समाचारबुधबार, बैशाख ९, २०७२

जाजरकोट महामारी: मृतकको संख्या २७ पुग्यो, औषधि अझै अपर्याप्त

हिमालखबर

राजेन्द्र कार्की, जाजरकोटबाट

तस्वीर: राजेन्द्र कार्की

तस्वीर: राजेन्द्र कार्की

स्वास्थ्यमन्त्रालयले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणमा आउन थालेको दाबी गरिरहेका बेला उपचार नपाएर थप तीन जनाको ज्यान गएको छ ।

स्थानिय बासिन्दाका अनुसार सक्ला–९ का ११ वर्षीय कुशबहादुर बुढा, पजारु–५ का ६६ वर्षीय परिमल सार्की र रामीडाँडा–७ का ६१ वर्षीय लालवीर नेपालीको ८ वैशाखमा मृत्यु भएको हो । योसँगै फ्लूको महामारीबाट जाजरकोटमा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

सक्ला र पजारुमा यसअघि गएको चिकित्सकको टोली फर्किएपछि त्यहाँ पुनः रोग बल्झिएको सक्ला गाविसका सचिव धनिराम कुमाईले बताए ।

चार दिन अघि मात्र भारतबाट फर्किएका कुशबहादुर ६ वैशाखबाट विरामी परेको र उनले समयमा उपचार नपाउँदा ज्यान गुमाएको सचिव कुमाईले बताए ।

सक्लामा विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. गुणनिधि शर्मा नेतृत्वको टोलीले केही दिन स्वास्थ्य शिविर सञ्चालन गरी फर्किएको थियो ।

त्यस्तै रामीडाँडा र पजारुमा पनि विरामी बढीरहेका छन् तर चिकित्सक सहितको विशेषज्ञ टोली नहुँदा विरामीले उपचार सेवा पाउन नसकेको पजारुका लालबहादुर महताराले बताए ।

औषधि पुगेन, विरामी थपिंदै

जिल्लाको ढिमेमा शिविरमा सञ्चालनका लागि पठाइएको चार कार्टुन औषधि पारासिटामोल र एमोक्सिलिन मात्र रहेको ढिमे स्वास्थ्य चौकीका अहेव दीपक वलीले बताए । डा. राजेन्द्र जिसीका अनुसार अहिले फैलिएको महामारी र शिविरमा आउने विरामीका लागि अत्यावश्यक ठानिएका ट्यामीफ्लु, एमोक्सकलाईविट, एजिप्सोमाईसिन, सेफेक्जिम र एसिलक जस्ता औषधि ढिमे पुगेको छैन ।

डा. जिसीले भने, “शिविरमा सबै किसिमका विरामी आउँछन्, औषधि अभावमा धेरै विरामीलाई रित्तै फर्कउनु परेको छ ।” उनले ८ वैशाखमामात्र २६५ विरामीको उपचार गरेको बताए ।

“विरामी आउने क्रम जारी छ तर, आवश्यक औषधि नै छैन,” डा. जिसीले गुनासो गरे ।

औषधीको अभाव भएको खवर प्राप्त भएपछि हेलिकोप्टरबाट पठाउने प्रयास गरिए पनि प्रतिकुल मौषमका कारण स्थलमार्गबाट पठाईएको प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले जानकारी दिए ।

त्यस्तै मंगलवार नै सक्लामा स्वास्थ्यकर्मी संघका डा.सुवास शर्मा र लिम्सामा नेपाल क्यान्सर फाउन्डेसनका डा. सरिता घिमिरे र डा. विवेक सिहलाई हेलिकोप्टरबाट पठाईएको छ भने मजकोटमा नर्भिक अस्पतालका डा.रवि शर्माको नेतृत्वको चिकित्सक टोली निजी खर्चमा सिम्रिक एयरको हेलिकोप्टर चार्टर गरी पुगेको प्रजिअ बस्नेतले बताए ।

त्यस्तै थप प्रभावित पजारु र गर्खाकोटमा औषधी र चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली लिएर गएको नेपाली सेनाको हेलिकोप्टर प्रतिकुल मौसमका कारण बस्न नसकेपछि फिर्ता भएको छ ।

सरकारी तथा निजी क्षेत्रबाट गरी मंगलवार सम्म जिल्लाभर १५ स्थानमा चिकित्सक सहितको शिविर संचालनमा आएको छ । तर, महामारी थप गाविसमा फैलिरहेको छ ।

अहिलेसम्म झण्डै १५ गाविसमा प्रकोप देखा परेको छ ।

जिल्लाका महामारी फैलिएका गाविसहरुमा अत्यान्तै विकट गाँउहरु छन् । सडक सुविधा नभएका ति गाउँका सबै विरामी हुँदा विरामीलाई शिविरसम्म आउन पनि धौधौ छ ।

प्रभावित गाउँहरुमै स्वास्थ्यकर्मी परिचालन र चेतनामुलक कार्यक्रम नगर्दासम्म प्रकोप नियन्त्रण बाहिरै रहने विरेन्द्रऐश्वर्य उच्च माविका प्राचार्य गोरख बहादुर सिहले बताए ।

“एउटा वडा बाट अर्को वडा जानै ५÷६ घण्टा हिड्नु पर्छ । एक गाँउमा रहेको स्वास्थ्य शिविर सम्म अर्को गाँउका विरामी पुग्नै गाह्रो छ । मान्छे मरेपछि मात्र सरकारले स्वास्थ्यकर्मी र औषधी पठाउँछ,” सिंहले भने ।

महामारी प्रभावित क्षेत्रमा झाडापखाला फैलन सक्ने संभावना

महामारी प्रभावित क्षेत्रमा झाडापखाला फैलन सक्ने तर्फ स्वास्थ्यकर्मीले सचेत गराएका छन् ।

टालेगाँउमा स्थापना गरिएको शिविरमा केही झाडापखालाका विरामी समेत दोखा परेका छन् ।

८ वैशाखमा २४६ जनाको उपचार भएकोमा ७१ जना फ्लुका विरामी आएको र २ जना विरामीको अवस्था चिन्ताजनक रहेको टालेगाँउ उपस्वास्थ्य चौकीका अहेव पेम्वादोर्जे लामाले बताए । उनका अनुसार ८ जना झाडापखालाका विरामी थिए ।

“मौसमी रुघाखोकी सँगै झाडापखालाको प्रकोप फैलन सक्न संभावना छ समयमा सचेतता अपनाईएन भने अवस्था जटिल बन्न सक्छ,” अहेव लामाले भने, “गाँउलेहरुमा सरसफाईसम्बन्धी चेतनाको अभाव, दुषित पानीको सेवनले यहाँ जुनसुकै सरुवा रोग फैलन सक्छ ।”

यतिवेला प्रभावित क्षेत्रका मानिसहरुको त्रासमा रहेकोले पनि थप समस्या आउनेतर्फ सचेत भई गाउँलेलाई हौसला र सहयोगको समेत खाँचो रहेको उनले औंल्याए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>