समाचारशनिबार, कार्तिक १८, २०६९
पार्टी निर्णय विपरित नजान कांग्रेसको चेतावनी
पार्टीका तर्फबाट १८ कार्तिकमा वक्तव्य प्रकाशित गरी नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडूले विघटित संविधानसभाका पुनःस्थापना पक्षधर कांग्रेसका ७८ पूर्वसभासद्का तर्फबाट पार्टीको केन्द्रीय समितिको निर्णय विपरित गतिविधि चलाइएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
संविधान निर्माणका विवादित विषयहरुमा सहमति जुटाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न संविधानसभाभित्र चार वर्ष र संविधानसभा विघटनपछि समेत करिब पाँच महिना बित्दासमेत कुनै सम्भावना नदेखिएकाले नयाँ निर्वाचनमा जानुपर्ने निर्णय पार्टीले लिएको पार्टी प्रवक्ता बडूले स्पष्ट पारे ।
प्रवक्ता बडूले लामो समयसम्म छलफल लम्ब्याइरहनुको सट्टा नयाँ संविधानसभा/संसद्को निर्वाचनमा जानु नै देश, जनता र लोकतन्त्रको पक्षमा एकमात्र उपयुक्त कदम भएकाले पार्टीले निर्वाचनमा जानुपर्ने निर्णय लिएको बडूले बताए ।
पार्टीको सर्वसम्मत् निर्णय भइसकेपछि पार्टीको सर्वसम्मत् र संस्थागत निर्णयविरुद्ध कसैले पनि सार्वजनिकरुपमा यसप्रकार पार्टी अनुशासन र आचारसंहिताविपरीत कुनै पनि गतिविधि नगर्न नगराउनसचेत गराइएको जानकारीसमेत प्रवक्ता बडूले दिए । रासस
