रिपोर्टबुधबार, कार्तिक २६, २०७१

एकल परिवारमा सुख–चैन हराउँदै

हिमालखबर

सुशीला बुढाथोकी

एकल परिवारमा सुख–चैन हराउँदै १५ पुस २०७० देखि ३० असार २०७१ बीचको करीब साढे ६ महीनाको अवधिमा काठमाडौं जिल्ला अदालतमा फैसला भएका सम्बन्धविच्छेदका ४७० मुद्दाले नेपाली समाजमा अब ‘लोग्ने–स्वास्नीको झगडा, परालको आगो’ नरहेको बरु यसले परिवार विघटनको डढेलोको रूप लिइसकेको देखाउँछ। संयुक्त परिवार टुक्रिएर बनेका एकल परिवारहरूमा लागेको यो आगो छरछिमेक, कुलकुटुम्ब, इष्टमित्र सबै धुइरिंदा पनि ननिभेपछि अदालतबाट छिनोफानो गरिएको हो। यसरी अलग्गिनेमा पति–पत्नी मात्र रहेको परिवार पनि छन्।

झस्क्याउने तथ्यांक

काठमाडौं जिल्ला अदालतमा ६ महीनाको अवधिमा सम्बन्धविच्छेद भएकामा ४०४ महिलाले काठमाडौं बाहिर र ६६ जनाले काठमाडौंमा विवाह गरेका थिए। काठमाडौंमा विवाह गरेकामध्ये १९ जना सगोल परिवारमा बसेका थिए। सम्बन्धविच्छेद भएका कुल ४७० मध्ये २५८ जोडीको असमझदारी बढ्नुमा खासै ठूलो कारण देखिंदैन।

यसैगरी, वैदेशिक रोजगारका कारण ११५ जोडीको घरबार बिग्रिएको छ। यीमध्ये ६० मुद्दामा पति, २९ मा पत्नी र २६ मुद्दामा पति–पत्नी दुवै विदेश गएका थिए। २४ मुद्दामा पति वा पत्नीको बहुविवाह, १७ मुद्दामा आर्थिक कारण, १८ वटामा कुटपीट, १६ वटामा समय नदिएको, १२ वटामा बेवास्ता गरेको र अन्यमा विवाहेत्तर सम्बन्ध, अमिल्दो उमेर, शंका आदिका कारण सम्बन्धविच्छेद भएका छन्। पति साथमै भएका तीन महिलाले दोस्रो विवाह गरेपछि सम्बन्धविच्छेद गरेका छन्।

अनौठो के छ भने, सम्बन्धविच्छेद भएकामध्ये १८६ वटा विवाह लामो समयको प्रेम पछि भएको देखिन्छ। तीमध्ये ११० जोडीले आफूखुशी र ७६ जोडीले घरपरिवारको सहमतिमा घरजम गरेका थिए। यसैगरी, ६१ वटा अन्तरजातीय प्रेम विवाहमध्ये ३१ वटा घरपरिवारको सहमतिमै भए पनि पछि जातीय भेदभाव समस्या बनेको देखिन्छ। प्रेम सम्बन्धपछि अदालतबाट नाता कायममार्फत पति–पत्नी बनेका जोडीहरूले पनि छोटो समयमै सम्बन्धविच्छेद गरेको अदालतको अभिलेखले देखाउँछ। सम्बन्धविच्छेद गर्नेमा विवाहकै दिनदेखि सम्बन्ध बिग्रिएकाहरूदेखि छोरा–नाति भएका महिलासम्म छन्।

सम्बन्धविच्छेद हुनेमा सबभन्दा बढी अर्थात् २८५ महिला २१–३० वर्ष उमेर समूहका छन्। उनीहरूमा भर्खर विवाह गरेकादेखि दुई बच्चाका आमासम्म छन्। यसैगरी, ३१ देखि ४० वर्षका १२१ जना, ४१ देखि माथि ६५ वर्षसम्मका ४२ जना र बीस वर्षभन्दा कम उमेरका २२ जना महिलाको सम्बन्धविच्छेद भएको छ। सम्बन्धविच्छेद गर्ने कुल ४७० महिलामा चार वटासम्म बालबच्चा भएका २०७ जना छन्। तीमध्ये २१ जनाका छोराछोरी हुर्केका छन्। सम्बन्धविच्छेद पछि १२० मुद्दामा आमाले, ७६ वटामा बाबुले र ११ वटामा दुवै पक्षले छोराछोरी पालनपोषण गर्ने जिम्मा लिएका छन्। ९३ जना महिलाले अंश दाबी गरेकोमा ३५ जनाले पाएको मुद्दाका मिसिलहरूले बताउँछन्।

महिलामा बढ्दो आर्थिक आत्मनिर्भरता, स्वतन्त्र भएर बस्ने चाहना र रेमिट्यान्सका कारण परम्परागत नेपाली समाजको पारिवारिक पद्धति धमाधम भत्किंदैछ। संयुक्तबाट छुट्टिएर एकल बनेका परिवारहरूमा पनि असमझ्दारीको धमिरा पसेको नेपालभरका अदालतहरूमा परेका मुद्दा र सम्बन्धविच्छेदका फैसलाले देखाउँछ। सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०६९/७० मा सबै जिल्ला, पुनरावेदन र सर्वोच्चमा गरी कुल ८ हजार ७८६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा ६ हजार ५६५ वटा फैसला भएका छन्। त्यसबाहेक, पतिहरूले दोस्रो बिहे गरेको भनेर ८२८ जना महिलाले छुट्टै उजुरी दिएका थिए।

२०३६ देखि २०७० सालको अवधिमा सर्वोच्च पुगेका सम्बन्धविच्छेदका मुद्दाहरूको अध्ययन गरेकी काठमाडौं स्कूल अफ लकी स्नातक प्रीति श्रेष्ठ २०४६ अघि अदालत पुग्दा पनि दम्पतीहरूमा सम्बन्ध चाहिं टुटिनहालोस् भन्ने मानसिकता रहेको पाइएको बताउँछिन्। उनका अनुसार, विगतमा पतिले दायर गरेका धेरैजसो मुद्दामा पत्नी माइत बसेको, लिन जाँदा नआएको जस्ता कारण हुन्थे भने महिलाका निवेदनमा सासू–ससुरा, नन्द–आमाजूले गर्दा घरमा बस्न नसकेको कुरा हुन्थे। “अहिले धेरैजसो एकल परिवार भएकोले त्यस्ता कारण छैनन्”, श्रेष्ठ भन्छिन्, “तर, दम्पतीहरू असमझ्दारी बढ्नासाथ सम्बन्धविच्छेदको मानसिकतामा पुगिहाल्छन्, मेलमिलापको गम्भीर प्रयास पनि खासै हुने गरेको देखिंदैन।”

एकल परिवारमा सुख–चैन हराउँदै सम्बन्धविच्छेद मुद्दा मिलापत्रको क्रममा बालबच्चालाई कसले राख्ने भनेर सोधिन्छ, तर बालबच्चाले के चाहन्छन् भनेर हेरिंदैन। बालबच्चालाई सबभन्दा बढी बाबुआमा चाहिने अवस्थाबारे कानूनमा स्पष्ट व्यवस्था नहुँदा कतिपय आमा वा बाबुले चाहँदाचाहँदै पनि बच्चा राख्न नपाएको र कतिपय मुद्दामा आमाबाबु दुवैले बच्चा राख्न नचाहेको देखिएको श्रेष्ठ बताउँछिन्। उनका अनुसार, व्यवहारमा चाहिं धेरैजसो आमाले बच्चाको लालनपालन गरेका छन्। आमाले अर्कै सम्बन्ध बनाएको अवस्थामा बच्चाहरू स्वतः बाबुले स्याहार्नुपर्नेमा धेरैजसो पुरुषले अर्को बिहे गरिहाल्ने चलनले बच्चाले सौतेनी व्यवहार सहनुपर्ने स्थिति छ।

काठमाडौं महानगरपालिकाको सम्बन्धविच्छेद मुद्दा शाखाकी कानून अधिकृत कल्पना शाक्य वार्षिक सरदर १० वटा सम्बन्धविच्छेदको मुद्दा आउने महानगरपालिकामा २०६१ यता चारवटामा मात्र मेलमिलाप कायम भएको बताउँछिन्। उनका अनुसार, महानगरपालिकामा सगोल परिवारका सदस्यहरूको रीसले दम्पतीबीच कलह भएको ‘केस’ धेरै आउँछ। शाक्य भन्छिन्, “अब कुनै हालतमा मिलिंदैन भन्ने मानसिकतामा पुगेकाहरू नै मुद्दा बोकेर हिंडेका हुन्छन्।”

परम्परागत विवाह र सगोल परिवार उस्तो कमजोर नभइसकेको भक्तपुरका नेवार समुदायमा भने सम्बन्धविच्छेदका मुद्दा यो अवधिमा कम दर्ता भएको पाइएको छ। भक्तपुर जिल्ला अदालतमा २०७० पुसपछिको ६ महीनामा सम्बन्धविच्छेदका ३७ वटा मात्र मुद्दा दायर भए, जसमध्ये १६ जना वादी नेवार जातिका पुरुषसँग बिहे गरेका महिला छन्। यीमध्ये ११ जना नेवार जातिकै महिला छन्।

काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. सुरेशराज शर्मा पछिल्लो पुस्ताले स्वेच्छा–अधिकारको मात्रै कुरा बुझेको तर त्योसँगै जोडिएर आउने दायित्व–जिम्मेवारी नबुझेकोले जीवनभरका लागि हुनुपर्ने वैवाहिक सम्बन्ध कमजोर देखिन थालेको बताउँछन्। उनको भनाइमा, समझदारीबाट सामान्य बनाउन सकिने सानोतिनो झ्गडा पनि सम्बन्धविच्छेदको तहमा पुग्न थाल्नुको मुख्य कारण यही हो। “अहिलेका मान्छेहरू पढेलेखेका त छन्, तर मान्नुपर्ने मान्छेलाई सम्मान गर्ने कुरामा पछाडि छन्”, डा. शर्मा भन्छन्, “जसले गर्दा आफ्नै सम्बन्धलाई पनि कमजोर बनाएको छ।”

बोझिलो दाम्पत्य

पुरुषले घरव्यवहारको जिम्मा महिलाको मात्रै ठान्ने र आर्थिक उपार्जन गर्न नसक्ने पतिहरूले पनि पत्नीको आर्थिक हैसियतलाई स्वीकार्न नसक्दा दम्पतीबीच दूरी बढेको सम्बन्धविच्छेदका मुद्दा हेरेका अधिवक्ताहरू बताउँछन्। उनीहरूका अनुसार, पत्नीको स्वतन्त्रतालाई पतिले आफ्नो पकडबाहिर गएको ठान्दा पनि शिक्षित दम्पतीबीच वैमनस्य बढेको छ। सम्बन्ध राख्न अगाडि सर्ने तर जिम्मेवारी लिन नचाहने पुरुषका कारण कतिपय घरबार एक–दुई महीना पनि टिक्न सकेका छैनन्। धेरै वर्षदेखि छुट्टै बसी छोराछोरीको जिम्मेवारी सकेर विधिवत् सम्बन्धविच्छेद गर्नेहरू पनि छन्।

कानून व्यवसायीहरूका अनुसार, कम उमेरमा विवाह गर्ने, हत्पत्तिएर जो पायो उहीसँग विवाह गर्ने र आर्थिक प्रलोभनमा घरजम गर्नेहरूको सम्बन्ध बढी जोखिममा परेको देखिन्छ। विशेषगरी, वैदेशिक रोजगार वा कुनै कारणले टाढा रहने र सँगै हुँदा पनि पहिलाको जस्तो समझ्दारी नहुने दम्पतीहरूको बाटो अलग भएको देखिन्छ। घरखर्च बढ्दा, एकले अर्काको अपेक्षा बमोजिम उपार्जन गर्न नसक्दा वा आर्थिक सबलतासँगै अर्को सम्बन्ध राख्नेहरूको कलह पनि अन्ततः सम्बन्धविच्छेदमा टुङ्गिएको देखिन्छ।

पतिकै कारण आर्थिक हैसियत बनाएका कतिपय पत्नीले पनि दोस्रो बिहे गरेको देखिएको छ। यसैगरी, आफूभन्दा धेरै कान्छीलाई पत्नी बनाएर शंका गर्ने तर मनोकांक्षा पूरा नगर्नेहरूका पत्नीहरू टाढिएका छन्। यसबाहेक घरबाहिर बस्ने पति वा पत्नी, रोगी पति वा पत्नी र छोराछोरी लालनपालनमा गैर–जिम्मेवार पतिका कारणबाट पनि कतिको सम्बन्ध बोझिलो बनेर विच्छेदमा टुंगिएका छन्।

