थप समाचारशनिबार, माघ २४, २०७१

काठमाडौंका रैथाने तिरहुतिया

हिमालखबर

प्रज्ज्वल चापागाई

साडे पाँचसय वर्षअगाडि काठमाडौं आएका ५२ खलक तिरहुतिया ब्राह्मणहरुका सन्तानमध्ये मरुटोलका रामचन्द्र र नर्मदा झाका छोराछोरी बायाँबाट क्रमशः अभिषेक, भूमिका, आँचल र जुली । नर्मदाको माइती साँढा–५ महोत्तरी हो । तस्वीर: मिनरत्न बज्राचार्या

साडे पाँचसय वर्षअगाडि काठमाडौं आएका ५२ खलक तिरहुतिया ब्राह्मणहरुका सन्तानमध्ये मरुटोलका रामचन्द्र र नर्मदा झाका छोराछोरी बायाँबाट क्रमशः अभिषेक, भूमिका, आँचल र जुली । नर्मदाको माइती साँढा–५ महोत्तरी हो । तस्वीर: मिनरत्न बज्राचार्या

भक्तपुर यालाक्षेंको वालाखु टोलका भाष्करबोध मिश्र (८९) परिवारलाई नेपाली भन्दा नेवारी भाषा सहज लाग्छ। उनीहरूको त र ट को उच्चारण ठीक उल्टो हुन्छ। लवज, भेषभुषा र चाडबाडको हिसाबले पनि हुबहु रैथाने नेवार नै लाग्छ, मिश्र परिवार। मिश्र भन्छन्, “हाम्रो संस्कृति उपत्यकाको तौरतरिकासँग एकाकार भएको युगौँयुग बितिसक्यो।”

हुन पनि, राजा यक्ष मल्लले दरबार हातामा चतुरमुखी यक्षेश्वर महादेव (पशुपति) स्थापना गरेसँगै भक्तपुरमा तिरहुतिया बाहुनहरूको ससम्मान उपस्थिति शुरु भएको थियो। भाष्करबोध मिश्र र उनका भाइ पूर्व न्यायाधीश महेश्वर (७०) का परिवार यक्ष मल्लले यक्षेश्वरको पुजारी बनाएका सदन झाका सन्तान हुन्।

यलाक्षेंकै अर्का मैथिल पण्डित तीर्थराम झा त्रिभुवन विश्व विद्यालयमा नेवारी भाषाका प्राध्यापक थिए। हाल क्यानाडामा बसोबास गर्दै आएका झाका छोरा रामलोचन त्रिचन्द्र क्याम्पसमा नेवारी पढाइरहेका छन्।

1-15 push cover.inddउपत्यकामा जुजुबाजे*
पूजा अनुष्ठानको ऐतिहासिक पेशा र परिचयसँगै गाँसिएका मैथिल ब्राह्मणहरू काठमाडौँ उपत्यकामा जुजुबाजे भनेर चिनिन्छन्। ललितपुरको वालीफल, अथवहाः, वखुवहाः, यगुंवहाः, टौवहाः, कोवहाः, तिछुगल्ली, महापाल, गुसिंगाल, कोपुण्डोल र देवनगर; भक्तपुरको ईताछे, यलाक्षें, तपलाछी, नासमना, मंगलाछे, गोल्मढी र वालाखुं तथा काठमाडौँको ढोकाटोल, मखन, नरदेवी, मरुहिटी, यटखा, प्याफल, न्ह्योखा, भीमसेनस्थान, जैसिदेवल, चिकंमुगल, अट्कोनारायणस्थान र लगनटोल जस्ता पुराना वस्तीहरूमा उनीहरूको बसोबास छ।

धेरैजसो नेवारीमा बोल्ने उनीहरू मैथिल भाषा जान्दैनन्। तैपनि धेरैले आफ्नो वंश परम्परा जोगाउन तराईका रौतहट, पर्सा, जनकपुर लगायतका स्थानका सजातीय कुटुम्वसँग बिहावारी गर्ने गरेका छन्।

तिरहुति ब्राह्मण समाजका सचिव सिर्जन झाका अनुसार, काठमाडौँमा ७५, ललितपुरमा २६ र भक्तपुरमा २० तिरहुतिया-मैथिल ब्राह्मण परिवार छन् भने अरू धेरै स्थानीय समाजमा बेग्लाबेग्लै परिचयमा घुलमिल भइसकेका छन्।

करिब ७०० वर्षअघि सिम्रौनगढको पतनसँगै काठमाडौँ खाल्डोमा पसेका तिरहुतिया (मैथिल) हरू यति लामो सहवासको परिणाम आज भेषभुषा, रहन-सहन र लवज सबै हिसाबले रैथाने बनेका मात्र छैनन्, मिश्रित नेपाली समाजको एउटा दह्रो परिचायक बन्न पुगेका छन्।

