समाचारआइतबार, बैशाख ६, २०७२
दाहाललाई चिनियाँ नेताको आग्रह, ‘छिटो संविधान बनाई आर्थिक विकासमा लाग्नुस’
संविधान लेखन प्रक्रियालाई तत्काल पूर्णता दिई मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन चीनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका सान्सी प्रान्तका सचिव झेयो झेन्याङले ६ चैतमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटी यस्तो आग्रह गरेका हुन् ।
भेटमा अध्यक्ष दाहालले प्रमुख राजनीतिक दलहरुबीच सहमतिका आधारमा संविधान जारी गर्न पहल भइरहेको र केही समयभित्रै सहमति हुने चिनियाँ पक्षलाई बताएको एमाओवादी स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा जानकारी दिए ।
चिनियाँ पक्षले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न अध्यक्ष दाहाललाई आग्रह गरेको सापकोटाले बताए ।
उक्त भेटमा दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पनि बताएका थिए ।
रासस
