समाचारसोमबार, बैशाख १४, २०७२
आपतकालीन कार्यसञ्चालन सचिवालय स्थापना
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प पीडितका लागि प्रभावकारी सेवा दिन सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा केन्द्रीय समन्वय समिति गठन गरेको छ ।
विपद व्यवस्थापनका लागि १४ वैशाखमा बसेको मन्त्रालयको विशेष बैठकले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन सचिवालय समेत स्थापना गरेको छ ।
मन्त्रालयले जुनसुकै समयमा जो सुकै चिकित्सकलाई पनि परिचालन गर्ने, मानवीय उद्धारका लागि हरसम्भव उपाय अवलम्बन गरिने जनाएको छ । सबै सरकारी तथा निजी अस्पतालमा प्रभावकारी सेवा दिने र घाइतेको उपचारका लागि बिरामीको बाँडफाँड गरी सेवा दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै आपतकालीन सेवा उपलब्ध गराउनका लागि मन्त्रालय परिसरमा विपद व्यवस्थापन युनिट तम्तयारी हालतमा राखिएको र २४ सैँ घण्टा सेवा दिइने सञ्चार समन्वय तथा स्वास्थ्य चेतना समितिका संयोजक सुनिलराज शर्माले जानकारी दिए ।
मन्त्रालयले औषधि, उपकरणको व्यवस्था गर्न, दातासँग आवश्यक सहयोग माग गर्न समिति गठन गरेको छ । यस्तै भूकम्पबाट विशेष प्रभावित दश जिल्लाहरुमा विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गरिएको छ ।
