समाचारमंगलबार, बैशाख १५, २०७२

गोरखामा ४०० को मृत्यु, हेलिकप्टर कुर्दाकुर्दै ज्यान गयो

हिमालखबर

गोरखामा भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४०० पुगेको छ । सयौँ अरुको मृत्यु भएको अनुमान छ ।

जिल्लाका ६५ हजार ९३७ घरधुरीमध्ये करिब ९० प्रतिशत घर भत्केको प्रजिअ उद्धव तिमल्सिनाले जानकारी दिए । सदरमुकामको पाटेचौर, ढाँड, पस्लाङ, बाह्रकिलोलगायत क्षेत्रमा पनि कच्ची र पक्की घर भत्केको छ ।

बारपाक गाविसमा सबैभन्दा धेरै १०२ जनाको मृत्यु भएको छ । अहिले बारपाकमा उद्धारको काम भइरहेको छ ।

बारपाकका एकै ठाउँमा रहेका १२७४ घरधुरीमध्ये करिब एक दर्जन कंक्रिट ढलान गरिएका बाहेक सबै घर पूर्ण रुपमा ध्वस्त भएका छन् । त्यस्तै अन्य वडामा रहेका करिब ४०० घर पनि पूर्ण रुपमा नष्ट भएको स्थानीयवासी हरि घलेले बताए ।

वडा १, २, ७ र ८ मा अहिले उद्धार टोलीले शव निकाल्न सुरु गरेको छ ।

उद्धारमा ढिलाइ भएपछि घाइतेको मृत्यु भएको छ । उद्धारका लागि हेलिकप्टरको पर्खाइमा रहेका सौरपानी र आरुआर्वाङमा एक एक घाइतेको आज मृत्यु भएको हो ।

बारपाक, थुमी, लापु, सिम्जुङ, सौरपानी, लाप्राक, केरौँजा, उहिया, गुम्दा, मुच्चोक र मान्बु गाविसमा जनधनको ठूलो क्षति भएको छ ।

अहिलेसम्म प्राप्त जानकारीअनुसार थुमीमा २६, मान्बुमा २३, लापुमा २१, सिम्जुङमा ७१, मुच्चोकमा १४ र सौरपानीमा १२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै लाप्राकमा १५ भन्दा बढीको मृत्यु भएको छ ।

गुम्दा, केरौँजा, कासीगाउँ र उहियाँमा डाँडै पहिरिएको र बस्ती पुरिएको र गाउँ सबै भत्केका कारण कति जना मरेका छन् भन्ने यकिन गर्न नसकिएको प्रजिअ तिमल्सिनाले बताए । ती गाविसका सबै घर ध्वस्त भएका छन् ।

उद्धारमा ढिलाइ हुँदा घरभित्र चेपिएका घाइतेको उपचार गर्न सकिएको छैन । लाप्राकमा रहेका २५ घाइतेलाई उद्धार गर्न सकिएको छैन । सडक नपुगेको उक्त गाविसमा हेलिकप्टरले घाइतेको उद्धार गर्ने प्रजिअ तिमल्सिनाको भनाइ छ ।

अहिले एउटा हेलिकप्टरले पाँच घाइतेलाई उद्धार गरी पोखरा पुर्‍याएको छ । चारदिनदेखि उक्त क्षेत्रमा मौसम प्रतिकुल हुँदा हेलिकप्टर अवतरण हुन सकेको थिएन ।

कासीगाउँ, केरौँजा, गुम्दा, उहिया र लाप्राक गाउँबाट जङ्गलमा गोठालो गएका र बाटो हिँडिरहेकाहरु पनि हराइरहेका छन् । धेरै डाँडा पहिरिएको, जताततै बाटो अवरुद्ध भएको र टेलिफोन अवरुद्ध भएका कारण सयौँको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

बारपाकबाहेक दुर्घटनाग्रस्त अन्य गाउँमा चेपिएका, पुरिएकाहरुलाई आज चौथो दिनसम्म पनि उद्धार गर्न सकिएको छैन । राहत सामग्री वितरणमा ढिलाइ भएपछि गाउँमा रहेका स्थानीयवासी भोकभोकै खुला आकाशमुनि बस्न बाध्य छन् ।

भारतीय हेलिकप्टरले सौरपानी, मान्बु, लाप्राक, केरौँजा, घ्याच्चोक, सिर्दिवासलगायत ठाउँबाट घाइतेको उद्धार गरिरहेको छ । केही घाइतेलाई गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ । अन्य घाइतेलाई कास्की, काठमाडौँ र चितवनका अस्पतालमा उपचार गरिएको हो ।

हेलिकप्टर पुगेको गाउँमा राहत सामग्री लगिएको छ । भूकम्पले गर्दा पानीको स्रोत हराएपछि उत्तरी गोरखाको गाउँमा पिउने पानीको अभाव देखिएको छ । पैदलमार्ग पहिराले भत्केपछि एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>