समाचारशुक्रबार, बैशाख १८, २०७२
पीडितले राहत बाटोबाटै खोस्न थाले, असुरक्षाले सचिव गाउँ पुग्न पाएनन्
सदरमुकामबाट २० थान त्रिपाल लिएर गएका चरिकोटको झुले गाविसका सचिव सुनिल बस्नेतबाट पीडितहरुले बाटोमै त्रिपाल खोसेका छन् ।
वडा नं ८ का भूकम्पपीडितले त्रिपाल खोसेर लगेपछि गाविस सचिव बस्नेत सदरमुकाम चरिकोट फर्किए । “थोरै राहत लिएर गाउँमा जानु खतरापूर्ण छ” सचिव बस्नेतले भने । पीडितको सङ्ख्यालाई ध्यानमा राखेर राहत सामग्री लिएर जानुपर्ने अवस्था देखिएको उनले बताए ।
यस्तै पीडितलाई त्रिपाल बाँड्न लापिलाङ गाविस पुगेका सचिव सुज्ञान भण्डारी राहत उपलब्ध नगराइकनै चरिकोट फर्किएका छन् ।
वडा–९ का लागि ३० त्रिपाल लिएर गएका उनलाई पीडितले राहत नलिने भन्दै फर्काइदिएका छन् । “एउटा वडाका वासिन्दाले तीन वटा मात्रै त्रिपाल पाउने स्थिति छ, कसलाई दिने कसलाई नदिने ?” सचिव भण्डारीले भने ।
बोच गाविस सचिव रामु पौडेल पनि राहत बाँड्न नसकेर सदरमुकाम फर्किएका छन् । “पीडितलाई पुग्ने गरी राहत नलैजाँदासम्म गाउँ पस्ने स्थिति छैन”, उनले भने ।
यसैगरी दुर्गम गाविस गौरीशङ्करका सचिव शिव खड्का त्रिपाल नलिइकनै पीडितलाई रकम हस्तान्तरण गर्न हेलिकप्टरमा गाउँसम्म त पुगे तर पीडितले त्रिपाल नलिई आएको भन्दै रकम लिन अस्वीकार गरे ।
राहतस्वरुप उपलब्ध गराउने भनिएको रकम असुरक्षाका कारण बाँड्न नसकेको सचिव खड्काले बताए । “असुरक्षा कारण रकम बाँड्न सकिएको छैन”, उनले भने । राहत सामग्री सँगसँगै सुरक्षाकर्मीसमेत पठाउन सचिव खड्काले स्थानीय प्रशासनसित माग गरेका छन् ।
जिल्लाभरिका भूकम्पपीडितका लागि तीन सय क्विन्टल चामल र एक हजार पाँच सय थान त्रिपाल उपलब्ध भएको प्रजिअ प्रेमलाल लामिछानेले बताए । “अपुग भएकाले खाद्यान्न र त्रिपाल पीडितलाई बाँड्न सकिरहेका छैनौँ”, उनले भने ।
रासस
