समाचारशुक्रबार, बैशाख ११, २०७२
मोर्चाको बैठकमा दाहालले भने, ‘कांग्रेस–एमालेसँग कुनै सहमति भएको छैन’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले कांग्रेस–एमालेसँग कुनै सहमति नगरेको बताएका छन् ।
११ वैशाखमा बसेको एमाओवादी र मधेशकेन्द्रित दलहरु आवद्ध मोर्चाको बैठकमा संघीयतालाई थाति राखेर संविधान जारी गर्ने विषय लगायतमा आफूले कुनै सहमति नगरेको दाहालले बताएका हुन् ।
बैठकमा सहभागी सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनका अनुसार सदभावना अध्यक्ष राजेन्द्र महतोले संघीयता थाती राखेर संविधान जारी गर्ने एमाओवादीको धारणा भए आफू मोर्चामा नरहने बताएपछि दाहालले उक्त प्रतिक्रिया दिएका थिए ।
“एमाओवादीले कांग्रेस एमालेसँग कुनै सहमति गरेको छैन, मोर्चा एक भएर अघि बढ्नु पर्छ, मिडियामा आएको कुरा साँचो होइन,” दाहाललाई उद्धृत गर्दै सुमनले भने ।
गत २४ चैतमा शुरु भएको आमहड्ताल एक्कसी फिर्ता लिएको र अहिले पनि मोर्चासँग सल्लाह नै नगरी सहमति गर्दै हिंडेको भन्दै मजफो नेपाल अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोले दाहालको आलोचना गरेका थिए ।
नेताद्वयबाट चर्को आलोचना भएपछि दाहालले कुरा फेरेका हुन् । यसअघि ७ वैशाखमा भएको तीन दलको बैठकमा संघीयता बाहेकका अरु विषयमा प्रक्रियाबाट अघि बढ्ने सहमति भएको थियो ।
“२४ चैतको आमहड्ताल फिर्तापछिका कमजोरी सुधार्दै ९ बुँदे सम्झौता लागू नहुन्जेल मोर्चाको एकताबद्ध रहने निर्णय भएको छ,” सुमनले भने । मोर्चाको अर्को बैठक १४ वैशाखमा बस्ने पनि उनले जानकारी दिए ।
