समाचारशुक्रबार, बैशाख २५, २०७२
पाकिस्तानः नर्वे र फिलिपिन्सका राजदूतसहित ६ जनाको मृत्यु
पाकिस्तानमा २५ वैशाखमा हेलिकोप्टर दुर्घटना हुँदा पाकिस्तानका लागि नर्वे र फिलिपिन्सका राजदूत साथै मलेशिया र इण्डोनेशियाका राजदूतका श्रीमतीहरुको मृत्यु भएको छ ।
पाकिस्तानी पत्रिका ‘डन’को अनलाइन संस्करणले जनाए अनुसार राजदूतहरु चढेको हेलिकप्टर गिलगिट–बल्तिस्तानको नलतार उपत्यकामा एउटा विद्यालय नजिकै खसेको थियो ।
पाकिस्तानी सेनाको उक्त हेलिकोप्टर दुर्घटना हुँदा दुई जना पाइलटको पनि ज्यान गएको ‘डन’ ले उल्लेख गरेको छ ।
दुर्घटनामा पोल्याण्ड र नेदरल्याण्ड्सका राजदूतहरु घाइते भएको बताइएको छ ।
गिलगिटमा आयोजित कुटनीतिक भ्रमणका लागि तीन वटा हेलिकोप्टरमा ३७ देशका कुटनीतिज्ञहरु जाने क्रममा एउटा हेलिकोप्टर दुर्घटना भएको हो ।