‘जुनी भरका लागि’ भन्ने विवाह सम्बन्धी पूर्वीय मान्यतालाई आधुनिक जीवनशैलीले कमजोर बनाउँदा र पारिवारिक सम्बन्धलाई भन्दा आफ्नो चाहना–इच्छालाई सर्वोपरि मान्ने मनोवृत्तिले व्यक्तिवादसँगै सम्बन्धविच्छेद बढाएको छ। मानवशास्त्री सुरेश ढकालको भनाइमा, उदारवादी शासनव्यवस्था र पश्चिमा मान्यताहरूको प्रभावले पुराना चलन हट्दै जाँदा विवाह भन्ने कुरा विल्कुलै ‘निजी मामिला’ बन्न पुगेको छ। र, राज्यले दिने कानूनी सेवा हुन पुगेको छ– वैवाहिक सम्बन्धविच्छेद। “पहिले बिहे परिवारले गर्थ्यो”, ढकाल भन्छन्, “अहिले व्यक्तिहरू निर्णय गर्न स्वतन्त्र भएकोले सम्बन्ध टुटाउन पनि सजिलो छ।”

यद्यपि, कारण सही छन् भने सम्बन्धविच्छेदले राम्रै गर्ने मानवशास्त्री ढकाल बताउँछन्। अहिले विवाहबारे समाज नै दिग्भ्रमित भएकोले सम्बन्धहरू टिक्न नसक्ने गरी बोझिलो भएको मनोविद् गंगा पाठकको विश्लेषण छ। उनको भनाइमा, ‘विवाह एक जनासँग भए पनि सम्बन्ध धेरैसँग हुन सक्छ’ भन्ने जस्ता प्रचारले विवाहको अर्थ धुमिल हुन थालेको छ।

कानूनी अवस्था

मुलुकी ऐनमा सम्बन्धविच्छेदका मुद्दा एक वर्षभित्र सल्ट्याउनुपर्ने उल्लेख भएकोले अदालतहरूका मेलमिलाप केन्द्र मुद्दा टुङ्ग्याउनमा सीमित हुँदा सम्बन्धविच्छेद जस्तो पारिवारिक मुद्दा कागजी प्रक्रियामा सीमित हुँदैछ। महिलाले कानूनले तोकेका कुनै पनि प्रावधान उल्लेख गरेपछि सम्बन्धविच्छेद हुनसक्ने व्यवस्था छ। प्रक्रियागत रूपमा जाने हो भने सम्बन्धविच्छेद चाहने पति वा पत्नी दुवैले गाविस वा नगरपालिकामा निवेदन दिनुपर्छ। त्यहाँका अधिकारीहरूले दुवैको राय बुझेर सम्बन्धविच्छेद हुने वा नहुने तथ्यहरू लिई सिफारिश गरेपछि अदालतले मुद्दाको फैसला गर्छ।

तर, यस विधिबाट नगई महिलालाई पति–पीडित पत्नीका रूपमा प्रस्तुत गर्ने परिपाटीले कारण जेसुकै भए पनि पतिलाई विभिन्न आरोप लगाउने चलन बढेको छ। पतिहरू पनि सम्बन्धविच्छेदको लागि सजिलै राजी भएका देखिन्छन्। पतिले भने एकतर्फी रूपमा सम्बन्धविच्छेद गर्न चाहेमा स्थानीय निकायमा नै जानुपर्ने व्यवस्था छ। सर्वोच्च अदालतले पुरुषलाई पनि सीधै अदालत जाने सुविधा दिने कानून बनाउन सरकारलाई दिएको निर्देशन अझै कार्यान्वयनमा आइसकेको छैन।

महिलाले जुनसुकै कारणबाट सम्बन्धविच्छेद गरे पनि पतिबाट मानाचामल र अंश भराउन सक्ने व्यवस्था भए पनि अंश दाबी गर्नेको संख्या भने कमै देखिन्छ। काठमाडौं स्कूल अफ लका विद्यार्थी विनय सिग्देलले गरेको सम्बन्धविच्छेद सम्बन्धी एक अध्ययनले सम्पत्ति पाउन सहज नभएकोले महिलाहरूले अंश दाबी छोड्ने गरेको बताउँछन्। महिलाले अंश हकभोगको दाबी गरे पनि कार्यान्वयनमा समस्या हुने भएकोले सम्बन्धविच्छेदपछि तत्काल सम्पत्ति पाउने गरी अदालतले फैसला गर्नुपर्ने अधिवक्ता पदमप्रसाद काफ्लेको भनाइ छ।

