रिपोर्टसोमबार, कार्तिक २४, २०७१
चरेस तस्करीको ‘हब’ बन्दै सुदूरपश्चिम
–बच्चु विक, महेन्द्रनगर
कुम्भमेलाका लागि गत वर्ष हरिद्वार जाँदै गरेको भीडमा अढाइ वर्षीया छोरी बोकेकी दाङ, चन्द्रावतीकी धनकुमारी मगर पनि थिइन् । महाकाली नदीको शारदा ब्यारेज तरेर भारत टेक्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनको झोला खोतल्न थाल्यो । पूजापाठको सामान होला भनेको त उनको झोलामा चरेस पो भेटियो । अघिल्लो टाँगामा सवार उनका पति रामकुमार मगर त फुत्किए, तर उनी एसएसबीको फन्दामा परिन् ।
अढाइ वर्षीया छोरीसँगै रामकुमारीसहित गत मंसीर, पुस र माघमा चरेससहित पक्राउ परेका १३ जना नेपाली भारतीय जेलमा छन् । भारतीय प्रहरीका अनुसार उनीहरूबाट ८७ किलोग्राम चरेस बरामद भएको थियो । पश्चिमी सीमा नाका टनकपुर, बनवासा र आसपासका क्षेत्रबाट नेपाल भित्रिनेहरूलाई मात्र कडा चेकजाँच गर्ने गरिएकोमा सीमाक्षेत्रमा नेपाली पक्राउ पर्ने क्रम बढेसँगै भारततर्फ जानेहरूलाई समेत चेकजाँचमा कडाइ गरिएपछि नेपाली भरियाहरू चरेससहित समातिन थालेका हुन् ।
नेपाली सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा पनि गत वर्ष ३ माघमा मेहलकुना–३, सुर्खेतका महावीर विक; १२ माघमा रानीशिखर–५, दार्चुलाका कमलसिंह ठगुन्ना; २२ माघमा भीमदत्त नगरपालिका–१२, कञ्चनपुरका पृथ्वीबहादुर विष्ट र २८ माघमा दैजी–३, कञ्चनपुरका आकाश राउत चरेससहित समातिएका थिए ।
यस वर्ष फेरि असोजको सुरुआतसँगै सीमा क्षेत्रमा चरेससहित नेपाली पक्राउ पर्न थालेका छन् । ९ असोजमा एसएसबीले करीब १६ केजी चरेससहित रोल्पाका दुई जना महिलालाई पक्राउ गर्यो । भारतीय प्रहरीले उनीहरूलाई जेल चलान गरिसकेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व निरञ्जन प्रधान बताउँछन् ।
२ असोजमा दौलीचौर–७, बझाङका ददि बोहरा तीन केजी चरेससहित कञ्चनपुरको सुडाबाट पक्राउ परे भने २० असोजमा ७८ केजी चरेससहित प्रहरीले सीमाक्षेत्रको गड्डाचौकीबाट चाँदनी–७ कञ्चनपुरका मानसिंह धामी, औस्या सुनार, जया सुनार र लक्ष्मण सिंहलाई पक्राउ गर्यो । चरेस बोकेर गड्डाचौकीबाट भारततिर जान लाग्दा उनीहरू पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी निरीक्षक अम्रिकन चन्द भन्छन्, “डेढ बजे राति चारै जना प्लाष्टिकको बोरामा चरेस बोकेर हिंडिरहेको अवस्थामा भेटिए ।”

भारतीय सीमा सुरक्षा बलको फन्दामा परेकी दाङ चन्द्रावतीकी धनकुमारी मगर र उनको साथमा अढाइ वर्षीया छोरी । तस्वीरः बच्चु विक
७८ केजी चरेससहित पक्राउ परेका चारै जनाले दिएको जानकारीका आधारमा अनुसन्धान गर्दा चरेस कारोबार र ओसारपसार ‘मौसमी’ नभएर ‘नियमित’ भइरहेको निचोडमा प्रहरी पुगेको छ । त्यसलगत्तै ३ कात्तिकमा बसेको नेपाल–भारतका सीमा क्षेत्रका सुरक्षाकर्मीको बैठकले चरेसको ‘नियमित ओसारपसार’ भइरहेको निचोड निकाल्यो । भारतको टनकपुर ठानाका प्रमुख नरेन्द्र चन्द भन्छन्, “हामीले ध्यान दिन सकेका रहेनछौं, नियमित रूपमा चरेस ओसारपसार भइरहेको रहेछ ।”
ट्रान्जिट कञ्चनपुर र डडेल्धुरा
भारतका हरिद्वार, दिल्ली लगायत ठाउँमा चरेस पुर्याउन तस्करहरूले कञ्चनपुर र डडेल्धुरालाई ‘ट्रान्जिट’ बनाएका छन् । कञ्चनपुर र डडेल्धुराका सीमा नजिकका गाउँबाट चरेस सीमा कटाउने गरेको पाइएको छ । पूर्वी नेपालबाट आउने चरेस कञ्चनपुरको कृष्णपुर, झलारी, दैजी र सुडा गाविसको चुरे क्षेत्रसँग जोडिएका गाउँहरूमा तथा सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाबाट आउने चरेस डडेल्धुराको भित्री मधेश क्षेत्र जोगबुडा, शीर्ष र आलितालमा भण्डारण गरिन्छ । डडेल्धुराको जोगबुडास्थित सीमा सुरक्षा बेसक्याम्पका सशस्त्र प्रहरी निरीक्षक पदम तमोली भन्छन्, “सीमा क्षेत्रमा भण्डारण हुन्छ भन्ने जानकारी पाएका छौं ।”
