समाचारआइतबार, बैशाख ६, २०७२
सहमतिका लागि एकपटक एमाओवादीसँग छलफल गर्नेः कांग्रेस-एमाले
नेपाली कांग्रेस र नेकपा एमालेले संविधानका विवादित विषयमा सहमतिको प्रयासका लागि एमाओवादीसँग एकपटक छलफल गर्ने र सहमति नभएमा संविधानसभाको प्रक्रियालाई अघि बढाउने भएका छन् ।
दुई सत्तारुढ दलका शीर्ष नेताबीच ६ वैशाखमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सहमतिका लागि विपक्षी तीस दलीय मोर्चालाई अगुवाइ गरिरहेको एमाओवादीसँग वार्ता गर्ने समझदारी भएको एमालेका उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए ।
रावलले सकेसम्म सहमतिको प्रयास गर्ने र सहमति नभएमा अब संविधानसभाको बैठकलाई नियमित गरी प्रक्रिया अघि बढाइने बताए ।
छलफलमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष केपी ओलीसहितको नेता उपस्थित थियो ।
संविधानसभाको २९ माघको बैठकमा प्रस्तुत प्रश्नावली (प्रस्ताव) समितिले प्रस्तुत गरेको प्रतिवेदनलाई मस्यौदा समितिमा पठाउने प्रक्रियामा लैजाने वा सहमतिका आधारमा विवादित विषयलाई टुङ्गो लगाउने भन्नेबारेमा सहमतिमा पुग्न संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि शीर्ष नेतालाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् ।
संविधानसभाको बैठक आज अपरान्ह ३ बजे बस्दैछ ।
