समाचारसोमबार, बैशाख २१, २०७२
पर्साबाट ११४ ट्रक राहत सामाग्री प्रभावित जिल्लामा
भूकम्प पिडितहरुको सहयोगका लागि पर्साबाट आइतबारसम्म ११४ ट्रक राहत सामाग्री प्रभावित जिल्लामा पठाईएको छ ।
भूकम्प प्रभावित जिल्लाका पीडितहरुका लागि पर्साका विभिन्न संघ संस्थाले संकलन गरेको राहत प्रभावित जिल्लामा पठाईएको जिल्ला दैवी विपद व्यवस्थापन समन्वय समिति पर्साका संयोजक प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।
त्यस्तै भारतबाट वीरगञ्ज हुँदै आएका ६७ ट्रक र वीरगञ्ज उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ संस्थाले संकलन गरेको ४७ ट्रक राहत सामाग्री प्रभावित जिल्लामा पठाईएको उनले बताए ।
“संघ संस्थाहरुले संकलन गरेका सबै सामाग्रीको मूल्य उल्लेख नगरेकोले यकिन तथ्याङक त हामीसँग छैन, हाम्रो अनुमान करिब ५ करोड मुल्य बराबरको भन्ने हो,” प्रजिअ घिमिरेले भने ।
राहत सामाग्रीमा धेरै माग भएको त्रिपाल १७ हजार २ सय थान, कम्बल चाउचाउ विष्कुट लगायतका तयारी खानेकुरा, चिउरा, पानी लगायत अत्यावश्यकीय सामाग्री रहेको उनले जानकारी दिए ।
राहत भित्र्याउन भन्सारमा विशेष व्यवस्था
राहत सामाग्रीलाई नेपालमा छिटो भित्र्याएर प्रभावित क्षेत्रमा पुर्याउन भन्सारमा विशेष व्यवस्था गरिएको छ ।
भारत सरकारसँगको समन्वयमा राहत सामाग्री छिटो छरितो रुपमा भित्र्याएर चाँडै प्रभावित क्षेत्रमा पु¥याउन विशेष व्यवस्था मिलाईएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।
उनले भने ‘ दिल्लीबाट आएको राहत सामाग्री सिधै सुख्खा बन्दरगाह (ड्राईपोर्ट) मा खसाल्ने र ट्रकमा हालेर प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाएका छौं ।’
ड्राईपोर्टबाट बिहार सरकारले व्यवस्था गरिदिएको सवारीमा प्रभावित क्षेत्रमा राहत लैजान मिल्ने गरी सहमति भएको उनले जानकारी दिए ।
यसले गर्दा पटक पटक लोड अनलोड गर्न नपर्ने भएकोले राहत सामाग्री प्रभावित क्षेत्रमा पु¥याउन सहज हुने उनको दावी छ ।
यसअघि रेलमा रक्सौलमा आएको सामाग्री ट्रकमा ल्याएर नेपालमा छोड्ने र नेपालमा फेरि लोड गरेर प्रभावित क्षेत्रमा पठाउने गरिएको थियो । आईतबार दिल्लीबाट आएका ७ ट्रक सामाग्री ड्राईपोर्टबाट प्रभावित क्षेत्रमा पठाईएको उनले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज
