समाचारशनिबार, कार्तिक १८, २०६९
सर्वसत्तावादका विरुद्ध नागरिक आन्दोलन हुने
१८ कार्तिकमा काठमाडौंमा भेला भएका सय वढी विविध क्षेत्रका नागरिक अगुवाहरुले संविधान सभाको जवरजस्ती अवसान गराइएको मुलुक स्वेच्छाचारी शासन तर्फ अग्रसर भएको भन्दै नयाँ शिराबाट नागरिक अभियान शुरुवात गर्ने निर्णय गरेका हुन्।
भेलाले विधिको शासन एवम् संवैधानिक सर्वोच्चता समाप्त पारिएको, भ्रष्टाचार संस्थागत भएको तथा राष्ट्रियता अभुतपूर्वरुपमा संकटमा परेकाले देश व्यापी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गर्दै अभियानमा सबै पेशा र व्यवसायका व्यक्तिहरुलाई सरिक हुन आह्वान गर्ने निर्णय गरेको छ ।
भेलापछि जारी प्रेस विज्ञप्तिमा वर्तमान संवैधानिक तथा राजनीतिक गतिरोध अन्त्यका लागि ताजा जनादेश नै उपयुक्त विकल्प भएकोले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न गराउन आ–आफ्नो क्षेत्रबाट दवाब सृजना गर्ने प्रस्ताव पारित गरिएको उल्लेख छ।
“जारी संवैधानिक र राजनीतिक गतिरोध अन्त्यको प्रस्थान विन्दु प्रमु्ख राजनीतिक दलहरु सम्मिलित सहमतिय सरकार नै .भएको र संविधानको धारा ३८(१) बमोजिमको सरकार बनाउन संसद समेत आवश्य नपर्ने भएकोले सो बमोजिमको सरकार अविलम्व गठन गर्न सम्वद्ध पक्षको ध्यानाकर्षण गराउने,” विज्ञप्तिमा उल्लेख छ।

१८ कार्तिकमा राजधानीमा भएको नागरिक समाजका अगुवा लागायत विविध क्षेत्रका पेशाकर्मीहरुको भेलाका सहभागी । तस्बीर:ऋषिराम कट्टेल
भेलाका तर्फबाट शम्भु थापा, डा. केदार नरसिंह केसी र मुमाराम खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा –“पदमुक्त सरकारले हाल राष्ट्रलाई गम्भीर र दिर्घकालिन असर पर्ने कार्य गरिरहेको र भावी निर्वाचनलाई समेत असर गर्ने गरी राष्ट्रिय ढुकुटीको दुरुपयोग गरीरहेकोले त्यस्तो कार्य अविलम्व बन्द गर्न सरकारको ध्यानाकर्षण गर्ने,” प्रस्ताव पनि पारित गरिएको जनाइएको छ।
भेलाले पदमुक्त सरकारले कुनै पनि प्रकारका अध्यादेश, बजेट र वाधा अडकाउ फुकाउने कार्यको सिफारिस गर्न नसक्ने हुनाले राजनीतिक सहमति विना कुनै पनि अध्यादेश जारी हुन सक्दैनन् भन्ने नागरिकहरुको दृढ मान्यता रहेकोमा जोड दिएको छ।
त्यस्तै, नेपालमा कार्यरत अन्तराष्ट्रिय समुदायलाई नेपालको आन्तरिक मामिलामा आफ्नो धारणा राख्दा र व्यवहार गर्दा कुटनितिक मर्यादा सम्वन्धी अन्तराष्टिय संधीहरुको पालना गर्न पनि नागरिक अगुवाहरुको भेलाले ध्यानाकर्षण गराएको छ।
मुलुकको राजनीतिक संकट गहिरिंदै गएका बेला नागरिक अगुवाहरुले गरेको उक्त भेलाले वृहत नागरिक अभियानको थालनी गर्दै थप दबाव मुलक कार्यक्रम तयार गर्न प्रथम स्तरमा काठमाण्डौमा ७ मङसिर मा बृहत नागरिक सभा गर्ने निर्णय समेत गरेको छ।
उक्त भेलामा नेपाल बार एसोसियसनका अध्यक्ष प्रेमबहादुर खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाँउले, नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. केदार नरसिंह केसी, गैर सरकारी संस्था महासंघका अध्यक्ष शर्मिला कार्की, नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापा, राजनीतिक विश्लेषक मुमाराम खनाल, पत्रकार कनकमणि दिक्षित, स्तम्भकार डा जुगल भुर्तेल, मानव अधिकारकर्मी सुवोध प्याकुरेल लगायत कानूनविद्, चिकित्सक, इन्जिनियर, पत्रकार, अधिकार कर्मी र कुटनितिज्ञहरुको सहभागिता थियो।

