समाचारमंगलबार, बैशाख १५, २०७२
जोमसोममा जमिन भासिन थाल्यो
मुस्ताङ सदरमुकाम जोमसोम र आसपासका क्षेत्रमा धमाधम जमिन भासिन थालेपछि जनजीवन त्रसित बनेको छ ।
१६ वैशाख बिहानैदेखि जमिन भासिन थालेपछि जोमसोमस्थित कालीगण्डकी आसपास क्षेत्रका करिब १६ वटा घरमा क्षति पुगेको बताइएको छ ।
ती घरमा पूर्णरुपमा क्षति भएको स्थानीयवासी निरज थकालीले जानकारी दिए । उनका अनुसार, कुनै धक्का महसुस बिना नै जमिन भासिन थालेको हो ।
शनिबार आएको विनासकारी भूकम्पका कारण केही घरमा क्षति पुगेको यस जिल्लामा मङ्गलबार बिहानैदेखि एक्कासि जमिन भासिन थालेपछि सदरमुकाम जोमसोम उच्च जोखिममा परेको छ ।
जमिन भासिएपछि जोमसोमलाई जोड्न कालीगण्डकीमाथि निर्माण गरिएको काठको झोलुङ्गे पुल क्षतिग्रस्त बनेको छ । त्यहाँबाट सर्वसाधारण आवतजावत गर्न सक्ने अवस्था छैन । जिल्लाको उपल्लो क्षेत्रमा जाने सर्वसाधारणले त्यही पुलको प्रयोग गर्न भएकाले पुल जीर्ण बनेसँगै स्थानीयवासीलाई सास्ती पुगेको छ ।
एक्कासि जमिन भासिन थालेपछि जिल्लास्तरीय दैवी प्रकोप उद्धार समन्वय समितिको आपत्कालीन बैठक बस्न लागेको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिए ।
