समाचारमंगलबार, बैशाख १५, २०७२
महाभूकम्पः राष्ट्रिय झण्डा आधा झुकाइने
सरकारले महाभूकम्पका कारण ज्यान गुमाउनेहरुको शोकमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
मन्त्रिपरिद्को १४ वैशाख साँझ बसेको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बताए।
उनले भने, “भूकम्पका कारण भएको धनजनको क्षतिको शोकमा सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने छ।”
शनिबार दिउँसो गएको महाभूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या ४ हजार नाघेको गृह मन्त्रालयले जनाएको छ।
अन्तर्राष्ट्रिय राहत तथा उद्धार टोलीहरु नेपाल आउने क्रम जारी रहेको र आइसकेका टोलीहरुलाई नेपाली सेनासँगको समन्वयमा भग्नावशेष खन्ने लगायतका काममा खटाइएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले बताए ।
अति प्रभावित जिल्लामा केन्द्रित हुने
भूकम्प गएको चौथो दिन सरकारले उद्धार तथा राहतलाई अति प्रभावित जिल्लामा केन्द्रित गर्ने जनाएको छ ।
सरकारले राहत रउद्धार प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेका बेला सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रिजालले १५ वैशाखदेखि अझै मेहनत गरेर उद्धार र राहत प्रभावकारी बनाउने बताएका हुन्।
सबैजसो राजमार्ग सफा गरिसकेको र विदेशबाट राहत सामग्री आउने क्रम जारी रहेको उनको भनाइ छ।
मन्त्री रिजालका अनुसार सोमबार हेलिकोप्टरको ५५ वटा उडानबाट २०० जनाको उद्धार गरिएको र आइतबार ३ सय ८ जनाकोउद्धार गरियो।
उद्धारर राहतको काम अति प्रभावित जिल्लाहरु रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखामा विशेष रुपमा केन्द्रित गर्ने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए ।
राहतका लागि मुख्य रुपमा पाल खोज्ने र खरिद गर्ने प्रक्रिया शुरु भएको मन्त्री रिजालले बताएका छन्।
रिजालले सरकारसँग पाल नभएकोले विदेशमा रहेका नेपाली दूतावासलाई पाल किनेर तुरुन्ते पठाउन निर्देशन दिइएको छ ।
भूकम्पबाट घरबार विहिन भएकालाई लामो समयसम्म पाल चाहिने भन्दै त्यस्तो पाल विदेशबाट बुधबारदेखि नेपाल आइपुग्ने बताए ।
गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अन्तर्राष्ट्रिय खोजी तथाउद्धार टोली आउने क्रम जारी छ।
गृह प्रवक्ता ढकालले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मृतकको संख्या ४ हजार ३१० पुगेको छ भने घाइतेको संख्या ७ हजार ९५३ पुगेको छ।
शक्तिशाली भूकम्प गएको तेस्रो रात पनि हजारौं नेपालीहरुले खुला आकाशमुनि रात बिताएका छन्।
सोमबार दिनभरजसो भूकम्पको धक्का महसुस नगरेपछि राहत अनुभव गरेकाहरु राती दशबजेतिर ठूलो धक्का आएपछि पुनस् त्रसित बनेका थिए।
शक्तिशाली भूकम्पका कारण जतिखेर पनि जमीन हल्लेको जस्तो हुने, भुइँचालो गइरहे जस्तो हुने त्रास धेरैको मनमा परेको छ।
संयुक्त राष्ट्र संघले भूकम्पबाट करिब ८० लाख मानिस प्रभावित भएको अनुमान गरेको छ।
