समाचारशुक्रबार, बैशाख २५, २०७२
राष्ट्र संघ दुर्गममा केन्द्रित हुने
संयुक्त राष्ट्र सङ्घले महाभूकम्पबाट प्रभावित दुर्गम भेगका पीडितलाई सहायता सामग्री पुर्याउने केन्द्रित हुने जनाएकाे छ ।
“बासस्थान हाम्रो सर्वाधिक प्राथमिकता हो, झन्डै दुई लाख ८५ हजार घर ध्वस्त भएका छन् भने दुई लाख ३० हजार घरमा क्षति भएको छ,” ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेपालका लागि उक्त संस्थाका मानवीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले भने ।
उनले नेपाल सरकार र साझेदारहरूका साथै राष्ट्रिय, जिल्ला र सामुदायिक तहसम्म समन्वयमा राहतका काम भइरहेका जानकारी दिँदै सरकारी प्रयासमा सघाउन आफूहरू प्रतिबद्ध रहेको बताए । पाँँचवटा अतिरिक्त केन्द्र स्थापना गरेर राष्ट्रसङ्घीय टोलीले सहायता सामग्री पुर्याइरहेको उनले बताए ।
“दशौँ हजार पाल, दुई लाख ७० हजार पीडितलाई खाद्य र तीन लाख जनालाई स्वच्छ पेय जल वितरण गरिसकिएको छ,” उनले भने ।
