थप समाचारशुक्रबार, बैशाख ११, २०७२
डा. केसी जाजरकोट जान लागेपछि अष्ट्रेलियामा संकलित रकम हस्तान्तरण
जाजरकोटमा फैलिएको महामारी रोक्न सहयोग पुर्याउने उद्देश्यले अष्ट्रेलियामा रहेका नेपालीहरुले संकलन गरेको रकम चिकित्साशास्त्रका विद्यार्थीलाई हस्तान्तरण गरेका छन् ।
केही दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्राडा गोविन्द केसी जाजरकोटतर्फ लागेको खवर पाएका अष्ट्रेलियामा रहेका टीका भुर्तेल, राजु बराल, उमेश खड्का, रमेश तिवारीलगायतले उपचारमा सहयोग पुर्याउनका लागि अर्थ संकलन शुरु गरेका थिए ।
तर, लगत्तै केसीले अरुले पठाएको ठूलो परिमाणको औषधि र रकम व्यवस्थापन गर्न नसक्ने भन्दै त्यस्तो सहयोग लिन अस्वीकार गरेको समाचार पाएपछि उनीहरुले आर्थिक सहयोग संकलन रोकेका थिए ।
केसीको अभिव्यक्ति आउनुअघि नै संकलन गरिएको ५८८ अष्ट्रेलियन डलर उनीहरुले केसीलाई सघाउन जाजरकोट जान लागेका चिकित्साशास्त्रका विद्यार्थीको समूहका निरज शर्मालाई पठाएका हुन् ।
डा. केसी जाजरकोट पुगेलगत्तै उनका प्रशंसकहरुले औषधि र रकम सहयोगको प्रस्ताव गरेपछि त्यसको व्यवस्थापन आफू एक्लैले गर्न नसक्ने भन्दै केसीले सहयोग लिन अस्वीकार गरेका थिए ।
शर्माले उक्त रकम कुन शीर्षकमा खर्च भयो भन्ने सार्वजनिक गर्ने बताएका छन् ।