सन् ६३४ तिर नेपाल आएका चिनियाँ यात्री युवान चाङ्ग (ह्वेन साङ्ग)ले नेपाल उपत्यकामा हिन्दु र बौद्ध दुवै धर्म मान्ने समुदाय बस्छन् भनेर लेखेका छन्। कुरुक्षेत्रको लडाईंमा किरात र खसले कौरव पक्षबाट लडेको महाभारत मा उल्लेख छ, जसले खस र किरातको सहयात्रा प्राग्वैदिक कालदेखिको हो भन्ने देखाउँछ।

नेपालमा परापूर्वकालदेखि विभिन्न धार्मिक र जातीय समुदायको मिश्रित बसोबासका यस्ता दृष्टान्त धेरै छन्। मल्लकालमा भएको तिरहुतियाहरूको प्रवेशले यो परम्परालाई अझ् समृद्ध बनायो।

अभयमल्लको पालामा भित्र्याइएका तान्त्रिक पुर्खाका सन्तती

अभयमल्लको पालामा भित्र्याइएका तान्त्रिक पुर्खाका सन्तती

मिश्रित बसोबास नेपाली समाजको आधारशिला नै हो। ब्राह्मण लगायत सबै जातजातिले पूजा गर्ने, टीका थाप्ने र प्रसाद ग्रहण गर्ने मनकामना मन्दिरका मगर, मैनामैनीका राई, ठाकुरद्वाराका थारू तथा काठमाडौँ उपत्यकाका मठमन्दिरका मैथिल ब्राह्मण र नेवार पुजारी मिश्रित बसोबासकै मियो हुन्। नेपालको इतिहासमा गम्भीर जातीय द्वन्द्व वा युद्ध भएको पनि पाईंदैन। मिश्रित समाजको यस्तो दृष्टान्त विश्वमा विरलै पाइन्छ।

उपत्यकामा मैथिल ब्राह्मणहरूलाई पुजारी बनाउने चलन वि.सं. १९७७ सम्म चलेको गुठी संस्थानको लगतले देखाउँछ। विष्युलाल झा १९७७ मा भक्तपुरको सूर्यविनायक मन्दिरमा पुजारी भएका थिए। २०५७ सालसम्म विष्युलालकै सन्तान गजेन्द्रप्रसादले पुर्खाको बिँडो थामेकोमा उनका छोराहरूले अरू नै पेशा रोजेपछि सिपाडोलका माधवप्रसाद चालिसे नियुक्त भए।

सूर्यविनायकमा वि.सं.१८५० मा भवलाल झा पुजारी नियुक्त भएका थिए। यसैगरी, काठमाडौँको मखनटोलस्थित जगन्नाथजी मन्दिरमा वि.सं. १८६५ मा विष्णुदास, ध्रुवदास र गोविन्ददास पुजारी भए। असनको अन्नपूर्ण मन्दिरमा २०३२ सालमा हुतराज झाको मृत्युपछि मैथिल ब्राह्मणहरूले साप्ताहिक नित्य पूजा गर्ने परम्परा नै टुट्यो।

राजा योग नरेन्द्रदेव मल्लकी छोरी योगमतीले पाटनमा बनाएको च्यासिँदेवल मन्दिर, हरिशङ्कर मन्दिर र ज्वालानरसिंह मन्दिरका पुजारी गुरुदत्त मिश्र (७१) आफ्नो पुर्ख्यौली पेशालाई निरन्तरता दिइरहेका छन्। यसबापत गुठी संस्थानबाट दैनिक पुजारी खान्की डेढ रुपैयाँ र नित्य पूजाका लागि मासिक रु.१०० मात्र पाउने उनी नपुग खर्च घरबाटै बेहोरिरहेका छन्।

तर आफ्नो शेषपछि यो परम्परा कसरी चल्ला भन्नेमा उनी खुबै चिन्तित छन्। तिरहुतिया ब्राह्मण सेवा समितिका अध्यक्ष समेत रहेका मिश्र भन्छन्, “छोराहरूको रुचि देख्दिनँ, अब यो संस्कृति कसरी जोगिएला?”

नेपाल मैथिल ब्राह्मण समाजका सल्लाहकार रामलोचन झा राजा जयस्थिति मल्लले मैथिल ब्राह्मणहरूकै सहयोगमा थिति बसाएको बताउँछन्। उनको भनाइमा, जात र वर्ण अनुसार कार्य विभाजन भएपछि पेशा रोज्न लगाउँदा आफ्ना पुर्खाले नित्यपूजा छानेका हुन्।

1-15 push cover.inddतिरहुतिया ब्राह्मण सेवा समितिका अध्यक्ष गुरुदत्त मिश्रका अनुसार, जयस्थिति मल्लले विज्ञका रूपमा कीर्तिनाथ उपाध्याय, रघुनाथ झा, श्रीनाथ भट्ट, महिनाथ भट्ट र रामनाथ झालाई झिकाई ६४ जात, १८ वर्ण तय गरेर जातपात, घरबार, पेशा, मृत्युसंस्कार निर्धारण गरेका थिए।

