समाचारशनिबार, बैशाख १९, २०७२
रगत पर्याप्त छ: रेडक्रस
महाभूकम्पमा परी घाइते भएकाको उपचारका लागि केन्द्रीय रक्तसञ्चार केन्द्रमा दुई हजारभन्दा बढी पिन्ट रगत भण्डारण रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
सोसाइटीका जनसम्पर्क अधिकृत दिव्य पौडेलले रगत अभाव हुन नदिन स्वयम्सेवी रक्तदाताले रगत दान दिइरहेको र आवश्यक परेका समयमा स्वयम्सेवी तयार अवस्थामा रहेको हुँदा राजधानीमा उपचारका लागि रगतको अभाव नभएको जानकारी दिए ।
सोसाइटीले हालसम्म भूकम्प प्रभावित क्षेत्रमा २० हजारभन्दा बढीलाई तत्काल प्राथमिक उपचार सेवा दिइसकेको तथा २० हजार त्रिपाल, दुई हजारभन्दा बढी परिवारलाई गैरखाद्य सामग्री र १० हजार कम्बल वितरण भइसकेको जनाएको छ ।
सरसफाइका कार्यक्रमअन्तर्गत साबुन पानीबाट हात धुवाइ, पानी शुद्धीकरण चक्की र जीवनजल वितरण तथा अस्थायी शौचालयको निर्माण भइरहेको सोसाइटीले जनाएको छ ।
काठमाडौँ उपत्यका बाहिरका जिल्ला शाखालाई राहत सामग्री पठाउने क्रम जारी रहेको तथा थप दुई लाख ३३ हजार परिवारका लागि गैरखाद्य सामग्री र अन्य सेवाको माग रहेको जनसम्पर्क अधिकृत पौडेलले जानकारी दिए ।
उनका अनुसार हालसम्म २० देशका रेडक्रसमार्फत सहयोग प्राप्त भएको छ । प्रारम्भिक अनुमानमा भूकम्पबाट ५० जिल्लाका ९०० गाविस र ५८ नगरपालिका प्रभावित हुन पुगेका छन् ।
सोसाइटीले भूकम्पबाट हालसम्म छ हजारभन्दा बढीको मृत्यु, करिब १३ हजार घाइते, तीन लाख घर पूर्ण रुपमा भत्किँदा १२ लाखभन्दा बढी व्यक्ति विस्थापन र प्रभावित क्षेत्रमा पाँच हजारभन्दा बढी रेडक्रसका विभिन्न स्वयम्सेवक तथा कर्मचारी परिचालन भएको जनाएको छ ।
