थप समाचारबुधबार, बैशाख ९, २०७२
बस दुर्घटनामा परेकालाई लिन भारतको विशेष विमान आउँदै

भारतीय राजदूत रञ्जित रे अस्पतालमा घाइतेलाई भेट्दै ।
नौबिसे बस दुर्घटनामा मृत्यु भएका आफ्ना नागरिकको शव लिन भारत सरकारको विशेष विमान काठमाडौं आउने भएको छ ।
भारतीय विदेश मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासले दुर्घटनामा मृत्यु भएका र सकुशल रहेका समेतलाई लिन भारतबाट विशेष विमान आउने तयारीमा रहेको जानकारी गराएका हुन् ।
आइएल ७६ विमान १० वैशाख दिउँसो आउने भएको हो । यसअघि विमान ९ वैशाख राति आइपुग्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएको भए पनि विमान १० वैशाख दिउँसो मात्रै आइपुग्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
घटना भए लगत्तैदेखि सक्रिय भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास सरुपले घटनामा मृत्यु भएका र घाइतेहरु लगायतको नामाबली सामाजिक सञ्जाल, वेभसाईट र सञ्चारमाध्यमहरुमार्फत प्रवाह गरिरहेका छन् ।
उनले आफ्ना नागरिकप्रति सरकार जिम्मेवार रहेको भन्दै काठमाडौंका अस्पतालमा भर्ना भएका घाइतेहरु प्रत्येकलाई भेट्न दूतावासका कर्मचारी पुगेको र उपचारमा कुनै कमी हुन नदिने भन्दै पीडित परिवारलाई आश्वास्त पार्ने प्रयास गरेका छन् ।
त्यसैगरी मृतकहरुको शव भारत लैजानका लागि आवश्य प्रक्रिया पूरा गर्न नेपाली अधिकारीहरुसँग समन्वय भइरहेको र भोली विहानसम्म सबै औपचारिकता पूरा गरी सक्दो चाँडो घाइते र मृतकहरुलाई भारत लगिने पनि विदेशमन्त्रालयले जनाएको छ ।