इतिहासको लामो कालखण्डमा मैथिल ब्राह्मणका सन्तान काठमाडौँ उपत्यकाको रैथाने संस्कृतिसँग यति एकाकार भइसके; कृष्णजन्माष्टमी, ब्रतसावित्री, रामनवमी, सीता जयन्ती, मातातीर्थ औंशी, कुशेऔंशी, इन्द्रजात्रा, पाँचह्रे, सितिनख, दशैँ, तिहार तिनको आफ्नै चाड भइसक्यो। उपत्यकाका पुराना मैथिल ब्राह्मणहरूको सांस्कृतिक अभ्यासलाई हेर्दा उनीहरूले मिथिला छोड्दा छठ पर्व शुरु भई नसकेको अनुमान लगाउन सकिन्छ।

काठमाडौँ प्रवेश
सिम्रौनगढलाई राजधानी बनाएर तिरहुत (मिथिला)मा राज्य गरिरहेका अन्तिम कर्नाटवंशीय (दक्षिण भारतबाट आएका) राजा हरिसिंहदेवले वि.सं. १३८१ मा बङ्गाल विद्रोह दबाएर फर्केका दिल्लीका सुल्तान गयासुद्दीन तुगलकको फौजलाई आक्रमण गर्न आएको भन्ठानेर हमला गरे। तर, गयासुद्दीनको विशाल फौजका अगाडि तिरहुति सैनिकको केही लागेन।

रानी देवलदेवी, छोरा जगतसिंह र केही भारदारका साथ सुरक्षित आश्रयस्थल खोज्दै उत्तरतिर भागेका राजा हरिसिंहदेवको वि.सं. १३८२ मा दोलखाको तीनपाटनमा देहान्त भयो। त्यतिबेला नेपाल खाल्डोमा अरि मल्ल राजा र रुद्र मल्ल उनका शक्तिशाली प्रशासक थिए।

वि.सं. १३८२ तिर ३० वर्षमै अधिनायक रुद्र मल्लको निधन भएपछि उनकी एक्ली नाबालिका राजउत्तराधिकारी छोरी नायकदेवीको लालनपालनको अवसर तिनै तिरहुते राजा हरिसिंहदेवकी विधवा देवलदेवीले पाइन्।

यसबीचमा, राजा हरिसिंहदेवका मन्त्री चण्डेश्वर ठाकुरले राजग्राम (दोलखा आसपासको क्षेत्र) कब्जा गरेको इतिहास शिरोमणि बाबुराम आचार्यको नेपालको सङ्क्षिप्त वृत्तान्त मा उल्लेख छ। नेपालमा चण्डी पाठ गर्ने परम्पराको थालनी तिनै चन्द्रेश्वरले गरेको इतिहासकार श्रीकृष्ण आचार्यको भनाइ छ। यस आधारमा गयासुद्दीनबाट पराजित तिरहुतिहरू ठूलो सङ्ख्यामा नेपाल पसेको अनुमान गर्न सकिन्छ।

मध्यकालअघि र पछि पनि नेपालका दरबारमा धर्म, दर्शन, संस्कृति र राजनीतिशास्त्रको विद्वान्का रूपमा तिरहुतिया र मैथिल ब्राह्मणहरूले सम्मानित स्थान पाएको देखिन्छ। इतिहासकार डा. रमेश ढुङ्गेलका अनुसार, तिरहुत वा मैथिल ब्राह्मणहरू दुई चरणमा काठमाडौँ उपत्यका प्रवेश गरेका हुन्― सिम्रौनगढको पतनपछि र कान्तवतीसँग रणबहादुर शाहको विवाहपछि।

1-15 push cover.inddशासनमा रजगज
देवलदेवीले रुद्र मल्लकी छोरी नायकदेवीको विवाह आफ्नै छोरा जगतसिंहसँग गराइन्। वि.सं. १४०३ मा सुत्केरी भएको दशै दिनमा २० वर्षकी नायकदेवीको निधन भएपछि नातिनीलाई पनि देवलदेवीले नै हुर्काइन्।

डा. ढुङ्गेलका अनुसार, उनले वि.सं. १४११ मा घरपट्टिको मावलीका एकजना क्षेत्रीय कुमार झिकाई रुद्र मल्लको कुल-गोत्र धारण गराएर डोलाजी विधिअनुसार आठ वर्षकी नातिनी राजल्लदेवीको विवाह गराइदिइन्, जो पछि स्थिति वा जयस्थिति मल्लको नामले प्रसिद्ध भए। डा. ढुङ्गेल भन्छन्, “त्यसबेला हरिसिंहदेवकी विधवा देवलदेवीको निर्देशनमा काठमाडौँ उपत्यकाको राज्य मात्र चलेन, मल्लहरू आफैँ पनि तिरहुतिया हुन पुगे।”

