रमझममंगलबार, साउन १३, २०७१

‘दौरा–सुरुवालमा ओस्कारको स्टेज टेक्न चाहन्छु’

हिमालखबर

फिल्म 'मेरी कोम' को एकदृश्यमा सुनिल थापा ।

भारतीय बक्सिङ खेलाडी मेरी कोमको जीवनीमा आधारित फिल्म ‘मेरी कोम’ को तीन मिनेटको ‘ट्रेलर’ सार्वजनिक भएपछि सुनिल थापाको चर्चा चुलिएको छ। मेरी कोमको रुपमा प्रियङ्का चोपडा देखिने यो फिल्ममा थापा उनका प्रशिक्षकको दमदार भूमिकामा छन्। अमिताभ बच्चन र डेनी डेन्जोङ्पाले नभ्याएपछि यो भूमिका आफूले पाएको थापाले बताए।

२०३८ सालको सुपरहिट हिन्दी फिल्म ‘एक दुजे के लिए’ मा खलनायक रहेका थापाले आजकी आवाज, मानव हत्या लगायतका हिन्दी र केही दक्षिण भारतीय फिल्ममा पनि काम गरिसकेका छन्।

उनले खेलेको पहिलो नेपाली फिल्म मशाल (२०३९) हो। त्यसको सात वर्षपछि बनेको चिनो को ‘राते काइँला’ को भूमिकाले उनलाई चर्चित बनायो। त्यो सफलतापछि उनी मुम्बई फर्केनन्। “त्यसबेलाको बहुचर्चित सिरियल ‘कमान्डर’ मा कमान्डरकै भूमिकामा अफर आए पनि नेपाली फिल्मको लागि त्यसलाई त्यागिदिएँ”, थापा भन्छन्।

त्यसयता सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका थापा फिल्ममा आउनुअघि कोलकातामा ‘स्टेट्सम्यान’ पत्रिकाका फोटो पत्रकार थिए।

२०१३ अप्रिलदेखि ‘मेरी कोम’ मा व्यस्त भएका उनले बीचमा नेपाल आउजाउ गर्दा नेपाली फिल्म मुखौटामा काम गर्न भ्याए। ‘मेरी कोम’ का निर्माता सञ्जय लीला भन्साली, निर्देशक ओमाङ्ग कपुर र द्वन्द्व निर्देशक रब मिलर हुन्।

फिल्म 'मेरी कोम' को छायांकनको क्रममा नायिका प्रियङ्का चोपडासँग ।

फिल्मका लेखक साईवेनसँग थापा।

फिल्मको छायाङ्कन अघि कास्टिङ डाइरेक्टर श्रुति महर्जनसँग निरन्तर वर्कशप र प्रियङ्कासँग बक्सिङ तालीम गरेको थापाले बताए। बर्फीमा नेपाली कलाकार भोला सापकोटासँग काम गरिसकेको र एक दुजे के लिए हेरिसकेको हुनाले प्रियङ्काले आफूलाई ‘थापा सर’ भनेर सम्मानपूर्ण व्यवहार गरेको बताउँछन्।

२० भदौबाट प्रदर्शनमा आउने ‘मेरी कोम’ ले आफ्नो लागि मुम्बईमा नयाँ ढोका खोलिदिएको थापाले बताए। टोरन्टो फेस्टिभलबाट वर्ल्ड प्रिमियर हुन लागेको यो फिल्मप्रति उनी धेरै आशावादी छन्।

दौरा सुरुवाल लगाएर ओस्कारको स्टेजमा जाने इच्छा पूरा हुने सम्भावना बढेको उनले बताए। बलिउड ‘कमब्याक’ लाई थापाको अभिनयको ‘सेकेन्ड इनिङ’ को रुपमा हेरिएको छ। ‘मेरी कोम’ का स्त्रि्कन प्ले राइटर साईवेन कुद्राशले फेसबुकमा थापाको फोटो पोष्ट गर्दै ‘अभिनयको पावर हाउस’ भनेर लेखेका छन्।

अनुशील

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>