जोगबुडा क्षेत्रमा भण्डारण गरिएको चरेस ट्यूबमा महाकाली नदी पार गरेर भारतको टनकपुर तथा कञ्चनपुरको चुरेक्षेत्र नजिकका गाउँमा भण्डारण गरिएको चरेस गड्डाचौकी नाकाहुँदै बनवासा पुर्याउने गरिएको छ । टनकपुरभन्दा गड्डाचौकी भएर चरेस लैजान सजिलो भएकाले तस्करहरूले यही नाका बढी प्रयोग गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
टनकपुर र बनवासा हुँदै हरिद्वार पुगेको चरेस त्यहीं खपत हुने र दिल्ली पुग्ने चरेस चाहिं अन्तर्राष्ट्रिय बजारमा जाने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । नेपालमा प्रतिकेजी रु.४० देखि ४५ हजारमा बिक्री हुने चरेस हरिद्वारमा भारु ८० देखि ९० हजार र दिल्लीमा ८५ हजारदेखि १ लाख १० हजार भारुमा बिक्री हुने गरेको भारतको टनकपुर ठानाका प्रमुख नरेन्द्र चन्द बताउँछन् ।
मजदूर र महिलाको प्रयोग
सीमावर्ती नेपाली र भारतीय भूभागमा गत वर्ष पक्राउ परेका १७ र यो वर्ष पक्राउ परेका ८ जना नेपाली तस्कर थिएनन् । ७८ केजी चरेससहित चार जनालाई मध्यराति पक्राउ गरेका गड्डाचौकीका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर चन्द भन्छन्, “उनीहरू तस्कर होइनन्, क्यारिएर हुन् ।” नेपाल र भारत दुवैतिरका तस्करहरूले सीमामा आवतजावत गर्ने सर्वसाधारण, भारतका विभिन्न शहरमा कामका लागि जाने नेपाली मजदूर र महिलालाई भरियाका रूपमा तस्करीमा प्रयोग गर्छन् ।
भारत जाँदा दुवैतर्फका सुरक्षाकर्मीले चेकजाँच नगर्ने अवस्थाको फाइदा उठाएर तस्करहरूले कामका लागि जाने मजदूरलाई प्रयोग गरिरहेका छन् । “पक्राउ पर्नेहरू राम्ररी बोल्न पनि सक्दैनन्, सोधपुछ गर्दा स्पष्ट ठेगाना समेत बताउन नसक्ने हुन्छन्” गड्डाचौकी इप्रकाका इन्चार्ज प्रहरी निरीक्षक अम्रिकन चन्द भन्छन्, “उनीहरू पैसाको लोभमा फसेका हुन् ।”
कञ्चनपुर र डडेल्धुराबाट टनकपुर र बनवासासम्म चरेस पुर्याउनेले रु.२ हजार तथा दिल्ली र हरिद्वार पुर्याउँदा भारु ५ हजारसम्म पाउने गरेको पक्राउ परेकाहरू बताउँछन् । टनकपुरमा २५ केजी चरेससहित पक्राउ परेका डडेल्धुराको साननीका हीरासिंह साउद भन्छन्, “पाँच हजार दिएका छन्, बाँकी पुगाएपछि दिन्छौं भनेका छन् ।” सीमा पार गरेर टनकपुरबाट डीएल १ वाईसी १८८० नम्बरको इन्डिगो कारमा जाँदै गर्दा पक्राउ परेका उनलाई टनकपुरबाटै कारको व्यवस्था मिलाइएको थियो ।
नयाँदिल्लीको गणेश कम्प्लेक्समा कार्यरत हीरासिंहले यसअघि दुईपल्ट चरेस दिल्ली पुर्याएको बयान दिएपछि भारतीय सुरक्षा अधिकारीहरू समेत झस्केका थिए । उनलाई पक्राउ गर्ने पाँचजनाको टोलीलाई तत्कालै भारु १०–१० हजार पुरस्कार दिएका पिथौरागढका डीआईजी गणेश मर्तोलिया र चम्पात जिल्लाका एसपी केएस नगन्यालले सीमाक्षेत्रका सुरक्षा अधिकारीलाई ‘भारत पस्ने मजदूर र महिलाको खानतलासीमा विशेष ध्यान दिन’ निर्देशन नै जारी गरेका छन् ।
तस्करले अग्रिम रकम दिने हुँदा विपन्न मजदूरहरू सजिलै लोभिन्छन् । चरेस तस्करीमा हुम्ला, जुम्लादेखि पूर्वको विराटनगर र वीरगञ्जका सर्वसाधारणलाई समेत भरियाका रूपमा प्रयोग गरिएको पाइएको छ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