देवलदेवीपछि विभिन्न कालखण्डमा नेपालका दरबारमा कर्नाटवंशकी राजमती र तिरहुत सुन्दरी कान्तवती सर्वेसर्वा बनेको इतिहास छ। राजा प्रताप मल्लले वि.सं. १६९८ मा कर्नाटवंशकी दुई कन्यासँग एकैपटक विवाह गरेका थिए। तीमध्ये कान्छी राजमती निकै शक्तिशाली बनिन्। तन्त्रमा ठूलो विश्वास गर्ने प्रताप मल्लको दरबारमा दक्षिण भारतका तान्त्रिकद्वय ज्ञानानन्द र लम्बकर्ण भट्टको ठूलो प्रभाव थियो।

मोहनप्रसाद खनालको चाँगुनारायणको ऐतिहासिक सामग्री को सुवर्णपत्रमा आधारित जानकारी अनुसार, जयस्थिति मल्लकै पालामा पनि शिवदास, विष्णुदास र गङ्गादास नामका मैथिल ब्राह्मणहरूको बोलवाला थियो। शिवदास राजगुरु थिए भने विष्णुदास र गङ्गादासले चाँगुनारायणमा यज्ञ गरेर ताम्रपत्र चढाएका थिए। सुवर्णपत्रमा अमात्य सामन्त (प्रधानमन्त्री) जयतब्रह्म र योद्धापति (सेनापति) जसरामको पनि वर्णन छ।

वि.सं. १७७० ताका कान्तिपुर (काठमाडौं)मा झगल ठाकुर नामका अर्का एक महत्वाकाङ्क्षी मैथिल ब्राह्मण शक्तिशाली बने। राजकुलका कुनै एक ल्याइतेतर्फका सन्तान ठानिएका यिनी राजमाता भुवनलक्ष्मीलाई प्रभावमा पारेर वंशीधर मास्केलाई पदच्युत गराई आफैँ चौतरिया (प्रधानमन्त्री) बनेका थिए।

राजा रणबहादुर शाहले तिरहुत नवयौवना विधवा कान्तवतीसँग भावी सन्तानलाई आफ्नो उत्तराधिकारी बनाउने शर्तमा विवाह गरेका थिए। र, शर्त अनुसार उनका छोरा गीर्वाणयुद्ध राजा भए पनि।

बाबुराम आचार्यको पुस्तक अब यस्तो कहिल्यै नहोस् का अनुसार, रणबहादुर शाह कान्तवतीप्रति यति लालायित रहन्थे कि उनको इच्छा भुईंमा खस्न नपाई पूरा गर्न लागिपर्थे।

इतिहासका यी प्रामाणिक तथ्यहरूले कुनै बेला नेपालको राजदरबारमा मैथिल ब्राह्मणहरूको हालीमुहाली देखाउँछ।

ललितपुर तुल्हने टोलका नारायणबहादुर श्रेष्ठकी स्व आमाको स्मृतिमा झण्डै ६० वर्षअयिघ गाइजात्राका बेला टोल टोलमा रामलिला प्रस्तुत गर्ने क्रममा गुरुदत्त मिश्रका पिता रातो घेरामा को टोली । तस्वीर सौजन्यः मिश्र परिवार

ललितपुर तुल्हने टोलका नारायणबहादुर श्रेष्ठकी स्व आमाको स्मृतिमा झण्डै ६० वर्षअयिघ गाइजात्राका बेला टोल टोलमा रामलिला प्रस्तुत गर्ने क्रममा गुरुदत्त मिश्रका पिता रातो घेरामा को टोली । तस्वीर सौजन्यः मिश्र परिवार

भाष्करबोध मिश्रका अनुसार, उपत्यकामा मैथिल ब्राह्मणहरूले दुई पटक मात्र समस्या बेहोर्नु पर्योर― पृथ्वीनारायण शाहको काठमाडौँ चढाइपछि र जङ्गबहादुर राणा प्रधानमन्त्री भएपछि। “जङ्गबहादुरको पालामा अत्याचार भयो भन्दै ३५-४० घर मैथिल ब्राह्मणहरू काठमाडौँबाट बसाइँ नै गएको भन्ने भनाइ छ”, मिश्र भन्छन्, “यद्यपि, यसलाई पुष्टि गर्ने लिखत भेटिँदैन।”

तर, जङ्गबहादुरले लेसपति र लोकपति झा नामका मैथिल ब्राह्मणकै सहयोगमा मुलुकी ऐन बनाएर वि.सं. १९१० मा लागू गरेको डा. ढुङ्गेल बताउँछन्। उनी भन्छन्, “जङ्गबहादुरले लेसपति र लोकपति झालाई पुरस्कारस्वरुप सप्तरीमा ५-५ सय विघा जग्गा दिएका थिए।”

