समाचारबुधबार, बैशाख १६, २०७२
महाभूकम्प गएकाे चारदिनपछि प्रधानमन्त्री घाइते हेर्न अस्पताल पुगे
प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट घाइते भएकाको अवस्था बुझ्न आज छाउनीस्थित बीरेन्द्र सैनिक अस्पताल पुगेका छन् ।
१२ वैशाखमा गएको विनाशकारी महाभूकम्पबाट प्रभावित जिल्लामा नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी ल्याएका र अन्य घाइतेमध्ये ३६३ जनाको उपचार याे अस्पतालमा भइरहेको छ ।
प्रधानमन्त्री कोइरालाले घाइतेको अवस्था बुझ्दै भने, “नआत्तिनुस्, धैर्य गर्नुस, राम्रो उपचार हुन्छ ।”
प्रधानमन्त्री काेइरालासँग प्रधानसेनापति गौरवशम्शेर जवरा पनि थिए । घाइतेको उद्धार तथा उपचारमा सेनाले गरिरहेका विभिन्न प्रयासबारे प्रधानमन्त्रीलाई जवराले जानकारी समेत गराए ।
विनाशकारी भूकम्पबाट काभ्रे, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लाबाट सेनाले हालसम्म उद्धार गरी ७११ घाइते ल्याएकामा त्यसमध्ये अहिले ३६३ जनाको याे अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले हालसम्म दुई दर्जनभन्दा बढी घाइतेको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।
भूकम्पबाट अस्पतालमा समेत केही क्षति भएकाले उद्धार गरी ल्याइएका सम्पूर्ण घाइतेको उपचार हाल अस्पताल परिसरमा टेन्टमा राखेर भइरहेको सहायक रथी ब्रजेन्द्र श्रीवास्तवले बताए ।
उद्धार गरी ल्याइएका घाइतेको उपचारका लागि नेपाली सेनाबाहेक इजरायल, भारत, चीनलगायतका मुलुकले पनि छुट्टै एकाइ स्थापना गरेको उनले बताए ।
