समाचारसोमबार, बैशाख १४, २०७२
भूकम्पका कारण सञ्चारगृहमा अवरोध
शनिबार र आइतबार गएको भूकम्पका कारण धेरै सञ्चारमाध्यमको प्रकाशन र प्रसारणमा अवरोध उत्पन्न भइरहेको छ ।
टेलिभिजन
विद्युत्को अभाव र भवन क्षतिग्रस्त हुँदा धेरै टेलिभिजनको प्रसारण नियमित भइरहेको छैन ।
विद्युत् नहुँदा जेनेरेटरमार्फत काम चलाएका केही टेलिभिजनले प्रसारण केही समय रोक्दै फेरि सञ्चालन गर्ने गरेका छन् ।
‘नेपाल टेलिभिजन’मा पनि भूकम्पका कारण स्टुडियो क्षतिग्रस्त हुँदा अर्को स्थानमा वैकल्पिक स्टुडियो स्थापना गरी प्रसारण गरिरहेको छ ।
त्यस्तै टिभीको भूउपग्रह प्रसारणमा पनि अवरोध उत्पन्न भइरहेको टेलिभिजन ब्रोडकास्टर्स एसोसिएसन नेपाल (टिविएन) का अध्यक्ष आरके मानन्धरले जानकारी दिए ।
‘कान्तिपुर टिभी’ ले भवनमा सम्भावित दुर्घटनाबाट बच्न भवनको नियमित स्टुडियो प्रयोग नगरी तल्लो तलामा बाहिर काम चलाउ स्टुडियो बनाएर प्रसारण गरिरहेको छ ।
पत्रपत्रिका
भूकम्पका कारण भवन क्षतिग्रस्त हुँदा नेपालका प्रमुख दैनिक पत्रिकाको प्रकाशनमा समेत अप्ठ्यारो परेको छ ।
‘नागरिक’ दैनिक र ‘रिपब्लिका’ दैनिकको सोमबार संस्करण प्रकाशन हुन सकेन । सो दैनिकले नेपाली सेनाको मुख्यालयभित्रको चौरमा अस्थायी कार्यालय सञ्चालन गरी मङ्गलबारको प्रकाशन निकाल्ने तयारी गरिरहेको छ ।
त्यस्तै ‘नेपाल समाचारपत्र’ दैनिक आइतबारदेखि प्रकाशन हुन सकेको छैन । केही साना दैनिक पत्रिका र साप्ताहिक पत्रिका पनि प्रकाशन हुन सकिरहेका छैनन । ‘कान्तिपुर दैनिक’ले पेप्सीकोलामा अस्थायी कार्यालय खोलेर काम सञ्चालन गरिरहेको छ ।
रेडियो
भूकम्पका कारण काठमाडौँ उपत्यका र भूकम्प प्रभावित जिल्लाका अधिकांश एफएमको प्रसारण बन्द भएको छ । केही रेडियोले प्रसारण भइरहे पनि नियमितता दिन सकेका छैनन् ।
सिन्धुपाल्चोकको एउटा रेडियो स्टेसन भत्किएको छ । त्यस्तै धादिङका तीन, गोरखाका दुईलगायत दर्जनौँ रेडियोको प्रसारण रोकिएको सामुदायिक सूचना नेटवर्क (सिआइएन) का निर्देशक सोहन सुवेदीले जानकारी दिए ।
अनलाइन
भूकम्पपछि केही समय अवरुद्ध अधिकांश अनलाइनले अहिले समाचार सम्प्रेषणलाई निरन्तरता दिइरहेका छन् ।
अग्रपङ्क्तिमा रहेका सबै अनलाइन समाचार सम्प्रेषण विदेशमा रहेकाहरुका लागि प्रमुख समाचारको स्रोत बनेको छ ।
