समाचारबुधबार, बैशाख २३, २०७२
भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै दुई अनलाइन विरुद्ध मुद्दा
नेपाल विद्यार्थी सङ्घले भूकम्पपीडितलाई त्रिपाल बेचेको भन्ने भ्रामक समाचार सम्प्रेशण गरेको भन्दै दुई अनलाइन विरुद्ध मुद्दा दर्ता गरेको छ ।
नेपालपाटी अनलाइनका अध्यक्ष युवराज कार्की, प्रबन्ध निर्देशक सरिता निरौला र सम्पादक प्रेम गौतम, तथा झिल्को अनलाइनका सम्पादक सीता अधिकारी र प्रबन्ध निर्देशक प्रकाश लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर हनुमानढोका अपराध अनुसन्धान महाशाखामा विद्युतीय अपराध विरुद्धको मुद्दा दर्ता गरेको नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
नेपालपाटीले यही वैशाख २१ गते ‘नेवि सङ्घले विदेशीले दिएको त्रिपाल बेच्दाबेच्दै प्रहरी फन्दामा’ भन्ने शीर्षकमा र झिल्को अनलाइनले वैशाख १६/१७ गतेदेखि नै ‘सहयोग पाएको त्रिपाल समेत बेचियो’ भन्ने शीर्षकमा समाचार सम्प्रेषण गरिरहेको उनले बताए ।
सङ्गठनलाई नै बदनाम गराउने तरिकाले समाचार सम्प्रेषण गरेको भन्दै उनले भने, ‘यदि त्यसो गरेको भए प्रमाण ल्याउन म चुनौती दिन्छु ।’
सङ्गठनले भूकम्पपीडितका लागि विभिन्न खालका राहत कार्यक्रम गर्नेदेखि लिएर सडक बढार्ने काम समेत गर्दै आइरहेको उनले जानकारी दिए ।
रासस