पृथ्वीनारायणले वि.सं. १८२५ मा काठमाडौँ विजय गरेपछि त्यसअघि मल्ल राजाका सेवक रहेका मैथिल ब्राह्मणहरू उपेक्षाको सिकार भएको भन्ने पनि छ। यद्यपि ब्राह्मण, त्यसमाथि पनि तन्त्र प्रवीण भएकाले उनीहरूलाई छोए अनिष्ट आइलाग्छ भन्ने डरले समय दिएर उपत्यका छोड्न उर्दी जारी गरिएको थियो। काठमाडौँ मरुहिटीका दिवाकरलाल झा (६८) भन्छन्, “तर उर्दी अनुसार तिरहुते ब्राह्मणहरूले उपत्यका छोड्न थालेपछि हनुमानढोका दरबारस्थित जाम्बुवान (कालो हनुमान)को मूर्तिमा पसिना आउन थाल्यो र फेरि सबैलाई स-सम्मान उपत्यका फिर्ता बोलाइयो भन्ने भनाइ छ।”

अर्को एक मतअनुसार, काठमाडौं विजयपछि युवराज प्रतापसिंह शाहलाई बसन्तपुर दरबारमा छाडेर लामो समय नुवाकोट बसेका पृथ्वीनारायणले झा र मिश्रहरूलाई पनि आफूसँगै लगेर मैथिलटारमा राखेको विश्वास छ। यद्यपि, नुवाकोट गोर्खाको अधीनमा आउनुअघि नै मैथिलटारमा मैथिल ब्राह्मणहरू पुगेको अर्को मत पनि छ (हे. बक्स)।

त्यसबाहेक, जगदम्बा प्रकाशनद्वारा २०२५ सालमा प्रकाशित पृथ्वीनारायण शाहको उपदेश पुस्तकको पृष्ठ ८९३ मा उल्लेख …राजा पृथ्वीनारायण शाहबाट तेह्रौंतिया ब्राह्मणहरूको धन जीव रक्षा गरिदिया भन्ने वाक्यांशले पनि पृथ्वीनारायणले तिरहुतियाहरूलाई दुःख दिएको तर्कसँग राय बझाउँछ।

अलौ पर्वमा सुब्बा कुलानन्द झाका छोरा हीरालाल (त्यसबेला काजी)ले बहादुर शाहलाई सहयोग गरेको कारण पनि कैयन तिरहुतिया ब्राह्मण परिवार काठमाडौँबाट पलायन भएको दाबी गर्छन्, पण्डित गुरुदत्त मिश्र। उनका अनुसार, त्यसबेला यट्खाका तिरहुतियाहरू रणबहादुर शाहले कान्तवतीको माइती खलकलाई दिएको वीरगञ्जको जग्गामा बस्न गएका थिए।

इतिहासकार दिनेशराज पन्तको गोर्खाको इतिहास दोस्रो भाग का अनुसार, गोर्खा राज्यमा काठमाडौँ विजयअघि नै मैथिल ब्राह्मणहरूको उपस्थिति देखिन्छ, जहाँ माधव मिश्रले वि.सं. १६७९ मै राम शाहका लागि राघवपाण्डीय सारेर दिएका थिए।

मेघदूत पनि राम शाहकै लागि सारिएको थियो। काशीनाथ नामका अर्का तिरहुतिया पण्डितले डम्बर शाहका लागि वि.सं. १६९२ मा कालिका पूजाविधि सारिदिएका थिए, जसमा उनले आफूलाई सामवेदसुपाटिना अर्थात् सामवेदी भनेका छन्।

यसैगरी तत्कालीन भक्तपुरका राजा भूपतीन्द्र मल्लले गोरखाका राजा नरभूपाल शाहलाई लेखेको एक पत्रबाट पनि तत्कालीन नेपालमा कायम मैथिल प्रभाव आँक्न सकिन्छ।

गोरखाको इतिहास-३, पृष्ठ ७३९ मा उल्लेख सो पत्रमा लेखिएको छ- …स्वस्ति श्री गिरिराजचक्र-चूडामणिनरनारायणत्यादिविविधविरुवलिवि-राजमानमानोन्नतमहाराजधिराजश्रीश्रीश्रीमन्न नरभुपालसाहदेवानां सदा समरविजयीनाम् इत प्रेमालिंगनपूर्वक-पत्रमिदं. इहाँ कुशल. ताहाँ कुशल चाहिये. येहिते परमानंद होइ. आगे इहाँक समाचार निक बाट. उप्रांत गोर्षा मकवानपुर भादगाउँ इ तिन राजाक करनि मरनि कैलरहिं. सेहि धरान इहाँ बाट्. ताहाँ पुनि सेहि मनमहाँ राषैके चाहि…

यसैगरी, राजा नरभूपाल शाहका पालाको आम्दानी-खर्चको कागतमा ईश्वर तिवारीको नाम छ। राजा गीर्वाणयुद्धले वि.संं. १८७१ मा विश्वनिधि तिवारी र शिवनिधि तिवारीलाई लेखेको पत्रमा तिमीहरूका पुर्खालाई राम शाहका पालादेखि सामवेदी ब्राह्मण जानी उपल्लो कोटमा व्यवस्था गरिदिइएको थियो भनेका छन्।

