समाचारबुधबार, बैशाख ९, २०७२
बालकृष्ण ढुंगेल जोडिएको हत्या घटनाको अनुसन्धान गर्न निर्देशन
पुनरावेदन अदालत जनकपुरले रामेछापका गणेशकुमार श्रेष्ठको हत्यासम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ ।
घटनाको १२ बर्षपछि ८ वैशाखमा अदालतले यस्तो आदेश दिएको हो । ६ मंसीर २०५९ मा रामेछापको साँघुटारमा खेतमा काम गरिरहेका गणेशकुमार श्रेष्ठको गोली हानी हत्या भएको थियो ।
भाइ उज्जनकुमार श्रेष्ठको हत्यामा एमाओवादी नेता बालकृष्ण ढुंगेल लगायतविरुद्ध जाहेरी दिएकै कारण श्रेष्ठको माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेको भन्दै श्रेष्ठका परिवारले टीका सुनुवार, रक्तिम लामा लगायत विरुद्ध २०५९ सालमा रामेछाप प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
तर, प्रहरीले जाहेरी उपर १२ वर्षसम्म कार्वाही अगाडि नबढाएपछि पीडित परिवारले गत ६ फागुनमा पुनरावेदन अदालत, जनकपुरमा रिट निवेदन दायर गरेका थिए ।
बाबुको मृत्यु हुँदा सानै रहेका श्रेष्ठका छोरा विजयले आफ्ना बाबुको हत्याको कारण र हत्याराबारे आफूले थाहा पाउनुपर्ने भन्दै घटनासम्बन्धमा अनुसन्धान गरी हत्याराहरु समेत पत्ता लगाइपाउँ भनी पुनरावेदन अदालत जनकपुरमा निवेदन दिएको श्रेष्ठकी बहिनी सावित्री श्रेष्ठले जानकारी दिइन् ।
“यसअघि रामेछापका प्रहरी अधिकारी र प्रजिअलाई ताकेता गर्दा ‘देशको अवस्था र संक्रमण काल’ भन्दै टार्ने गर्थे अब भतिजो पनि ठूलो भयो, उसैको जोडबलमा रिट दायर गरियो,” श्रेष्ठले भनिन् ।
रिटको सुनुवाई गर्दै अदालतले कारबाही अगाडि नबढाउनुको कारण १५ दिनभित्र पेश गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई आदेश दिएकोमा प्रहरीले चित्त बुझ्दो कारण नदिएकोे भन्दै ६ महिनाभित्र अनुसन्धान पूरा गरी कार्वाही अघि बढाउन अदालतले आदेश दिएको हो ।
न्यायाधीश पुरुषोत्तम भण्डारी र मेघराज भट्टराईको संयुक्त इजलासले ६ महिनाभित्र अनुसन्धान पूरा गरी दोषीउपर कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला सरकारी वकिलको कार्यालय रामेछापको नाममा परमादेशको आदेश दिएको छ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो ।
उज्ज्नकुमारको हत्या अभियोगमा एमाओवादीका नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपनि उनी स्वतन्त्र घुमिरहेका छन् ।
पूर्वसभासद् ढुंगेलकै योजनामा युद्धकालमा गणेशकुमारको पनि हत्या गरिएको पीडित परिवारको आरोप छ ।
