समाचारसोमबार, बैशाख १४, २०७२
‘हल्लाको पछाडि नलागौं’

राजधानीको गोंगबु क्षेत्रमा भत्केका सरचनाभित्र मानिस जीवतै रहे/नरहेको पत्ता लगाउने कुकुरहरु सहित चिनियाँ उद्धार टोली । तस्वीर: मीनरत्न बज्राचार्य /हिमालखबर
केही सामाजिक सञ्जालहरुमा भूकम्पका बारेमा फैलाइएका अफवाहले सम्पूर्ण नागरिक सडकमा आउँदा व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै सरकारले त्यस्ता भ्रमपूर्ण समाचारका पछाडि नलाग्न आग्रह गरेको छ ।
सरकारले काठमाडौँमा केही विदेशी सञ्चारमाध्यम र ज्यातिषको हवाला दिँदै पुनःठूलो भूकम्प आउन सक्छ भन्ने हल्लाले सर्वसाधारणहरु सडकमा निस्कदा व्यवस्थापनमा चुनौती थपिएको बताएको छ ।
सिंहदरबारमा १४ वैशाखमा बसेको सचिवहरुको बैठकपछि मुख्यसचिव लीलामणि पौड्यालले ठूलो भूकम्पपछि स–साना धक्काहरु आउनु स्वभाविक भएको भन्दै त्यसप्रति सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।
सरकारले आफ्नो क्षमताले भ्याएसम्म राहत तथा उद्धार कार्य युद्धस्तरमा काम गरिरहेको अवगत गराउँदै उनले सरकारले केही दिएन भन्नुभन्दा पनि सरकारका कामलाई प्रभावकारी बनाउन सबैले लाग्नुपर्ने बताए ।
भूकम्पबाट बढी प्रभावित सात जिल्लामा सरकारले १५ वटा हेलिकोप्टरबाट उद्धार तथा राहत सामग्री वितरण कार्य गरिरहेको जानकारी गराउँदै मुख्यसचिव पौड्यालले राजधानी बाहिरिने यात्रुहरुको चापलाई मध्यनजर गर्दै सहयोग गर्न यातायात व्यवसायीलाई समेत आग्रह गरे ।
सरकारलाई अहिले मुख्यगरी विस्थापितलाई व्यवस्थापन गर्न पालको आवश्यकता परेकाले मुलुकभरबाट पाल सङ्कलन गरिनुका साथै वैदेशिक सहायतामा पनि पाल सहयोगलाई प्राथमिकता दिएको छ ।
काठमाडौँ उपत्यकामा भत्केका संरचनाहरुमा जीवित व्यक्तिको उद्धारका लागि सरकारले विश्वकै उत्कृष्ट चीनको ‘सर्च एण्ड रेस्क्यू’ टोलीको सहयोगमा उद्धार कार्य जारी रहेको मुख्यसचिव पौड्यालले जानकारी दिए ।
सरकारले विदेशबाट राहत र उद्धारका लागि आउने स्वास्थ्य उपचारको टोलीमध्ये हाडजोर्नी तथा अत्यावश्यक सामग्रीसहितको टोलीलाई प्राथमिकतामा राखेको भन्दै उनले प्रभावकारी सूचना प्रवाहका लागि आजदेखि नै पैसा नलाग्ने दश थान टोल फ्री नम्बरको व्यवस्था गरेको जानकारी गराए ।
साथै सरकारले ‘एनइओसी अफिसियल ट्वीटर एकाउन्ट’मार्फत सूचना प्रवाह र कसैले सहयोग गर्ने नगद तथा अन्य सामग्रीका लागि प्रधानमन्त्री दैवी राहत उद्धार कोषमा गर्न आग्रह गरेको छ ।
राहत र उद्धारका लागि अहिले सबैभन्दा बढी पाल, सुख्खा खानेकुरा, ब्लाङ्केट, म्याट्रेस, औषधि र पानी फिल्टरको आवश्यकता रहेको बताउँदै उहाँले विदेशबाट आउने टोली र सहयोगको समन्वयका लागि समितिसमेत गठन भइसकेको जानकारी दिए ।
रासस
