समाचारमंगलबार, बैशाख १५, २०७२
‘भूकम्पबाट ८० लाख प्रभावित’
संयुक्त राष्ट्र संघले भूकम्पबाट ८० लाख नेपाली प्रभावित भएको र १४ लाखलाई खाद्द सहायताको आवश्यकता भएको अनुमान गरेको छ ।
अहिले नेपालमा विभिन्न देशबाट सहयोग आइरहेको भए पनि त्यो पर्याप्त छैन । विशेष गरी त्रिपाल, खाद्द सामाग्री, कम्बल, चिकित्सा उपकरण, उद्दार हेलिकोप्टरको अझै व्यापक अभाव छ ।
विदेशबाट आउने सहयोग पनि नेपाली पक्षको संयोजन विना सञ्चालित हुँदा प्रभावकारी हुन सकेको छैन ।
विदेशबाट राहत सामाग्री ल्याउने नाममा केही देशका हेलिकोप्टर र विमानहरु आफ्ना नागरिक केन्द्रित हुँदा विमानस्थलमा ट्राफिक जामको स्थिति बन्न पुगेको छ ।
गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मृतकको संख्या ४ हजार ३१० पुगेको छ भने घाइतेको संख्या ७ हजार ९५३ पुगेको छ।
नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सम्पूर्ण शक्ति खोज र उद्धार कार्यमा जुटेको छ । सरकारले विदेशबाट थप वास्तविक सहयोगको माग गरेको छ ।
