समाचारशनिबार, बैशाख १९, २०७२
अाठ दिनपछि जीवितै उद्दार
महाभूकम्प गएकाे अाठ दिनपछि सिन्धुपाल्चाेकमा एक व्यक्तिलाई जीवितै उद्दार गरिएकाे छ ।
गोल्चे गाविस–९ का अन्दाजी ५८ बर्षाका एक व्यक्तिलाई जीवीतै उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भरत आचार्यले बताए ।
महाभूकम्पका कारण घर भत्किंदा पुरिएका उनलाई स्थानीय समुदायले जीवितै गद्दार गरेको आचार्यले जानकारी दिए । नाम नखुलेका पीडितलाई उपचारका लागि हेलिकोप्टरबाट सदरमुकाम चौतारा ल्याइएको छ ।
तीन गाविसमा अझै उद्दार भएन
सिन्धुपाल्चोकको फुलपिङ्कट्टी, तातोपानी र लिस्तीकोट गाविसमा भूकम्पबाट के कति जनधनको क्षति भयो भन्ने बारेमा आजसम्म यथार्थ विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यद्यपि ती तीनवटै गाविसमा हेलिकोप्टरको माध्यमद्वारा खोज तथा उद्धार र राहतको कार्यभने भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उक्त क्षेत्रमा भूकम्पका कारण पहिरो गएर सडक अवरुद्ध भएका कारण सडक मार्गबाट पुग्न कठिनाइ भइरहेको बताइएको छ ।
हालसम्म सो जिल्लामा तीन हजार ४७० जनाको निधन भएको तथ्याङ्क प्राप्त भएकामा त्यसमध्ये दुई हजार ५६० को मात्रै सनाखत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा घाइतेको सङ्ख्या ७३४ रहेको छ ।
सो जिल्लामा ४० हजारभन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने हजारौँको सङ्ख्यामा चौपाया मरेका छन् । भूकम्पका कारण मुलुकको सबैभन्दा बढी जनधनको क्षति भएको जिल्लाको कोटीमा सिन्धुपाल्चोक रहेको छ ।
जिल्लामा खोज, उद्धार, उपचार र राहतका लागि आज मात्रै पाँच वटा हेलिकोप्टर परिचालन गरिएको थियो । ती हेलिकोप्टरबाट १५० जना घाइतेको उद्धार गरी जिल्ला सदरमुकाम ल्याइएको थियो ।