1-15 push cover.inddसांस्कृतिक प्रभाव
इतिहासकार श्रीकृष्ण आचार्यका अनुसार, मध्यकालीन नेपालले तिरहुत राज्यको ठूलो सांस्कृतिक प्रभाव ग्रहण गरेको थियो भने तिरहुतले इण्डोगन्गेटिक भारतको। इतिहासकार डा. ढुङ्गेल सिम्रौनगढवासीको आउ-जाउ र बिहेवारी इण्डोगन्गेटिक सभ्यता हुर्केको भारतसित हुने गरेको बताउँछन्।

१० दिनसम्म दशैँ मान्ने चलन पश्चिम बङ्गालबाट तिरहुतहुँदै नेपाल आयो। तन्त्र-मन्त्र र शक्तिपीठको पूजा-पाठको चलन पनि तिरहुतबाटै आयो। लिच्छविकालमा तन्त्र-मन्त्र र देवीहरूको पूजा गर्ने चलन थिएन।

इतिहासकार डा. रमेश ढुङ्गेल त तिरहुतले नेपाल अर्थात् काठमाडौँलाई जनता मात्र होइन, देवदेवी समेत दिएको बताउँछन्। जस्तो, तलुजा (तलेजु) भवानी र गढीमाई। सिम्रौनगढ छोडेर उत्तर पस्ने क्रममा जङ्गलमा भोकाएर मर्नुभन्दा अर्ना मारेर खान थालेका तिरहुतियाले नै काठमाडौँ उपत्यकालाई राँगाको मासुको संस्कृति दिएको हुनसक्ने डा. ढुङ्गेल बताउँछन्।

उनी भन्छन्, “समयक्रममा बहुसङ्ख्यक तिरहुतियाहरू गुरुवाचार्य, बज्राचार्य, मिश्र, झा, राजवंशी, रघुवंशी, देउभाजु, आचाजु, गुभाजु, चतुर्वेदी, द्विवेदीका रूपमा नेपाली समाजमा एकाकार भए।”

इतिहासकार दिनेशराज पन्त नेपालमा नाटक, भजन र गीत मात्र हैन विद्याको किरण पनि मैथिलबाटै आएको बताउँछन्। समग्रमा मैथिलहरूले रैथानेसँग घुलमिल भएर काठमाडौँ उपत्यकाको समृृद्धिमा योगदान गरे। नेवार जीवनशैलीले मैथिलहरूको प्रभाव सकारेर सभ्यतामा परिवर्तन आयो।

नेपाल संवत् ७८७ (वि.सं. १७२३)मा भक्तपुर खौमाटोलको भवानीशङ्कर मन्दिरमा जगतप्रकाश मल्लले राखेका साढे ३४ अङ्गुल लम्बाइ र १ हात चौडाइको अभिलेखमा मैथिली भाषाको प्रयोग भएको छः

करे नहि तन तेज हरहि सिनेह।।
गाढ आकमपकर शंकर भवानी, प्रेम कपास वाटिरा खर सयानि।।
परकाश भ, न चाँदशेखरस भाव अन्नपूरना तिरिम दारग पाव।।।।
ॐ अद्य ब्रह्मणो द्वितीयपराद्ध, श्र्वेतवाराह…।

संस्कृतिविद् गोविन्द टण्डनका अनुसार, वि.सं. १८९१ मा सुब्वा कुलानन्द झाले पशुपतिमा तीनवटा चाँदीका ढोका चढाउनुका साथै मन्दिरको पश्चिम प्राङ्गणमा सत्तल बनाएका थिए। उनका छोरा हीरालालले सुब्बा कुलानन्द झा सदावर्त गुठी स्थापना गरेका थिए, जो नेपालमा ठेक्कापट्टा व्यवसायको थालनी गर्ने मानिन्छन्।

पण्डित गुरुदत्त मिश्रका अनुसार, सुब्बा कुलानन्द झाले तीन वटा जिल्लामा रहेको आफ्नो पाँच वटा मौजा पनि गुठीलाई दान गरेका थिए। “अर्का मैथिल ब्राह्मण नरसिंह ठाकुरले स्थापना गरेको गुह्येश्वरी मन्दिर प्रताप मल्लले निर्माण गरेका थिए”, पण्डित मिश्र भन्छन्, “वि.सं. १९९६ देखि काठमाडौँका तिरहुतिया ब्राह्मणले गुह्येश्वरीमा संस्थागत रूपमा जानकीको पूजा गर्दै आएका छन्।”

उनका अनुसार, श्रीनिवास मल्लले पाटन मङ्गलबजारको विश्वनाथ मन्दिर भैया झाको सम्झ्नामा बनाएका हुन्। मन्दिर बनेदेखि मिश्रहरूले पुजारीको जिम्मेवारी पूरा गर्दै आएका छन्। विश्वनाथमा अहिले मदनमोहन मिश्र (८०) पुजारी छन्।