———————————————————————————————————————————————–

‘बालबच्चाको बिचल्ली’

एकल परिवारमा सुख–चैन हराउँदै बालबालिकामा बाबुआमा छुट्टिएको गहिरो असर पर्छ। हामीकहाँ ‘डिभोर्स’ भएपछि ‘तेरी आमा त्यस्ती, तेरो बाउ त्यस्तो’ भनेर लाञ्छना लगाउने चलन छ। यस्तो वातावरणमा हुर्केका बच्चाहरू एकलकाँटे, जोसित पनि झगडा गर्न तयार हुने विद्रोही स्वभावका, कसैलाई विश्वास नगर्ने र सम्बन्ध फेरिरहने हुन सक्छन्। उनीहरूको पनि वैवाहिक जीवन संकटग्रस्त हुन सक्छ।

नेपालमा आर्थिक सबलीकरणका कारण शिक्षित महिलाहरूमा एक्लै बस्न सक्ने ‘इगो’ बढ्दो छ। सबलीकरण आफैंमा राम्रो हो, तर यसले वैवाहिक सम्बन्धलाई लगातार कमजोर बनाइरहेको देखिन्छ। दम्पतीहरूको सम्बन्ध हल गर्न सकिने पारिवारिक समस्या हो। त्यसलाई विच्छेदै गर्नु मनको शान्ति मात्र हो। सम्बन्धविच्छेद वा अर्को बिहेबाट विरलै शान्ति हुन्छ। छोराछोरीको बाल्यकाल र किशोरकाल भने निश्चित रूपमै बर्बाद हुन्छ।

बढ्दो सम्बन्धविच्छेदमा पुरुष मानसिकता पनि कम जिम्मेवार छैन। प्रेमिकाको लागि मरिमेट्ने पुरुष विवाहपछि एकाएक कडा व्यवहार देखाउन थाल्छ, जसले महिलामा वैवाहिक सम्बन्धप्रति वितृष्णा पैदा हुन थाल्छ। विवाहित भए पनि अन्य महिलासँग हेलमेल गर्न नछोड्ने पुरुषहरू पत्नीलाई भने विवाहले त्यता लान नदिने सोच्छन्। आफ्ना कुराहरू गोप्य राख्ने पतिको प्रवृत्तिले पत्नीलाई शंकालु बनाउँछ। केही गरी यस्तो गोप्यताकै कारण झगडा हुँदा पतिहरू समाधानको साटो अरू विकल्प खोज्न थाल्छन्, जसले द्वन्द्व चर्काउँछ।

विवाह नै यौन सम्बन्धको ‘लाइसेन्स’ भएको समाजमा कतिपय पति–पत्नीले बालबच्चालाई बढी ध्यान दिंदा आफूलाई बेवास्ता गरेको ठान्छन्। पत्नीहरूमा पतिमा जस्तो यौनको लागि समय हुँदैन, भए पनि बच्चाको कारणले सहज हुँदैन। यसले सम्बन्धमा चिसोपन बढाउँछ, पतिहरूमा पत्नीलाई जतिखेर पनि ‘उपभोग’ गर्न खोज्ने प्रवृत्ति त छँदैछ। यसरी पत्नीहरू आफूलाई पीडित ठान्न थाल्छन्। जापान लगायतका विकसित देशहरूमा यस्ता जोडीहरूलाई ‘काउन्सिलिङ’ को लागि चार–पाँच वर्ष धैर्य गर्न भनिन्छ। त्यो अवधिमा एकअर्काप्रति राम्रो समझदारी कायम हुने धेरै सम्भावना हुन्छ। त्यसमाथि बच्चाको आगमन भए परिवारलाई जोड्ने काम गर्छ।

वैवाहिक सम्बन्धमा महिलाहरू भावनात्मक र पुरुषहरू शारीरिक रूपमा बढी आकर्षित हुने भएकोले सम्बन्ध टुट्दा महिलाहरू धेरै पीडित हुन्छन्। बालबच्चाको बिजोग त छँदैछ, महिलाले दोस्रो विवाह गरे पनि सम्बन्ध राम्रो बनाउन समय लाग्छ र विनाकारण टाउको, ढाड दुख्ने लगायतका थुप्रै मनोदैहिक समस्या देखिन सक्छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...