समाचारबिहीबार, बैशाख १७, २०७२
धरहराबाट खसेका तीन अामाछाेरी जीवितै
जेठी छोरी खुस्बु, कान्छी छोरी प्रीतिसहित मैयाँ बुढाथोकी धरहराको चौथो तलाबाट पाँचौँ तलामा चढ्दै थिइन् । एक्कासी धरहरा जोडले हल्लिन थाल्यो, भूकम्प आएको भन्दै तीन आमाछोरीले एकले अर्कालाई बेस्सरी पक्डिए ।
केही छिनको कम्पनपछि धरहरा गर्लम्मै ढल्यो, आमा मैया भत्किएको संरचनाभित्र थिचिइन्, जेठी छोरी खुस्बु ठूलो ढिस्कामा पुरिइन् । रुँदै हारगुहार गरेपछि केही व्यक्ति र सुरक्षाकर्मीको टोलीले ढिस्को हटाउँदै निकाल्यो । खुस्बुकोे तल बहिनी प्रीति पनि पुरिएकी थिइन् । दुवैलाई उद्धार गरी नजिकैको वीर अस्पताल पुर्याइयो ।
पुरिएको ढिस्काभित्र केहीबेर थिचिएर उद्धार गरी वीर अस्पतालमै पुर्याएकी मैयाँलाई आफू बाँचे पनि छोरीहरुलाई केही भयो कि भनेर धेरै चिन्तित तुल्यायो । टाउकाबाट रगत बगिरहेको थियो, शरीरभरि चोटैचोट थियो तर अस्पतालबाट भागेर धरहरा जान थालिन उनी ।
धरहरातिर जान लागेकी उनले अस्पतालको अर्को कुनामा दुवै छोरीलाई देखेपछि आमाछोरी त्यहीँ रुवाबासी गर्न थाले, धन्न बाँचियो भनी एकार्कालाई अङ्कमाल गरे । सबैको अनुहार र शरीरभरि माटो र रगत लत्पितिएको थियो ।
एक्कासी वीर अस्पतालमा बढेको भीड र पटक पटकको भूकम्पको धक्कापछि घाइते रहेको सो ठाउँमा ग्यासको पाइप फुटेर केही बेर हल्लीखल्ली मच्चियो । हल्लीखल्लीसँगै मैयाँले घिस्रिँदै वीर अस्पताल बाहिर आएर अर्को अस्पतालमा लैजान आग्रह गर्दै हारगुहार गर्नथाले ।
घाइते अवस्थामा मैयाँले हारगुहार गरिरहेको देखेपछि एक युवक र वृद्धले उनलाई ट्याक्सी खोज्न सहयोग गरिदिए र उनीहरु मीनभवनमा रहेको निजामती अस्पतालमा पुगे ।
उनन्चास वर्षीया मैयाँको टाउकाको पछाडि भागमा ठूलो चोट लागेको छ, हातखुट्टा थिचिएर थिलोथिलो भएको छ । नेपाल बङ्गलादेश बैंँककी कर्मचारीसमेत रहेकी २७ वर्षीया जेठी छोरी खुस्बुको कम्मरमा गहिरो चोट लाग्नाका साथै खुट्टामा खाल्डो पर्ने गरी मासु गएको छ । सीए दोस्रो वर्षमा पढेकी २१ वर्षीया प्रीतिको छातीको करङ भाँचिएर ‘चेस्ट ट्युब’ हालिएको छ ।
मैयाँ छोरीहरुलाई लिएर भद्रकालीमा लाखबत्ती बाल्ने र नयाँ सडकमा घुम्ने योजनासहित घरबाट निक्लेकी थिइन् । केही छिनको घुमघामपछि एक्कासी धरहरा चढ्ने योजना बनेको मैयाँले बताइन् ।
भूकम्पपछि श्रीमती र छोरीबारे धेरैबेरसम्म फोन सम्पर्क र सूचना नआएपछि पद्कन्या क्याम्पस र कन्या स्कुलका शिक्षक चूडाबहादर बुढाथोकी चिन्तित बने ।
अपराह्न ४ बजेतिर जेठी छोरीको साथी रोशन श्रेष्ठबाट आफ्नो परिवारका बारे जानकारी पाएलगत्तै चूडाबहादुर अस्पताल आइपुगे । श्रीमती र छोरीहरुको धरहरा चढ्ने योजनाबारे कुनै जानकारी नपाएका उनी परिवार जीवितै पाउँदा केही राहत भए पनि सबैलाई घाइते अवस्थामा देख्दा चिन्तित छन् ।
धरहरा ढलेर धेरैको मृत्यु हुँदा पनि आफूहरु संजोगले बाँचेकामा मैयाँले खुसी व्यक्त गरिन् । आफू भन्दा पनि छोरीहरु घाइते भएकोमा उनलाई बढी दुख छ ।
सीए पढ्दै गरेकी प्रीति आउँदो जेठमा हुने दोस्रो वर्षको ‘क्याप २’ परीक्षा सम्झेर चिन्ति छिन् । उनले भनिन्, “परीक्षा नजिकिएकाले म कोठाबाट निस्कनै छाडेको थिएँ, त्यस दिन शनिबार परेकाले केही छिनका लागि मात्रै निस्किएकी यस्तो हुन लेखेको रहेछ ।”
परीक्षा दिन नसके अहिलेसम्मको मिहिनेत खेर जाने भन्दै उनले परीक्षा कम्तीमा एक महिना सार्न अस्पतालको शय्याबाटै माग गरिन् ।
रासस
