समाचारबिहीबार, बैशाख २४, २०७२

स्थानीय दातृसंस्थासँग छलफल, पुन:निर्माण प्राधिकरण गठन गरिने

हिमालखबर

भूकम्पले क्षतिग्रस्त नेपालमा पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय निकायबाट सहायता जुटाउन आगामी एक सातभित्र स्थानीय दातृ संस्था र आगामी दुई महिनाभित्र दाताहरूको सम्मेलन हुने भएको छ ।

स्थानीय दातृ समुदायसँग २४ वैशाखमा अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री डा रामशरण महतले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माण र नवनिर्माणका लागि दातृ निकायको ठूलो सहयोगको नेपाललाई आवश्यकता परेको बताए ।

“हामी नयाँ नेपाल निर्माण गर्ने छौँ र यसलाई अझ सुन्दर बनाउने छौँ । हाम्रा विकास साझेदारहरु र मित्रहरुबाट यो बेलामा अझ ठूलो सहयोगको खाँचो छ । अब हामी पुननिर्माणको चरणमा प्रवेश गर्दैछौं, त्यसका लागि नेपाल सरकार तपाईहरूसँग बसेर पुनःनिर्माणको सम्भावनाबारे विस्तृत छलफल तथा विचारविमर्श गर्न चाहन्छ,” वैठकमा मन्त्री महतले भने ।

पुन:निर्माण प्राधिकरण गठन गरिने
दाताहरुको दक्षता, इच्छा र क्षमता अनुसारको कामको जिम्मेवारी र भूमिका तय गरिने बताउँदै महतले नेपालले झेल्नु परेको विपतको घडीमा अन्तर्राष्ट्रिय समुदायले ठूलो सदाशयताका साथ सहयोग गरेकामा कृतज्ञता व्यक्त गरे ।
उनले भूकम्पपछिको पुनःनिर्माणका लागि अधिकारसम्पन्न छुट्टै प्राधिकरण स्थापना गरी द्रुतगतिमा काम गरिने जानकारी दिए ।

विश्व बैंकका राष्ट्रिय निर्देशक जोहानेस जाटले नवनिर्माणका लागि अधिकारसम्पन्न प्राधिकरणको स्थापना राम्रो अवधारणा भएको बताउँदै नेपालले अघि सारेको कार्ययोजनामा सहयोग गर्न विश्व बैक तत्पर रहेको बताए ।

बैठकमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम , युरोपेली सङ्घ, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) लगायत दातृ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>