समाचारबिहीबार, बैशाख १७, २०७२
सिन्धुपाल्चोकमा उद्धार र राहत वितरण सँगसँगै
सिन्धुपाल्चोक जिल्लामा उद्धार र राहत वितरणको काम सँगसँगै हुन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाकको अगुवाईमा उद्धार र राहत कार्य एकैसाथ भएको अञ्चल प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
आज बिहानैदेखि सवारी साधन पुग्ने ठाउँमा सवारी साधनमार्फत उद्धार र राहतको कार्य शुरू भएको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक सुदीप आचार्यले गाउँगाँउमा प्रहरी परिचालन भएको बताए ।
अञ्चल प्रहरी कार्यालय बाग्मतीका अनुसार बिहानसम्म सिन्धुपाल्चोकमा मृत्यु हुनेको सङ्ख्या *३५८७ पुगेको छ ।
घटनामा परी एक हजारभन्दा बढी घाइते भएका छन् ।
भूकम्पका कारण पशु चौपाया पुरिनुका साथै खानेपानीको हाहाकार भएकाले माहामारीको सम्भावना देखिएको डा छितिज सापकोटाले बताए ।
*राष्ट्रिय समाचार समितिले सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या ३५८७ उल्लेख गरे पनि नेपाल प्रहरीले १७ वैशाख मध्याह्न १२ बजेसम्म यो संख्या १६७७ पुगेको जनाएको छ ।
