समाचारबिहीबार, बैशाख १७, २०७२
मृतक परिवारलाई एक लाख ४० हजार राहत दिइने, भत्किएकाे घर बनाउन २५ हजार
मन्त्रिपरिषद्काे बैठकले भूकम्पमा परी मृत्यु हुनेको परिवारलाई १ लाख ४० हजारका दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, भत्किएको घरको पुनःनिर्माण गर्न २५ हजार राहत उपलब्ध गराउने भएको छ ।
यस्तै, सरकारले भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माण गर्न दुई खर्बको कोष बनाउने भएको छ । जसमा नेपाल सरकारले २० अर्व राख्ने र अन्य रकम अन्तर्राष्ट्रिय क्षेत्रसँग आग्रह गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले महाविपत्तिको अनुगमन गर्न केन्द्रमा प्रधानमन्त्रीको संयोजकत्वमा अनुगमन समिति बनाएको छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा प्रमुख र गाविसमा गाविस सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ ।
उक्त अनुगमन समितिमा राजनीतिक दलका प्रतिनीधि रहनेछन् । यस्तै, आगामी २४ वैशाखमा संसद्को विषेश अधिवेशन बोलाउन सिफारिस् गर्ने निर्णय गरेको छ ।
