समाचारशुक्रबार, बैशाख १८, २०७२
जापानले ८४ लाख डलर बराबरको त्रिपाल र कम्बल दिने
जापान सरकारले नेपालका भूकम्पपीडितका लागि ८४ लाख डलर बराबरको त्रिपाल एवम् कम्बल सहयोग गर्ने भएको छ ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग १८ वैशाख बिहान पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नेपालका लागि जापानी राजदूत मासासी ओगवाले ती सामग्री शनिबार नेपाल आइपुग्ने जानकारी गराएका हुन् ।
भेटमा जापानी राजदूत ओगवाले विनाशकारी भूकम्पका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै जापान सरकार नेपालमा आएको विपत्तिमा सम्पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताए । जापानी राजदूतले तत्काल उद्धार, राहत तथा पुनःनिर्माणमा समेत सहयोग गर्ने वचन उपसभापति पौडेललाई दिएका छन् ।
यसअघि जापानले नेपालमा आएको महाविपत्तिमा सहयोगका लागि उद्धार टोली र उपचार टोलीसमेत पठाइसकेको छ । भेटमा उपसभापति पौडेलले जापान सरकारसँग नेपालले अल्पकालीन, दीर्घकालीन र मध्यकालीन सहयोगको अपेक्षा गरेको स्पष्ट पारेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताए ।