तत्कालीन दरबारहरूमा जे-जस्तो स्थान भए पनि नेपाली समाजमा तिरहुतियाहरूको महत्वपूर्ण योगदान मिश्रित बसोबासको अनुपम दृष्टान्त निर्माण गर्नु हो, जुन सामुदायिक सद्भाव, सहिष्णुता, संयम र पारस्परिक सम्मानमा आधारित छ।

________________________________________

-दिवाकरलाल झा

तिरहुतिया ब्राह्मणहरूले काठमाडौँ उपत्यका र समग्रमा मुलुकको धार्मिक, सांस्कृतिक क्षेत्रमा ठूलो योगदान गरेका छन्। भौगोलिक र प्राकृतिक विविधतायुक्त नेपालको सामाजिक विविधतामा करिब ७०० वर्ष पुरानो तिरहुतिया रंग आफैँमा दिगोपनको प्रमाण भएको नेपाल सदियौं पुरानो मिश्रित समाज भएको देश हो।

आपसी प्रेम र सद्भाव मिश्रित बसोबासका आधार हुन्। मरुहिटीमा हामी झा, मिश्र, प्रधान लगायतका नेवारहरूसँग सदियौंदेखि मिलेर बसेका छौँ। मिश्रित बसोबास नै नेपाली समाजको सुन्दर पक्ष र शक्ति हो। जातीय संघीयताले यस्तो शक्तिलाई कमजोर बनाउन सक्छ। किनभने, एकल जातीयताको कुराले एकापसको प्रेम र सम्मान बढाउँदैन।

राजा हरिसिंहदेवको साथ लागेर आएका सबै खालका जातजाति काठमाडौँ उपत्यकामा छन्। उनीहरूले जातीय विविधता र मिश्रित बसोबास बढाएका छन्। महापाल टोलमा मैथिल, राजोपाध्याय, जोशी, श्रेष्ठ, प्रधान, बज्राचार्य, शाक्य, ताम्राकार, राजकर्णिकार, महर्जन र मानन्धरहरू मिलेर बसेका छौँ। यसले समाजलाई सद्भावपूर्ण बनाएको छ। समयक्रममा अहिले जातीय संघीयताको कुरा आएको छ। तर, यो दिगो हुन्छ जस्तो लाग्दैन।

—————————————————————————————————–

-निर्मलकुमार झा र आशा झा

नेपाली समाजको सुन्दर पक्ष मिश्रित बसोबासले नै आफूहरूलाई भित्री पाटनमा समेत रैथाने बन्न मद्दत गरेको बताउने ललितपुर यमुवहाः का निर्मलकुमार झाले संस्कृति मर्न नदिन अरू कतिपय तिरहुतिया परिवार झैं तराईको मैथिल कन्यासँग लगनगाँठो कसेका छन्। महोत्तरीको साँढा-५ बाट १८ वर्षअघि विवाह गरेर पाटन आउँदा शुरुमा यहाँको परिवेश निकै असहज भयो, आशाका लागि। नेवारी संस्कृतिमा भिज्न परेको गाह्रो बुझेर श्रीमानले सक्दो सहयोग गरे। र, बिहे भएको दुई वर्षमा नेवारी भाषा बोल्न जान्ने भइन् आशा। उनी भन्छिन्, “हामी घरमा नेवारी र नेपाली बोल्छौं। अहिले १५ वर्षको छोरालाई मैथिल भाषा सिकाउने प्रयास गरिरहेकी छु।

———————————————————————————————————

विश्वासिला तिरहुतिया
जगदम्बा प्रकाशनद्वारा २०२५ सालमा प्रकाशित पृथ्वीनारायण शाहको उपदेश मा छापिएको पृथ्वीनारायणको रणजीत मल्ल र जयप्रकाश मल्लसँग भेटघाट शीर्षकको आलेखमा आफूलाई गोली लागेपछि जयप्रकाश मल्लले तिरहुतेबाहेक अरूलाई विश्वास नगर्नू भन्ने आशय पाइन्छ।

तिरहुतियाप्रतिको विश्वास मात्र हैन, मैथिल भाषाको प्रभाव पनि भेटिनेे पुस्तकको पृष्ठ ८९३ मा यस्तो उल्लेख छ- तहाँपछि जयप्रकाश मल्लतिर नजर भई खोई मसित जोरुँला भन्याको किन भागी आयौ भनी हुकुम हुँदा राजा जयप्रकाश मल्लले क्या उत्तर दिया कि मेरा थरीहरू भैमालेहरू सबै मिली यहाँसम्म गराया। यिनीहरूको विश्वासमा पर्नु छैन, सबै नुन हरामी हुन्।

