समाचारबिहीबार, बैशाख १०, २०७२
कांग्रेसले चाह्यो भने असार मसान्तमा संविधानः योगेश भट्टराइ
नेकपा एमालेका सचिव योगेश भट्टराइले नेपाली कांग्रेसले आँट र इच्छाशक्ति देखाएमा असार मसान्तभित्रै मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।
पाँचथर सदरमुकाम फिदिममा १० वैशाखमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले विपक्षी मोर्चामा देखिएको फुटसँगै एमाओवादी लचिलो भइसकेको दाबी गर्दै अब संविधान निर्माणका लागि कांग्रेसको अग्रसरताको खाँचो रहेकोमा जोड दिए ।
उनले भने, “संविधानसभामा ठूलो र सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसकै भूमिका महत्वपूर्ण हुन्छ ।”
भट्टराईले विपक्षी ३० दलीय मोर्चा छिन्नभिन्न भइसकेको भन्दै एमाओवादी पनि प्रक्रियाबाटै संविधान जारी गर्ने पक्षमा रहेको बताए ।
उनले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले पार्टीको आसन्न १३ औं महाधिवेशनसम्म संविधान जारी नगर्न चाहेको हो की भन्ने आशंका लाग्न थालेको समेत बताएका थिए ।
लक्ष्मी गौतम, पाँचथर
