समाचारबिहीबार, बैशाख १७, २०७२

एघार प्रहरीको अवस्था अज्ञात

हिमालखबर

dolkhaदोलखामा प्रहरी सहायक निरीक्षकसहित ११ जनाको टोली पाँच दिनदेखि सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालय दोलखाले दैवी प्रकोप उद्धार समितिसँग खोजी गरिदिन आग्रह गरेको छ ।

दोलखाको चिलङ्खा र खोपाचागु गाविसका बीचमा रहेको साँवा बजारस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत ११ प्रहरीको अवस्था अज्ञात रहेको हो । शनिबार बिहान ११ बजेसम्म नियमित सम्पर्कमा रहेका उनीहरु भुइँचालो गएदेखि सम्पर्कमा छैनन् । उक्त क्षेत्रको अवस्थासमेत अहिलेसम्म जानकारीमा छैन ।

चिलङ्खा, आलम्पु, बिगु खोपाचागु गाविसमा के भइरहेको छ, कति नागरिकको मृत्यु भयो या भएन, कति घर भूकम्पले क्षतिग्रस्त भयो भन्नेबारे स्थानीय प्रशासन बेखबर छ ।

प्रहरी नायब उपरीक्षक अजय केसीले १७ वैशाख बिहान सदरमुकाम चरिकोटबाट प्रहरी टोली पठाइएको पत्रकार सम्मेलनमा जानकारी गराए ।
आज हेलिकप्टर आएपछि जिल्ला दैवी उद्धार समितिको टोली उक्त स्थानमा पुग्ने बताइएको छ ।

यता नागरिक समाज दोलखाले सम्पर्क नभएका गाविसमा तत्काल राहतसहित उद्धार टोली पुर्‍याउन माग गरेको छ ।

गाविस सचिव गाउँ गाउँमा
जिल्ला दैवीप्रकोप उद्धार समिति दोलखाले आजदेखि गाविसका सचिवलाई प्रतिघरपरिवार रु दुई हजार प्रदान गर्न रकम दिएर गाविसमा पठाएको छ ।

गाविस सचिवका साथ केही राहत पनि पठाउने तयारी भइरहेको उद्धार समितिका अध्यक्ष एवम् प्रजिअ लामिछानेले बताए ।

दोलखाका ४८ गाविसमध्ये एक हजारभन्दा बढी घर भएका गाविसलाई पहिलो चरणमा रु १० लाख, एक हजारभन्दा कम घर भएका गाविसलाई रु पाँच लाख, दुई नगरपालिकामध्ये भीमेश्वर नगरपालिकालाई रु २५ लाख र जिरी नगरपालिकालाई रु २० लाख पठाइएको लामिछानेले जनाकारी दिए ।

चालीस हजार पाल र रु ३० करोड रकम तत्काल उद्धारका लागि आवश्यक भएको र माग गरिरहेको उहाँले बताउनुभयो । केन्द्रबाट थोरैको सङ्ख्यामा पाल आएकाले वितरण गर्न अप्ठ्यारो भइरहेको जिल्ला दैवी उद्धार समितिले जनाएको छ ।

जिल्लाका चार स्थानमा मात्र जिल्ला दैवी प्रकोप उद्धार समितिले केही सङ्ख्यामा पाल र खाद्यान्न वितरण गरेको जनाइएको छ । लायन्स क्लब दोलखाले दोलखालगायत जिल्लाका केही स्थानमा पाल र खाद्यान्न वितरण गरेको लाइन्स क्लब दोलखाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>