छिन्, “नेपाली संगीतमा धेरै विविधता छ, त्यसमा पनि तत्काल सवाल–जवाफ गर्ने लोकदोहोरी आश्चर्यजनक छ।”
त्यसअघि शास्त्रीय संगीत सिकेकी आना पाँच वर्षजति नेपाल बसिसकिन्।
यस अवधिमा उनले धेरै स्टेज र महोत्सवमा लोकदोहोरी गाएर दर्शकलाई लठ्याएकी छन्। अमेरिकामा हुने नेपाली कार्यक्रमहरुमा पनि आनाको प्रस्तुति विशेष आकर्षण हुने गरेको छ।
उनले घरजम पनि नेपाली बाँसुरीवादक रामकुमार सिंहसँग गरिन्।
नेपालमा जीवन आलेसँग बाँसुरी, खड्गबहादुर बुढामगरसँग मादल र प्रभुराज ढकालसँग शास्त्रीय गायन सिकेकी उनी दोहोरीबाट आफ्नो ‘नेपाली’ पहिचान बनेको बताउँछिन्।
“नेपाली पहिचानमा म साँच्चै रमाउँछु”, आना भन्छिन्, “एउटा चिन्ताको कुरा चाहिं के छ भने पछिल्लो समयमा नेपाली लोक संगीतमा नेपालीको रुचि घट्दै गएको छ।”
ऋषिराम कट्टेल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
