समाचारमंगलबार, बैशाख १५, २०७२
सत्तरी घन्टापछि पनि भत्किएका संरचनाभित्र उद्धारको पर्खाइमा घाइते
विनाशकारी भूकम्प गएको ७० घण्टापछि पनि केही स्थानमा भत्किएका संरचनाभित्र च्यापिएका व्यक्तिहरु उद्धारको पर्खाइमा छन् ।
गोँगबु नयाँ बसपार्कनजिकै भत्किएको अवस्थामा रहेको सयपत्री गेष्ट हाउसमा चार/पाँच व्यक्ति जीवित अवस्थामा नै रहेको सूचनासँगै सशस्त्र प्रहरीको टोलीले १५ वैशाख दिउसोदेखि उद्धारको काम शुरु गरेको छ ।
सोमबार चिनिया उद्धार टोलीले उक्त भवनभित्र कुनै पनि जीवित नरहेको निश्कर्ष निकालेकामा आज फ्रेन्च उद्धार टोलीले भवनभित्र जीवित रहेको पत्ता लगाएपछि सशस्त्रको टोलीले उद्धार शुरु गरेको सशस्त्रका प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
चारतले घरमा रहेका २८ वर्षीय एक पुरुष उद्धारमा गएको टोलीसँग सम्पर्कमा भए पनि भत्किएको संरचनाका कारण उद्धार प्रयास अझै सफल हुन सकेको छैन ।
सशस्त्र प्रहरीका डा अरुण श्रेष्ठले साझ ६ बजेतिर अक्सिजनको कमी नहोस् भनेर पीडितहरु पुरिएको स्थानमा प्वालबाट अक्सिजन दिएर फर्किएका छन् ।
“सानो प्वालबाट नियाल्दा घाइते अवस्थामा एक व्यक्ति छट्पटाइरहेको देखे, कोठा पूरै अध्यारो छ, उनीहरुलाई खानेकुरा पनि दिन सकिन्छ कि भनेर हामी प्रयास गरिरहेका छौँ”–डा श्रेष्ठले भने ।
डा श्रेष्ठका अनुसार जीवित व्यक्तिसँगै धेरै अन्य व्यक्तिको शव पनि गन्हाइरहेका अवस्था रहेको र गन्धका कारण त्यहाँ धेरैबेर बस्न पनि नसक्ने अवस्था छ ।
पुरिएर रहेको व्यक्तिसँगै घर जोडिएको अर्को बुटवल श्रीनगर गेष्ट हाउसमा शनिबार भूकम्प गएको अवस्थादेखि अहिलेसम्म चुलोमा ग्यास बलिरहेको छ । भवनको भित्री भागमा ग्याँस बलिरहेको देखिए पनि भत्किएको संरचनाका कारण अहिलेसम्म सो ग्यास निभाउन सकिएको छैन ।
ग्यासबाट आगलागी भएमा सो क्षेत्रमा ठूलो आगलागी हुने त्रासले सर्वसाधारणहरु आतङ्कित छन् ।
यो क्षेत्रभन्दा ५० मिटर पर गोँगबुमै रहेको सिन्धुली पाँचथर मुना गेष्ट हाउसमा पनि एक व्यक्ति जीवित रहेको रहेका सूचना प्राप्त भएको छ । मलेसियन उद्धार टोलीले ती व्यक्तिको उद्धारका लागि प्रयास गरिरहेका छन् ।
शनिबार भूकम्पलगतै सहज स्थानमा रहेका घाइतेहरुको उद्धार भए पनि पूर्ण क्षतिग्रस्त भवनभित्र थिचिएर रहेका घाइतेहरुको अझै पूर्ण रुपमा उद्धार हुन सकेको छैन ।
विभिन्न स्थानमा दर्जनको हाराहारीमा भत्किएका संरचनाभित्र जीवित व्यक्तिहरु रहेको अनुमान गरिए पनि उनीहरुको उद्धार गर्न कठिनाइ भइरहेको छ ।
भूकम्पलगतै लगातार दिनहुँ भूकम्पका झड्काहरु आएपछि त्रासका कारण सहज रुपमा उद्धार हुन नसकेकामा सोमबारदेखि भने उद्धार कार्यले तीव्रता पाएको छ ।
विभिन्न स्थानबाट भूकम्प आएको तीन दिनपछि केही घाइतेको उद्धार गर्न नेपाली सुरक्षाकर्मी र विदेशी सुरक्षाकर्मीको उद्धार टोली सफल भएको छ ।
रासस