नूनको सोझोमा बस्न्यात फगत तेह्रौंत्य ब्राह्मण मात्र हुन्। अझ् पनि मसित २-४ जना छँदैछन् भनी थोरै वार्ता गरी क्या लाग्छ तिमीसित जोरुँला (लडौँला) भनी मैले पशुपतिनाथको भँडार भनिनँ। देवालयको गजुर पनि झिकी खर्च गर्याो। तैपनि मेरा मानिसले विष्ट खाइदिया र श्री ईश्वरको सुदृष्टि तिमीमाथि हुँदा तिम्रा हातमा पर्याँ। भनी जवाव दिया र राजा पृथ्वीनारायण शाहबाट तेह्रौंतिया ब्राह्मणहरूको धन जीव रक्षा गरिदिया।

अघिका थरीहरूले राजासँग चुक्ली गरी राख्याका हुनाले सर्वस्व लिई धपाउनाको हुकुम भयो। राजा जयप्रकाश मल्लले यथार्थ न्याय होस् भन्दा धन जीवको रक्षा गराया। तर थरीहरू टाढा भइगया। यति कुरो भएउप्रान्त महाराज पृथ्वीनारायण शाह भित्रिनुभयो।

________________________________________
नुवाकोटमा मैथिलटार

ठूलो अनिकाल लागेर जनता मर्न थालेपछि भक्तपुरका राजालाई सपनामा इष्टदेवताले मिथिला क्षेत्रका ब्राह्मण ल्याएर महायज्ञ गरे सहकाल हुने बताए छन्। सोही बमोजिम राजाले मिथिला क्षेत्रबाट झा र मिश्र पण्डित झुकाएर महायज्ञ लगाएपछि इष्टदेवताले भने जस्तै भयो।

राजाले खुसी भएर भक्तपुरमै बस्न आग्रह गर्दा ब्राह्मणहरूले आफूहरू माछा र आँप खाने ठाउँका भएकाले भक्तपुरको हावापानी सुहाउँदो नभएको बताए।

त्यसपछि उनीहरूका लागि माछा, आँप र सुहाउँदो हावापानी भएको ठाउँ खोज्दा नुवाकोटमा फेला पर्योत। यसरी त्यसबेला उपत्यकाका राजाहरूको अधीनमा रहेको नुवाकोटको एउटा गाउँमा मैथिलहरूको बसोबास शुरु भयो।

लोकोक्तिमा यस्तो भेटिने मैथिलटार अहिले विदुर नगरपालिका-३ र ४ मा पर्छ जहाँ मैथली भगवतीको मन्दिर अद्यापि छ। मन्दिर नजिकैको खोलाको नाम पनि मैथली खोला छ।

करिब तीन सय रोपनी क्षेत्रफलको मैथिलटारमा अहिले झा र मिश्रका सन्तानहरू छैनन्। नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारका क्याम्पस प्रमुख भरतराज अधिकारीका अनुसार, मैथिलटारका ब्राह्मणहरू पछि भक्तपुर नै बसाइँ सरे।

हाल अमेरिकामा रहेका निर्मलकुमार झा २०५५ सालमा पुर्ख्यौली थलो खोज्दै नुवाकोट आएको अधिकारी सम्झ्न्छन्। स्थानीय धननारायण चित्रकार नुवाकोटको मैथिलटारमा करिब चार सय वर्षअघि मैथिल ब्राह्मणहरू आएको बताउँछन्।

उनी भन्छन्, “झा र मिश्रहरूले छाडेको मैथिलटारको जमिन कमाउने विदुर र बट्टारका २५ जना किसानलाई सरकारले २०१९ सालमा मोहियानी मुआब्जा दिएर सेनाको ब्यारेक राखेको हो।”

अहिले यहाँ नेपाली सेनाको तालिम केन्द्र छ, जसलाई मैथली ब्यारेक भनिन्छ। मैथली भगवतीको मन्दिर पनि ब्यारेक भित्रै छ।

————————————————————————–

*जुजुबाज्या होइन झाबाज्या
हिमाल (१-१५ माघ २०६८) को आवरण नेपाल हाँकेका मैथिल पढेपछि कताकता मनमा लाग्यो लेखकले गहन विश्लेषण विना कलम चलाउनुभएको रहेछ। समाचारमा भने जसरी उपत्यकामा जुजु बाज्या भनेर मैथली ब्राह्मणलाई चिनिन्छ भन्नु सोह्रै आना गलत हो। उपत्यकामा जुुजु बाज्या भनेका राजोपाध्याय ब्राह्मण हुन्। मल्लकालमा राजोपाध्याय राजाको पुरोहित थिए। राजाको पुरोहित हुनाले रैथाने नेवारहरूले सम्मान दिएर जुजु बाज्या भनेका हुन्। जुजुको अर्थ राजा र बाज्याको अर्थ ब्राह्मण भन्ने बुझिन्छ। त्यसबेलादेखि हालसम्म पनि राजोपाध्यायलाई जुजुबाज्या भन्दै आइरहेका छन्। बरु मैथिल ब्राह्मणलाई झाबाज्या भनिन्छ।
मधर राजोपाध्याय
लगनदलाक्षी-२१, काठमाडौँ

हिमाल खबरपत्रिका १–१५ माघ, २०६८ बाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...